मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे ।

“हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी–कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने। सरकार अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताए । उनले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गरे ।

उनले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गरे । “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिकरूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुनसक्छ”, उनले भने।

विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

“बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैव दबाबमा छ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृतरूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृतरूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्ने स्थिति छ”, उनले भने, “सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ ।”

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताए । “सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ, जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगतरूपमै विभिन्न कदम चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका सङ्केत देखिन पनि थालेका छन्”, उनले भने।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्र–मैत्री नीति तथा उपाय कार्यान्वयनमा ल्याइरहेको धारणा राखे ।