मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
राजनीति-समाज   

वाणिज्यदूत नियुक्तिमा आर्थिक चलखेलको आशंका, परराष्ट्रमन्त्री साउद विवादमा

वाणिज्यदूत नियुक्तिमा आर्थिक चलखेलको आशंका, परराष्ट्रमन्त्री साउद विवादमा


काठमाडाैं। अष्ट्रेलियाको एनएसडब्लु राज्य (सिडनी) को वाणिज्यदूत नियुक्ति प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएसँगै स्थिति निकै विवादास्पद र जटिल बन्दै गएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा अहिले विवाद र शंकाको घेरामा तानिएका छन् ।

परराष्ट्रमन्त्री साउदले वाणिज्यदूतका विषयमा आफूसँग चासो राख्नेहरुसँग आरजुले निर्णय रोकेको र आफ्नो हातमा केही नभएको तर्क गर्दै उनकै सल्लाह र निर्देशनमा मात्र आफूले निर्णय गर्ने बताएर जिम्मेवारीबाट पन्छिदै आएका छन् । तर, भुटानी शरणार्थी प्रकरणबाट नराम्रो बदनाम कमाएकी राणा भने वाणिज्यदूत नियुक्तिमा आफ्नो कुनै चासो नरहेको बताएर पन्छिँदै आएको उनीनिकट व्यक्तिहरुको दाबी छ ।

निवर्तमान महावाणिज्यदूत दीपक खड्काले पदबाट राजीनामा दिएपछि रिक्त पदमा १२ जनाभन्दा बढी व्यक्तिहरुले इच्छा राख्दै अष्ट्रेलियास्थित दूतावासमा निवेदन दिएका थिए । दूतावासले कुनै प्रक्रियाबिना माथिको आदेश भन्दै फरकफरक समयमा दुई जनाको नाममा सिफारिस पठाएको छ।

गठबन्धन सरकारमा कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री बन्न पुगेका एनपी साउदले एमालेनिकट भनी चिनिएका व्यक्तिको नाममा दूतावासबाट सिफारिस मागेपछि नियुक्तिमा पैसाको प्रभाव रहेको आरोप र चर्चाले यतिबेला बल पाएको छ ।

दूतावासले माथिको आदेश भन्दै गोप्यरुपमा एक महिनाअघि रन्जु वाग्ले थापाको नाम पठाएको थियो । त्यतिबेला राजदूत कैलाशराज पोखरेलले वाग्लेको नामसँगै सञ्जीव शर्मा र ध्रुव सुवेदीको नामसमेत वैकल्पिक सूचीमा राखेर पठाएका थिए । त्यतिबेला राजदुत पोखरेललाई वाग्लेको नाममा सिफारिस गरी पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत आदेश दिएको बताइन्छ, जुन बेला परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स दुवई पुगेका थिए ।

परराष्ट्रमन्त्री साउदको अनुपस्थितिमा परराष्ट्रको जिम्मेवारीसमेत हेरेका प्रधानमन्त्री दाहाल प्रचण्डको निर्देशनमा वाग्लेको नाममा परराष्ट्रबाट टिप्पणीसमेत उठाई मन्त्रिपरिषद् सचिवालयमा पठाइएको थियो। मन्त्रिपरिषद्को निर्णयअगावै परराष्ट्रमन्त्री साउद विदेश भ्रमणबाट फर्किए र मन्त्री साउदको निर्देशनमा निर्णय रोकियो ।
गत डिसेम्बर २९ मा दूतावासले फेरि सञ्जीव शर्माको नाममा अर्को सिफारिस पठायो । मन्त्री साउदको निर्देशनमा दूतावासले सञ्जीव शर्माको नाम पुनः सिफारिस गरेर पठाइएको दूतावासका एक जानकार सूत्रको भनाइ छ । अतिगोप्यरुपमा दूतावासबाट नाम मागिए पनि परराष्ट्रका कर्मचारीमार्फत कुरा बाहिरिएपछि मन्त्री साउद अहिले तनावमा रहेको बताइन्छ ।

परराष्ट्र मन्त्रालय सुत्रका अनुसार यतिबेला मन्त्री साउद नियुक्ति विवाद निकै चुलिएपछि गोप्यरुपमा मन्त्रिस्तरीय निर्णयबाट एग्रिमोको लागि नाम पठाउने र मन्त्रिपरिषद्बाट पछि अनुमोदन गर्ने रणनीतिमा लागेका छन् । सोहीअनुरुप निर्देशन दिएको बताइन्छ । यद्यपि शर्मा र वाग्ले दुवै आआफ्नो शक्ति केन्द्रहरुमा आफ्नो नाममा निर्णय गराउन कसरत गरिरहेका छन् । शर्मा एक्सपर्ट एजुकेशनका सञ्चालक हुन् भने वाग्लेले सिडनी सिटी कलेजको सञ्चालिका रहेकी छन् । राजनीतिकरुपमा वाग्ले नेपाली कांग्रेसका सांसद् गीता वाग्लेकी छोरी हुन् भने शर्माको राजनीतिक पृष्ठभूमि एमालेनिकट रहेको देखिन्छ ।

वाणिज्यदूतका आकांक्षी रहेका १२ जनामा मन के.सी., विवेक थापा, ध्रुव सुवेदी, रामकृष्ण श्रेष्ठ, कृष्णमान श्रेष्ठ, श्री नापित, कुशल के.सी., निशान शर्मालगायतका व्यक्तिहरु रहेका छन् । सामाजिकरुपमा हेर्ने हो भने मन के.सी., विवेक थापा, रामकृष्ण श्रेष्ठहरु स्वाभाविकरुपमा नेपाली कांग्रेसनिकट प्रजातान्त्रिक समूहका सबैभन्दा बलियो दाबेदार हुन् । केसी, थापा र श्रेष्ठले प्रबल चासो र इच्छा देखाएका पनि छन् । योग्यता, क्षमता, अनुभव र सामाजिक योगदानका हिसाबले अरुभन्दा अगाडि छन् तर नेपाली कांग्रेसका परराष्ट्रमन्त्रीले आफ्ना पार्टीनिकट र सबैलाई मान्य हुने दाबेदारप्रति कुनै चासो नदेखाएर एमालेनिकट कार्यकर्ता व्यापारीको नाम सिफारिस मागेपछि मन्त्री साउद पैसामा बिकेको आरोप लगाउन थालिएको छ ।

दूतावासले स्थानीयस्तरमा कुनै पनि प्रक्रियागत सल्लाह, सुझाव र बस्तुस्थितिको आँकलन नगरिकनै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ठाडो आदेशमा नाम सिफारिस गरेको छ।

राजनीतिक सुत्रले दिएको जानकारीअनुसार अष्ट्रेलियामा रिक्त भिक्टोरिया र एनएसडब्लु वाणिज्यदूतमध्ये भिक्टोरिया माओवादीको भागमा र एनएसडब्लु कांग्रेसको भागमा भागबण्डा गरिएको छ । जसअनुसार एनएसडब्लुमा कांग्रेसले र भिक्टोरियामा माओवादीले आफूनिकट व्यक्ति वा कार्यकर्ता भर्ती गर्ने तयारी गरेको देखिन्छ ।

राजनीतिक दलहरुको भागबण्डाले यतिबेला अष्ट्रेलियामा रहेका नेपाली समुदायका अग्रजहरु निराश र आक्रोशित देखिन्छन् । दूतावास र नेपाल सरकारले सामान्य प्रक्रियासमेत पूरा नगरी पैसाको प्रभावमा निर्णय गर्न खोजेको आरोप उनीहरुको छ।

उनीहरु अनुचित प्रभावमा परि गरिएको निर्णय स्वीकार गर्न नसकिने जनाउँदै यसकाविरुद्ध अष्ट्रेलियन सरकारमा उजुरी गरी कुनै पनि हालतमा एग्रिमो रोक्ने तयारीमा लागेको देखिन्छ । भिक्टोरियामा लामो समयदेखि वणिज्यदूतका रुपमा काम गर्दै आएका चन्द्र योञ्जनलाई हटाएर माओवादीनिकट कार्यकर्ता निराजन गौलीलाई भर्ती गर्ने तयारी भैरहेको छ। दूतावासले गौलीको नाम सिफारिस गरी टिप्पणीसमेत उठाइसकेको परराष्ट्र सुत्रले जनाएको छ ।

यता मेल्वर्नमा नेपाली समुदायका अग्रजहरुले गौलीविरुद्ध सिग्नेचर क्याम्पेन सुरु गरिसकेका छन् । माओवादी पार्टीको कोटामा वाणिज्यदूत हुनका लागि केही समयअघि मात्र सरकारी जागिर छोडेर बसेका गौलीको एग्रिमो सहज देखिँदैन। एनएसडब्लुको स्थिति पनि लगभग भिक्टोरियाको जस्तै छ ।

शर्मा र वाग्ले दुवै पक्षधरहरु एक अर्कालाई स्वीकार गर्ने पक्षमा छैनन् । यी दुईमा जो भए पनि एग्रिमोमा समस्या आउन सक्ने प्रष्ट संकेत देखिन्छ । यसअघि सञ्जीव शर्माको नाममा तस्मनियाका लागि सिफारिस गरी नेपाल सरकारले निर्णयसमेत गरेर पठाएको थियो । तर, स्थानीय नेपाली समुदायको व्यापक विरोध र असहमतिका कारण होबर्टका मेयरले नेपाल दूतावासमा पत्र पठाइ विरोध जनाएपछि प्रक्रिया नै रोक्नुपरेको थियो ।