मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

एनआरएनए (NRNA)एक सामाजिक परोपकारी संस्था हो भन्ने कुरा कसैले बिर्सन मिल्दैन : रोबिन शेरचन, उपाध्यक्ष पदमा उम्मेदवार

एनआरएनए (NRNA)एक सामाजिक परोपकारी संस्था हो भन्ने कुरा कसैले बिर्सन मिल्दैन : रोबिन शेरचन, उपाध्यक्ष पदमा उम्मेदवार


यतिबेला नेपालको राजधानी काठमाण्डौं एनआरएनए(NRNA) मय बनेको छ। आज असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म ११औं महाधिवेशन हुने भएकाले विश्वभरका एनआरएनएहरु काठमाडौंमा उत्रिएका छन्।उक्त महाधिवेशन अन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन नयाँ कार्यकाल(२०२३-२५) का लागि निर्वाचन पनि हुदैछ। सो निर्वाचनमा भाग लिदै लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचनले पनि उपाध्यक्ष पद (खुला तर्फ ६ जना चुनिने) मा उमेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्।

जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल शेरचन, उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै, विश्वभरका एनआरएनएका बिच निकै चर्चामा आइरहेका छन्। कम बोल्ने, धेरै काम गर्ने स्वभावका व्यक्तित्व भनी आफ्नो परिचय स्थापित गराउन सफल तिनै शेरचनसंग पत्रकार सुपेन्द्र बस्नेतले अन्तर्वाता लिएका थिए। उक्त अन्तर्वार्ता यस प्रकार रहेको छ :

✍️ तपाईको संक्षिप्त परिचय …

मेरो नाम रोबिन शेरचन, मेरो जन्म मुस्ताङमा भएपनि मेरो बाल्यकाल कास्की, पोखरामै बित्यो। गण्डकी बोडिङ स्कूल पोखरामा माध्यमिक शिक्षा उत्तिर्ण भएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं गएँ। काठमाण्डौंमा शंकरदेव क्याम्पसमा स्नातक गरेपछि आफन्तको सल्लाहमा जापान आएँ। ३५ वर्ष यता जापानलाई कर्म थलो बनाएर रेष्टुरेन्ट, होटल, कलेज, विध्यालय, सीप तालिम कक्षा, हाईड्रोपावर, रेमिट्यान्सलगायतका विविध व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको छु।
करिव ३५ वर्षको प्रवास बसोबाससलाई फर्के हेर्दा सामान्य युवा विदेशमा जाँदा पाउने सबै किसिमका दु:ख सुख पार गरेर आफू जस्तै पाँचसय बढी नेपाली परिवारसंग प्रत्यक्ष जोडिएको छु। व्यवसायसंगै आपत विपतमा परेका नेपाली, नेपालको कला संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमलगायत थुप्रैलाई सहयोग पुऱ्याउँदै आएको छु। अब परदेशमा बसेका धेरै नेपालीहरु जोडिएको संस्था एनआरएनएसंग जोडिएको छु। अहिले म आईसीसी सदस्य छु l निश्वार्थ समाजसेवा, परोपकारी साथै नेपालको विकास र समृद्धिका लागि व्यापक रुपमा काम गर्नु छ । अझ भनौं यसको क्षेत्र बिस्तार गर्नु छ। त्यसैले प्रत्यक्ष ढंगले संस्थागत रूपमा काम गर्न गैर आवासीय नेपाली संघको काठमाण्डौंमा हुने ११ औ अधिवेशनमा उपाध्यक्ष पदमा आकाँक्षा राखेको छु।

✍️ ‘एक सफल व्यवसायी’ भनेर तपाईंको परिचय स्थापित छ। यसप्रति तपाईंको टिप्पणी।

– व्यवसायमा, सफल वा असफल बाहेक अर्को शब्द नै हुन्न। कुनैपनि कम्पनी वा व्यक्ति लामो समय एउटै रूपमा चलिरह्यो भने मान्नुस् सफल भएर टिक्न सक्यो। म सफल कि असफल आफूले भन्नुपर्दा करिब पाँचसय बढि नेपालीहरूसंग प्रत्यक्ष जोडिएर एकै परिवारमा बसेर विभिन्न सेवा मूलक काम गरिरहेको छु। मलाई पछाडि फर्केर हेर्दा अहिलेसम्म कामले काम सिकाएको हो। आगामी दिनमा पनि यसरी नै काम गर्न सकिन्छ जस्तो लाग्छ।

✍️ तपाईं लामो समयदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि सक्रिय भैरहेको सुनिन्छ/देखिन्छ। कारण… ?

– नयाँ नयाँ परदेशमा आएकाहरुले विभिन्न किसिमका कठिनाइहरु सामना गर्नुपर्ने हुन्छ। भाषा, काम, परिवेश, जीवनशैली सबै नयाँ हुन्छ। अप्ठ्यारोमा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्दा उनिहरूलाई ठूलो राहत पुग्छ। नेपाली भएर हेर्दा दान गर्ने दिने अनि अर्कोलाई परेको बेलामा सक्दो सहयोग गर्ने हाम्रो संस्कार हो। मेरो हकमा पनि ३ दशक बिचमा आफू केही रूपमा स्थापित हुने कोसिस गर्दा, मसंगै मेरो व्यवसायमा जोडिएका नेपाली र तिनका परिवारलाई परेको बेला धेरै सहयोग गरें। यस्तै समुदायमासमेत सेवा गरियो। समुदायको हरेक समस्याका लागि लडियो। सु:ख दुख साटासाट गरियो। पहिलेबाट अहिलेसम्म पनि साना ठूला हरेकको समस्यालाई प्रत्यक्ष ढंगले हातेमालो गर्दै आएको छु। सामाजिक काममा एक पटक दुइ पटक भन्ने हुदैन। परेको बेला सदैव सहयोग गर्ने नै छु।

✍️ तपाईं नाफा घाटा तौलिएर मात्र कदम चाल्ने व्यवसायिक पृष्ठभूमिको व्यक्तित्व भएकाले, परोपकारी सामाजिक क्षेत्रमा पनि निस्वार्थ सक्रिय रहन कतिको सम्भावना छ ? यि दुइ बिचको स्वार्थ बाझिदैन ? कसरी तालमेल मिलाइरहनु भएको छ ?

– कम्पनी, व्यवसायको संचालन र परोपकारी कार्य बिच एक किसिमको घनिष्ठ सम्बन्ध हुन्छ। एकले अर्कोलाई सहयोग पुर्याउन सकेमा ठूलो धर्म हुन्छ भन्ने ठान्छु। नेपाली भएका नाताले नेपालीले कहीपनि दु:ख पायो भने मैले तपाईले सहयोग गर्नुपर्छ। लामो समयदेखि समुदायमा मेरो भूमिका फरक र आवश्यक संझिएर त म कहा आउनुहुन्छ। दिन सकेको मैले दिएको छु। यसले मलाई एककिसिमको आत्मसन्तुष्टि मिल्छ। तसर्थ, मैले सहयोग गर्दा दिल खोलेर निस्वार्थ सहयोग गरेको छु। अहिलेसम्म बाहिर हल्लाखल्ला नगरि चुपचाप निस्वार्थ सेवा र काम मात्र गरेको हुँ। मनबाटै चाहने हो भने असम्भव केही छैन। व्यवसाय पनि समाजसेवा पनि संगै गर्न सकिन्छ।

✍️ गैर आवासीय नेपाली संघको अभियानमा जोडिनुको खास कारण नि ?

– अहिलेसम्मको जापान बसाइमा सयौं हजारौंलाई विभिन्न सेवा पुर्याइयो। तर, यसको लेखाजोखा गरिएन। अनि कुनै पनि काम एक्लैले गर्दा पूर्ण नहुने अनुभव गरें। अनि नेपालीलाई मात्र सहयोग गरेर हुन्न। एक व्यक्तिले एक दुइ व्यक्तिलाई सहयोगसंगै अब मुलुकका हरेक कुनामा सकेको सहयोग अनि मुलुक निर्माणमा सरकारसंगै हातेमालो गर्न गैर आवासीय नेपाली संघको छाता मुनी बसेर काम गर्ने मन छ। यसका लागि अभियानमा जोडिएको छु।

✍️ प्रवासी नेपालीहरु एनआरएनएमा जोडिनु पर्ने कारणहरु के के हुन् ?

– परदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र लगानीलाई अबबाट सामुहिक लगानीका रूपमा नेपालमा भित्र्याउन हरेक विदेशिएका नेपालीहरूको साझा संस्था एनआरएनएमा जोडिन सकिन्छ। नेपालको संविधानले समेत १८० दिन भन्दा बढी समय विद्यार्थी बाहेक विदेशमा बसेकालाई गैर आवासीय नेपाली मान्ने भएकाले, स्वतस्फूर्त अभियानमा जोडिएर काम गरेको हो। छोटकरीमा भन्दा परदेशमा बस्ने नेपाली समुदाय ठूलो संख्यामा जोडिएको संस्था एनआरएनए भएकोले परदेशमा रहेको दक्षता र पूँजीलाई नेपालसंग जोड्ने काम पनि एनआरएनएले नै गर्छ। त्यसैले यहाँ जोडिदा समुदायका साथै राष्ट्रलाई फाइदा पुग्दछ भन्ने लाग्छ।

✍️ एनआरएनएमा केबल कुर्सीका लागि लडाइ हुन्छ। कुरा बढि र काम कम हुन्छ भन्ने आरोप छ। तपाईंको मुल्याङ्कन कस्तो रहेको छ ?

– “सन्तान थरिथरिका……” भने जस्तै संस्थाको विधान, पद्दति र प्रणालीलाई आफू अनुकुल व्याख्या गर्दा बाहिरबाट हेर्नेले लडाइ झगडा भएको देखिन्छ। तर, विधान, संरचनाले बहुपद अनि प्रजातान्त्रीक प्रणाली अवलम्बन गरेकाले विश्वभरिका अभियान्ताहरुका बिच प्रतिस्पर्धा भएको हो। कुरा बढी र काम कमको विषयमा भने म आफै चाही काम मात्र गर्ने र कुरा नगर्नेमा पर्छु। कतिपय साथीहरूले नगरेको काम पनि मैले गरेको र म मात्र जान्ने हुँ भन्न खोजेको जस्तो बुझिन्छ। यस्ता गलत परिपाटी भएका व्यक्तिका कारण संस्था पनि बदनाम छ। तर, अब गलत काम गर्न नदिन हामी आउदै छौं। हामीले बागडोर सम्हाल्दा यस्ता नचाहिने कुराहरू धेरै भएको सुनिए पनि,अब चै सकारात्मक कुरा बढी सुन्नु हुनेछ।

-✍️एनआरएनएमा नेपाली दलीय राजनीतिक हस्तक्षेप व्यापक छ भन्छन्। तपाईंको अनुभव कस्तो छ ?

-संस्थाको काम कार्वाही विधि विधानले चल्छ। प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुने भएकाले नेतृत्वमा पुग्न व्यक्तिहरूले विविध तरिका अपनाउन खोजेको भान हुन्छ। तर, एनआरएनए संस्थाको नेतृत्वमा आउन कुनै पनि पार्टीमा आबध्द भएको हुनुहुने छैन भनेर प्रष्ट लेखिएकाले यसमा सबैले मनन गर्ने अपेक्षा लिएको छु। पार्टीको झण्डा ओडेर गरेको काम समाजसेवा मानिदैन, राजनीतिक दलको कार्यकर्ताले साझा संस्थामा आएर यो काम त्यो काम गर्छु भन्दा, कसैले पत्याउदैन। किनकी, त्यहाँ सबैको अपनत्व हुदैन। त्यसैले एनआरएनए एक सामाजिक परोपकारी संस्था हो भन्ने कसैले बिर्सन मिल्दैन।

✍️ एनआरएनएले संस्थागत उद्देश्य प्राप्तिमा अपेक्षाकृत सफलता हासिल गर्न नसक्नु र संस्थाप्रति उल्लेखनीय आकर्षण बढ्न नसक्नुका मुख्य कारणहरु के के हुन् जस्तो लाग्छ…?

-छोटकरीमा भन्नुपर्दा, नेतृत्वका लागि तछाडमछाड गरे पनि काम गर्नेबेलामा नीति तथा कार्यतालिका अनुरूप ठोस कार्ययोजना बनाएर काम नभएकाले अलिक व्यवस्थिति नभएको भान हुन्छ।

✍️ यतिबेला काठमाण्डौंमा एनआरएनएको निर्वाचनको पारो निकै तातिरहेको छ। तयारी कस्तो भैरहेको छ ?

– मेरो तयारी राम्रो छ। विश्वभरिबाट मलाई उपाध्यक्ष पदमा जिताउन एक किसिमको अभियान नै साथीहरूले चलाउनु भएको छ। स्वतस्फूर्त यसरी भइरहेको सहयोगप्रति आभारी छु। ११ औँ अधिवेशनले हालसम्म संस्थाले प्राप्त उपलब्धीलाई केलाएर आगामी नयाँ नेतृत्वले यसको लेखाजोखा गर्नेछ। नयाँ मार्गचित्र कोर्नेछ।

✍️ आसन्न महाधिवेशनले आफ्नो औचित्य पुष्टि गर्न सक्ला …? कि कुर्सी कै छिनाझम्टीले ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने हो …?

– अहिलेको नेतृत्वले आफूले गरेको कामको औचित्य पुष्टि गर्नु हुनेछ। पुष्टि गर्न नसके आलोचना खेप्नु नै पर्छ।

✍️ आगामी कार्यकाल(२०२३-२५)का लागि हुन गइरहेको संघको आसन्न निर्वाचनमा तपाईंले पनि उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेर चुनावमा होमिनु भएको छ। चुनावी माहोल कस्तो छ…?

-अहिलेसम्ममा मलाई ६०% भन्दा बढी निवर्तमान कमिटि र वर्तमान एनसीसी कमिटिबाट सकारात्मक सन्देश प्राप्त भएको छ। प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकाँक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छु। मेरो हकमा जीत सुनिश्चित छ। जित्नेमा ढुक्क छु।

✍️ संघको विधान अनुसार अरु धेरै पदहरु थिए। तर, तपाईंले उपाध्यक्ष पद नै रोज्नुको कारण चाही के हो नि ? कतै अर्को कार्यकालको अध्यक्षका लागि अहिलेदेखि नै तयारीको कडि बनाउन लागेको त हैन ?

-जापानबाट आईसिसि सदस्यको हैसियतले संस्थामा काम गर्ने तरिका बुझें। केही नयाँ काम पनि गरियो। यसपटक उपाध्यक्ष जितेपछि पुरा नेपाल र प्रवासमा रहेका नेपालीका मुख्य मुख्य समस्याहरू केलाउन सकेँ र समाधानका बाटाहरु पहिल्याउन सकेमा, आगामी दिनमा अध्यक्ष पदमा जाने बाटो खुल्नेछ। आफूले आफैलाई सक्षम बनाएर काम गर्नु पर्ने भएकाले र परिस्थिति अनुसार माग भएमा, एकपटक तयारी गरेर नेतृत्वसम्म पुग्ने कोसिस गर्नेछु। यसका लागि दुइ वर्ष अझ मेहनत गर्नेछु।

✍️ तपाईंको चुनावी मुख्य मुद्दाहरु के के हुन् ?

-प्रमुख मुद्धा हाल एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेरा भित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनाउनेलगायत छन्।

✍️ तपाईंलाई मतदाताहरुले आफ्नो अमूल्य मत किन दिने ? आफ्नो उमेदवारीको औचित्यको पुष्टि कसरी गर्नु हुन्छ ?

– विगतमा जस्तै नेतृत्वमा विवाद, राजनैतिक हस्तक्षेप जस्ता कुराले संस्थाप्रति आम जनमानसमा एककिसिमको वितृष्णा पैदा भएको छ। यसलाई चिर्नु आवश्यक छ। संस्था सबैको साझा र अपनत्व भएको बनाउनु पर्ने छ। त्यसैले अब गफ होइन, कामलाई जोड दिनुपर्छ। कुरा कम, काम बढी गर्ने मेरो चरित्र भएकाले, आम मतदाताले पक्कै पनि मलाई अवसर दिनु हुनेछ। अहिलेको अवस्थालाई हेर्दा धेरै नै सकारात्मक प्रतिकृया पाएकाले म उत्साहित भएको छु।

-✍️ निर्वाचनबाट आफू निर्वाचित हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ? निर्वाचित हुने आधारहरु के के छन् ?

-चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो। कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु।

✍️ विधानले व्यवस्था गरे अनुसारको संख्यामा उपाध्यक्षहरु सहमतिमै चुनिने सम्भावना कत्तिको देख्नु भएको छ ?

-आकाँक्षीहरु धेरै देखिए पनि खासमा
अन्तिम समयसम्म धेरैले आफ्नो मनसाय परिवर्तन गर्नुहुनेछ। संस्थाको गरिमा उच्च राख्नका लागि निश्वार्थ रुपमा काम गर्ने ब्यक्तिहरु आउन जरुरी छ।

-✍️ एनआरएनएको अभियानमा लागेको नाताले, गैर आवासीय नेपाली समुदायलाई के आव्हान गर्न चाहनु हुन्छ ?

-एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो। यसका उद्देश्यहरु प्रष्ट छन्। बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन। त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं।

✍️ अन्तमा केही भन्नु छ कि …?

-संस्थामा लिन भन्दा पनि दिन जाने हो । एनआरएनए तपाईहरूकै साथ तथा आग्रह अनुरूप संस्थालाई अझ मजबुत र सबैको कुरा सुन्ने बनाउने अभिमारा हाम्रै हो। त्यसैले, यसपटक मलाई उपाध्यक्ष पदमा सबैजनाले मतदान गरेर विजयी बनाइदिनका लागि हार्दिक अपील गर्दछु। विधानमा यसपटक ६ जना खुल्ला, एक जना महिला र एक जना युवासहित जम्मा ८ जना उपाध्यक्ष निर्वाचित हुने ब्यवस्था छ। मैले खुल्लाबाटै निर्वाचित हुन उमेदवारी दिएको छु। ठूलो मन्दिरको दर्शन गर्न जाँदै गर्दा अगाडि रहेको सानो मन्दिरमा पनि एउटा फूल चढाइ दिनुहोला। तपाईहरुको विश्वास टुट्न दिनेछैन। धन्यवाद !