मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

दसैँ सुरू भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् ।

उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताए ।

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए ।

नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै संख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ । त्यस्तै निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ ।

साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु संख्या बढिरहेको विमानस्थलले जनाएको छ ।

नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो ।

उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गरेका थिए । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो । यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरू भएको हो ।