मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकार प्रयत्नशील : परराष्ट्रमन्त्री

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकार प्रयत्नशील : परराष्ट्रमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्धका लागि इजरायल सरकारसँग समन्वय गरी कार्य भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री साउदले भने, “इजरायलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्यप्रक्रिया सुरु भइसकेको छ ।”

समितिले यी विषयलाई प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको र परराष्ट्रमन्त्री साउदले समितिको निर्देशनलाई सरकारले उच्च प्राथमिकतामा राखी कार्य गर्ने विश्वास दिलाए ।

नेपाल सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको उपचार गर्न, सम्पर्कविहीन भएकाको तत्काल खोजी गर्न, असहज परिस्थितिमा परेकाको उद्धार गर्न एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रयत्नशील रहेको मन्त्री साउदले बताए ।

आजै अपराह्न परराष्ट्रमन्त्री साउदले आफ्ना इजरायली समकक्षीसँग टेलिफोन संवाद गरी हालको कठिन समयमा नेपाल इजरायलको साथमा रहेको तथा निधन भएका नेपालीको शव स्वदेश ल्याउन, नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने विषयमा कुराकानी गरे । सो अवसरमा इजरायलका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

इजरायल र गाजाको सीमा क्षेत्रमा बङ्करभित्र आश्रय लिई बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्री साउदले बताए ।

“इजरायलको उत्तरी सिमानामा अवस्थित किन्नेरेट कलेजमा अध्ययनरत विद्यार्थीलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सम्पर्कविहीन रहेका बिपिन जोशीको खोजी तीव्ररुपमा भइरहेको छ”, उनले भने ।

उद्धार हुन तथा नेपाल फर्कन चाहने तीन सय २४ नेपाली नागरिकले राजदूतावासको अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन तथा ३६ जनाले स्थानान्तरण हुन चाहेको मन्त्रालयले जनाएको छ ।

हालको अवस्थामा अध्ययन तथा अन्य प्रयोजनका लागि इजरायल जान लाग्नुभएका नेपालीलाई तत्काल भ्रमण नगर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । साथै, यी विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयले भोलिदेखि नियमितरुपमा अपराह्न ४ः३० बजे प्रेस ब्रिफिङ गर्ने मन्त्री साउदले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले गत शनिबार इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणमा परी जीवन गुमाएका नेपालीको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन सरकारसँग आग्रह गरेको छ ।

बैठकले उक्त हमलापछि सम्पर्कविहीन भएका कञ्चनपुरका विपीन जोशीको तत्काल खोजी गरी उद्धार गर्न सरकारलाई आग्रह गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिए । यसैगरी बैठकले इजरायलमा भएका नेपालीको विवरण सङ्कलन गरी जोखिममा रहेकाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरी आवास तथा भोजनको व्यवस्था गर्न इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीलाई त्यहाँ सुरक्षित रहने व्यवस्था मिलाउन र स्वदेश फर्कन चाहनेलाई अविलम्ब फर्काउने व्यवस्था गर्न आग्रह पनि गरेको छ । बैठकले उक्त आक्रमणको निन्दा गरेको छ ।

यसैगरी बैठकले आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।