मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजदेखि देशव्यापीरुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गरेका छन् ।

भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गरे।

मन्त्री बस्नेतले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरे । आजबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रभावकारी ढङ्गले देशैभरी सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले कर्मचारीले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे ।

अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको भन्दै उनले भक्तपुरले यहीँ अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमुना जिल्ला बन्नुपर्नेमा जोड दिए । तराई र काठमाडौँ उपत्यका दादुरा–रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरुले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिए।

मन्त्री बस्नेतल भने “यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रुप लिन्छ । त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान सुरु गरेका छौँ, नियमित खोप लगाएकाहरुले पनि यो खोप दिनुपर्छ ।”

खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूरा गर्न उनलेआह्वान गरे । मन्त्रालय एक्लै लागेर मात्रै अभियान सफल हुदैन भन्दै उनले सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको औँल्याए ।

आफू स्वाथ्यमन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकाबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री बस्नेतले बताए । उनले सहरी क्षेत्रमा बसाइ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न सबै निकायलाई आग्रह गरे।

कार्यक्रममा भक्तपुरका सङ्घीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकाले यी निकाय सक्रिय हुनुपन बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंहले दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य हासिल गर्ने क्रममा चार प्रतिशत बालबालिकामा खोप लगाउन छुटेको र रोग पनि देखा परेपछि अभियान सञ्चालन गर्नु परेको बताए। खोप लगाउन छुटेको, बढी जनसङ्ख्या भएका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अब खोप लगाउन कोही नछुट्ने गरी अभियान सुरु भएको बताए ।

स्वाथ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्रले सरकारले २०२३ मै दादुरा–रुबेला निवारणको लक्ष्य राखे पनि विभिन्न कारणले सम्भव नभएको भन्दै २०२६ मा यो लक्ष्य प्राप्त गर्नुपर्ने बताए। उनले भने “यो लक्ष्य प्राप्ति नगर्दा राज्यको करोडौँ लगानी खेर जान्छ, त्यसैले यो अभियानमा ५७ लाख ५० हजार बालबालिकालाई खोप पुर्याउने छौँ, अझै चार प्रतिशत बालबालिकामा नियमित खोपसमेत पुग्न सकेको छैन, ती छुटेका बालबालिकालाई पनि अभियानमै सबै खोप पुर्याउँछौँ ।”

अभियानमा उच्च राजनीतिक प्रतिबद्धतासमेत आएकाले अभियान सफल हुनेमा ढुक्क रहेको भन्दै उनले स्वाथ्य संस्थाका कर्मचारी र स्वयंसेविकालाई पूरा शक्ति लगाएर काम गर्न निर्देशन दिए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कतिपय अभिभावकको व्ययस्तता र बसाइसराइले समस्या देखिएको भन्दै नगरपालिकाले घरघरमै पुगेर खोप लगाउने व्यवस्था गरेको बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आउँदो २०८१ सालभित्र चाँगुनारायणलाई पूर्ण खोप सुनिश्तिता नगर घोषणा गर्ने चरणमा रहेको भन्दै सरकारको अभियान सफल पार्ने बताए ।