न्यूयोर्क- विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् ।
न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवहाक महावाणिज्यदुत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।
नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कार्यवहाक महावाणिज्य दुत गौतमले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सांस्कृतिक कलाकृतिहरुको अवैध ओसारपसार विरुद्धको लडाईमा सधै साथ रहेको पनि बताउनु भयो ।
जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरु पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरुको खोजिका लागि सधै सहयोग गर्ने पनि बताउनु भयो ।
यसअघि महावाणिज्य दुतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ ।
प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दुतावासले छिट्टै नेपाल पठाउने बताएको छ ।
प्रतिक्रिया