मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम

विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ। कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ९० अर्ब ८३ करोड बराबर छ।

केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब दुई प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ।

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले वृद्धि भई दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ। गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यसैबीच मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा थियो।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।

आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो।