वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने बताएका छन् । तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बीचमा वाइडेनले आफ्नो स्थिति स्पष्ट पारेका हुन् ।
सोही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाएका छन् । इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले जवाफमा इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको थियो, जसको जवाफमा अमेरिकन राष्ट्रपति बाइडेनले यस्तो चेतावनी दिएका हुन् । ‘हामी इजरायलको सुरक्षाको लागि सक्दो गर्न गइरहेका छौँ,’ उनले थपे ।
यसअघि बुधबार इरानका नेताले दमास्कसमा इजरायली हमलालाई इरानमाथि नै आक्रमण गर्नुबराबर भएको बताएका थिए । ‘जब तिनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा आक्रमण गरे, यो हाम्रो क्षेत्रमा आक्रमण गरेजस्तै थियो,’ अयातुल्ला अली खामेनीले टेलिभिजन भाषणमा भनेका थियो, ‘दुष्ट शासन दण्डित हुनुपर्छ, र यो सजाय हुनेछ ।’
गत अप्रिल १ मा इरानी वाणिज्य दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य नेताहरूसहित १३ जनाको मृत्यु भएपछि इरान र इजरायलका बीचमा तनाव बढेको छ । बुधबार ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री फुमियो किसिदासँगै पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले सो टिप्पणी गरेका हुन् ।
‘मैले प्रधानमन्त्री नेतन्याहुलाई भनेझैँ, इरान र यसका प्रोक्सीहरूबाट हुने यी खतराहरूविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धता फलामको ढोकासरह हुनेछ, मलाई फेरि भन्न दिनुहोस्, फलामको ढोका,’ वाइडेनले भने । एजेन्सी
प्रतिक्रिया