मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

देशको समृद्धिमा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

देशको समृद्धिमा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

सिल्क रोड इन्टरनेसनल थिंक ट्यांक एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पूर्वाधार नेपाल-चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्त्वपूर्ण टेवा दिएको बताए। ‘दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्,’ उनले भने, ‘साझा सांस्कृतिक सम्पदा तथा सदियौंदेखिका परम्पराले पारस्परिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ।’

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक-आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिए।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए।

‘दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बिआरआईले परिकल्पना गरेको छ, नेपालजस्ता राष्ट्रका लागि यी पहलले आर्थिक रूपान्तरण गर्न सहज हुन्छ,’ उनले भने।

नेपाल-चीन सम्बन्ध सदियौं पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गरे। ‘हालैका वर्षमा नेपाल-चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ, नेपालको सामाजिक-आर्थिक विकासमा सहयोग गर्ने चीनको प्रतिबद्धता अटल रहेको छ,’ उनले भने, ‘बिआरआईले कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ, यसबाट दुई राष्ट्रबीच सहकार्यका लागि नयाँ ढोका खुलेको छ।’

नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार सी युले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताए। दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उनले चीन-नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताए।