मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

सन् २०२३ मा ७१ हजार नेपाली पिआर लिएर विदेश पुगे

सन् २०२३ मा ७१ हजार नेपाली पिआर लिएर विदेश पुगे

२१ हजार पिआर लिएर अमेरिका आए


अमेरिका । सन् २०२३ मा करिब २१ हजार नेपाली स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएर अमेरिका आएका छन् । विदेश जाने बढ्दो क्रमसँगै पिआर पाउनेको संख्यामा पनि वृद्धि भएको हो ।

बिबिसी न्युज नेपालीले अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै दिएको समाचारअनुसार उक्त वर्ष ७१ हजार नेपालीले पिआर पाएर विश्वका विभिन्न १०९ देशतर्फ लागेका थिए । यसरी पिआर लिनेमध्ये ३६ हजार ६७२ पुरुष छन् । महिलाको संख्या ३४ हजार २६७ छ ।

जसमध्ये सबैभन्दा धेरै नेपालीले पिआर लिई गएको देश अमेरिका हो । दोस्रो नम्बरमा बेलायत छ । बेलायत र नर्दन आयरल्याण्डमा १६ हजार २ सय नेपालीले पिआर लिएर गएका थिए । तेस्रो नम्बरमा हङकङ आउँछ । त्यहाँ करिब ११ हजार नेपालीले गत वर्ष पिआर लिएर गएको तथ्यांक छ ।

अमेरिकामा यहाँको नागरिकता वा पिआर (ग्रिनकार्ड) लिएका नेपालीले आफ्ना परिवारका निकटलाई पिआरका लागि निवेदन दिन सक्छन् । अमेरिकाले डिभी चिठ्ठामार्फत पनि नेपालीलाई अमेरिका आउने मौका दिइरहेको छ । यही कारण अमेरिकाको पिआर पाएर आउने नेपालीको संख्या बढी भएको हो ।

अहिले अमेरिकामा नेपाली समुदायको जनसंख्या करिब चार लाख रहेको अनुमान छ । नेपाल बाहिर तेस्रो मुलुकमा सबैभन्दा बढी नेपालीको स्थायी बसोबास भएको देश पनि अमेरिका हो । अमेरिकामा ग्रिनकार्ड लिएको पाँच वर्षपछि यहाँको नागरिकताका लागि आवेदन दिन सकिन्छ ।

अध्यागन विभागले पहिलोपटक पिआर लिएर विदेश जानेको तथ्यांक राख्न सुरु गरेको छ । विभागका अनुसार गत वर्ष विदेश जाने नेपालीको संख्या १६ लाख ३ हजार छ । जसमध्ये दुई लाख चार हजार पर्यटकका रुपमा बाहिरिएका हुन् । पछिल्लो जनगणनाले २३ लाख नेपाली विदेशमा रहेको देखाएको छ । तर, धेरैले यो भन्दा धेरै बढी नेपाली विदेशमा बस्दै आएको दाबी गर्छन् ।

अस्ट्रेलियाले गत वर्ष करिब आठ हजारलाई पिआर दिएको तथ्यांक छ । अस्ट्रेलियामा केही वर्षयता नेपाली विद्यार्थी जाने क्रम तस्व्र दरले वृद्धि भइरहेको छ ।
उक्त अवधिमा जापानको पिआर पाएर २६ सय नेपाली त्यस देश गएको तथ्यांक छ । यसपछि क्यानडा, पोर्चुगल, जर्मनी, न्युजिल्याण्ड र युएईमा पिआर पाएर नेपाली गएका छन् ।

छिमेकी देश चीन र भारतमा पनि पिआर लिएर नेपाली जाने गरेको देखिन्छ । यो संख्या भने सानो छ । चीनमा १०६ जना नेपालीले पिआर लिएर गएको तथ्यांक छ ।

नेपालमा २० वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा विदेश जाने लहर नै चलेको छ । विदेश जाने नेपालीले पठाउने पैसा रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्दै आएको छ । तर, यससँगै सामाजिक र आर्थिक समस्याहरु पनि देखिन थालेका छन् ।

सक्रिय उमेर समूहका व्यक्ति विदेश जाँदा बजार खुम्चिएको छ । गाउँघरमा युवाहरु कम भएका छन् । यसले केही सामाजिक समस्याहरु पनि ल्याएको छ ।

#तस्बिर : सामाजिक सञ्जाल