मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए ।

“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो”, राष्ट्रपति पौडेलले भने, “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले बिर्सन हुन्न ।”

राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने उल्लेख गर्दै भने, “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन, यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ ।”

संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गर्दै उनले यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्धान कानुन व्यवसायी रहेको बताए ।

न्याय आफै हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको भन्दै राष्ट्रपति पौडेलले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुने हुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तरक्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे ।

“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भने । विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भने, “न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिविम्बित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ ।”

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र तथा मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्त्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने मुलुकमा न्यायपूर्ण एव सुशासनयुक्त अवस्था सिर्जना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुनसक्ने उनको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, उनले भने ।

लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने राष्ट्रपति पौडेलको भनाइ थियो । “सक्षमताका निमित्त ऊ आफै निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्यायसम्पादनमा समरुपता हुनुपर्छ”, उनले भने–“सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले राख्नुपर्ने हुन्छ ।”

यही जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी भएका छन्। उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले अभिनन्दन पत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका छन् । वरिष्ठ अधिवक्ता तुलाधर बारको पूर्वअध्यक्षसमेत छन् ।