मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायका लागि अभिन्न अङ्ग बनेको बताएका छन् ।
मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको एक समारोहबीच उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशको पदपूर्ति हुन नसक्दा मुद्दाको चाप निकै बढेको उल्लेख गरे । उनले हाल सर्वोच्च अदालतमा न्यायाधीशको पदपूर्ति भइसकेकाले अब मुद्दाको चापलाई विभिन्न इजलाशबाट छिट्टै फछ्र्यौट गर्नेतर्फ आफूले प्रयास गरिरहेको बताए ।
प्रधानन्यायाधी श्रेष्ठले स्थानीय निकायमा अर्धन्यायिक समितिमा जिल्लाको विभिन्न नागरिकको आ–आफ्नो समस्याको मुद्दा दर्ता गरी छलफल र बहस हुँदै आएको र मेलमिलापको आधारमा छिटोछरितो मुद्दा टुङ्गिने अवस्था रहेको भए पनि अदालतमा भने मुद्दाको टुङ्गो लगाउन समय लाग्ने बताए ।
उनले न्यायपालिकाको इजलाशबाट संविधान, ऐन कानुनको परिधिभित्र रहेर विभिन्न मुद्दाको सुनुवाई, बहस भइरहने, प्रमाण बुझ्ने कारणबाट मुद्दाको प्रक्रिया केही सयम लम्बिने भएको चर्चा गर्दै स्थानीय निकायले जस्तो छिटोछरितो मेलमिलापको माध्यमबाट मुद्दाको फछ्र्यौट गर्दा सेवाग्राहीमाथि न्यायको निष्पक्षतामाथि नै प्रश्न उठ्नेतर्फ सचेत गराए ।
प्रधानन्यायाधी श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रक्रियाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्ने र अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानवअधिकारको संरक्षण र जनतालाई अदालतले नै निष्पक्ष न्याय दिन्छ भन्ने भावना जागृत गराउनु आजको आवश्यकता रहेको छ, भने ।
सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालले न्याय क्षेत्रलाई प्रभावकारी, जनमुखी र जवाफदेही बनाउन सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशलाई न्यायमैत्री बनाउन अहिले भौतिक पूर्वाधार विकासको साथै न्यायाधीशको पदपूर्ति क्रमश गरिँदै लगिएको उल्लेख गर्दै सबै क्षेत्रका नागरिकलाई आन्तरिक व्यवस्थापनबाट छिटोछरितो न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिए ।












प्रतिक्रिया