मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

राष्ट्र्पतिको उमेदवारी छोड्न बाइडेनमाथि दबाब

राष्ट्र्पतिको उमेदवारी छोड्न बाइडेनमाथि दबाब

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहसपछि राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ ।

८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उनले उम्मेदवारी छोड्नुपर्ने दबाब बढ्न थालेको हो ।

चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरुसँग यस विषयमा छलफल गरिरहेको अमेरिकी मिडियाहरुले दाबी गरेका छन् । साथै, उनले छिट्टै डेमोक्रेटिक पार्टीका सांसद् र गभर्नरहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् । टेक्सासका सांसद् लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन्, जसले सार्वजनिकरूपमा सो अभिव्यक्ति प्रकट गरेका छन् ।

गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडेन धेरै पटक हडबडाइरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणका अनुसार प्रत्येक तीन पार्टी नेतामध्ये एक जनाले यस हप्ता राष्ट्रपतिको उम्मेदवारीबाट बाइडेनले आफ्नो नाम फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

अर्कोतर्फ बाइडेनले भने बहसमा राम्रो प्रदर्शन नगरेकोमा स्पष्टीकरण दिँदै केही दिनसम्म आफू धेरै देशको भ्रमणमा गएको र लगातारको यात्राका कारण बहसको समयमा थाकेको बताएका छन् ।

बाइडेनले उम्मेदवारी फिर्ता लिनुपर्ने आवाज उठिरहेका बेला डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा सुरू भएको छ । यस बीचमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडि रहेको छ ।

धेरै डेमोक्रेट नेताहरुले कमला ह्यारिसलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । तर, उनले ट्रम्पलाई टक्कर दिन भने मुस्किल हुने बताइएको छ । केही डेमोक्रेटहरुले भने मिचेल ओबामा उम्मेदवार बनेमा ट्रम्प सजिलै पराजित हुने अनुमान गरेका छन् । तर, मिचेलले भने आफू राष्ट्रपतिको दौडमा नभएको बताउँदै आएकी छन् । एजेन्सी