नेपाल

बालकुमारी घटनामा दुई जनाको मृत्यु, सुरक्षाकर्मीसहित सात घाइते, ७३ जना पक्राउ

बालकुमारी घटनामा दुई जनाको मृत्यु, सुरक्षाकर्मीसहित सात घाइते, ७३ जना पक्राउ


शेयर गर्नुहोस:

3.3k
Shares

  • change font
  • change font

ललितपुर । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये चार जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरीसहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।”

Advertisement

उनले मृत्यु भएका दुईमध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।