काठमाडौँ । युवराज सिंह सामराले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सामराको यस सिजनको पहिलो शतक मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।
यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपिएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध नै २२० रन बनाएको थियो ।
युवराज सामराले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे ।
क्यानडाका ओपनरसमेत रहेका सामराले एनपिएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपिएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।
यस्तै उनी एनपिएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् । यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाली याक्सविरुद्ध नै शतक प्रहार गरेका थिए ।
ओपनर महेदी असन १६ बलमा व्यक्तिगतमा ५ रन बनाएर आउट भएपछि सामराले दोस्रो विकेटका लागि सामरा र भुर्तेलले १३६ रनको साझेदारी गरेका थिए । यस सिजन यो तेस्रो शतकीय साझेदारी हो भने कुनै पनि विकेटका लागि उच्च साझेदारीसमेत हो ।
यस्तै एनपिएल इतिहासमा यो उच्च साझेदारी हो । यसअघि सन् २०२४ मा भएको एनपिएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
सामराले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सामराले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।
सामरा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नले आक्मरक ब्याटिङ गर्दै २०० रन कटाउन मदत गरे । करुणारत्नेले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । यसै खेलबाट एनपिएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।
कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।













प्रतिक्रिया