पोखरा । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका छन् ।
पोखराको हिमालयन गल्फ कोर्स आयोजना गरिएको प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।
यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरूङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जितेका थिए । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।
पुरुषतर्फ लिलाजङ्ग गुरूङले दोस्रो स्थान हासिल गरे । गुरूङले ३७ अंक जोडेका थिए । प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जितेका थिए । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरेका थिए ।
महिलातर्फको उपाधि सुष्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडेकी थिइन् । क्लोजेस्ट टु दी पिनको उपाधि संगम केसीले जितेका थिए । त्यसैगरी लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जितेका । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा काठमाडौँ, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरी मिडियाले गरेको कार्यक्रमले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताएका थिए । प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले छ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो ।
गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आवद्ध भएको थियो । हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजस्व तिरिसकेको छ । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।
पोखराको पर्यटन प्रवद्र्धन र गण्डकी प्रदेशको आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि यो सहकार्य गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सह–आयोजकको रुपमा रहेका थिए ।
प्रतिक्रिया