मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

अमेरिकामा रहेका नेपाली बालबालिकाहरुले, गीत संगीत मार्फत नेपाल र नेपालीप्रति आत्मीय माया दर्शाए

अमेरिकामा रहेका नेपाली बालबालिकाहरुले, गीत संगीत मार्फत नेपाल र नेपालीप्रति आत्मीय माया दर्शाए


विविध कारणले अमेरिकामा रहेका नेपाली मूलका बालबालिकाहरुले नेपाल र नेपालीप्रति आत्मीय सामिप्यतासहितको माया दर्शाएका छन्। अमेरिकाको बोस्टन सहरमा गत शनिवार आयोजित वार्षिक सांगीतिक कार्यक्रममा आफूमा रहेको सांगीतिक प्रतिभाहरु प्रस्तुत गर्दै नेपालबाट तन टाढा भएतापनि मनमा भने नेपाल र नेपालीको आत्मीय माया रहेको दर्शाएका हुन्। बालबालिकाहरुले कार्यक्रमको शुभारम्भमा नेपाल र नेपालीप्रति उच्च आदर सम्मान प्रकट गर्दै नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली …’को धुन बजाउदै गाएका थिए। व्याकुल माइलाले लेखेको यस राष्ट्रिय गानमा सुमधुर संगीत भरेर जीवन दिदै नेपालीको हृदयमा बस्न सफल भइ अजर अम्बर बन्न सफल स्वर्गीय वरिष्ठ संगीतकार अम्बर गुरुङकै पुत्र शरद गुरुङबाट संगीत प्रशिक्षण लिइ बजाउन/गाउन पाउदा बालबालिकाहरुले निकै गर्व महसुस गरेका थिए। शरद गुरुङ लामो समयदेखि व्यवस्थित संगीतको अध्ययन गर्ने र अरुलाई पनि सोही अनुरुप संगीत सिकाउने अभियानमा जुटिरहेका छन्। आफूले जानेको व्यवस्थित संगीतको सीप तथा कला, आउने पुस्ताहरुलाई हस्तान्तर गर्नु उनको सांगीतिक अभियानको मुख्य उद्देश्य रहेको छ।  सांगीतिक क्षेत्रमा राम्रो दखलसहितको कदरयोग्य प्रतिभा भएका व्यक्तित्व गुरुङसंग आफ्ना बालबालिकाहरुलाई सांगीतिक क्षेत्रको सीप सिकाउन पाउदा, अभिभावहरुले पनि आफू र आफ्ना बालबालिकाहरुलाई भाग्यमानी ठानिरहेको प्रमाणहरु पेश गरेका थिए।

Advertisement
ADVERTISEMENT

कार्यक्रममा कलाकार बालबालिकाहरुले सयौं फूलका थुंगा हामी…सहित बहु चर्चित नेपाली राष्ट्रिय गीतहरु -यो नेपाली शिर उचाली…, रातो र चन्द्र सुर्य…समेत बजाएका थिए। राष्ट्रिय गीतहरुको धुन गुञ्जदै गर्दा नेपाल र नेपालीको संझनाका कारण सहभागीहरुको अनुहार र हाउभाउमा भावुकता छचल्किएको थियो। नेपाली गीत संगीतले गुञ्जयमान रहेको कार्यक्रम स्थलमा कलाकारहरुले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै गर्दा प्रशिक्ष, अभिभाव तथा सहयोगीहरुले बालबालिकाहरुलाई गडगडाहट तालीले साथ दिदै उत्प्रेरित गराइरहेका थिए। कार्यक्रममा कलाकार बालबालिकाहरुले प्रस्तुत गरेका बहुचर्चित नेवारी गीत, आधुनिक गीत, लोक गीतहरुलगायतले कार्यक्रम स्थल नेपालमय भएको थियो। नेपालीपन, नेपाली पहिचान र नेपालीत्वलाई प्राथमिकता दिइएको उक्त वार्षिक सांगीतिक कार्यक्रम, सांगीतिक दृष्टिकोणले मात्र नभइ बहुआयामी दृष्टिकोणले निकै महत्वपूर्ण र उपलब्धिमूलक रहेको भनी कार्यक्रममा सहभागी अभिभावकहरुले प्रतिक्रिया दिएका छन्। कार्यक्रमका दौरानमा कलाकारहरुले हिन्दी तथा अंग्रेजी भाषामा रहेका बहुचर्चित गीतहरुलाई पनि पस्किएका थिए। अमूल्य मञ्च तथा अवसरको भरपूर सदुपयोग गर्दै आफूले सिकेको र आफूमा रहेको प्रतिभा प्रस्फूटन गर्ने कलाकार बालबालिकाहरुमा सैव्य रिजाल, काव्य पौडेल, शृया पौडेल, प्रयुश पौडेल, प्रिशा पौडेल, समिक नेपाल, आयान नेपाल, आभानी काप्री, निमित भट्ट, सरिशा तिमिल्सिना, नीर सिंह, सम्भिद बराल, आरुशी बराल, शृया खनाल, आभानी गुरुङ र सक्रिय बस्नेत रहेका थिए।

यसै क्रममा, अभिभावक शुशिला बस्नेत तिमिल्सिनाले ‘तिमीले जति नै माया दिए पनि …र सुरेश प्रधानले ‘प्रियसीका यादहरु …र बिराज गुरुङले पनि पहला नशा…गीतहरु गाएर सांगीतिक माहोललाई थप मनोरञ्जनात्मक बनाएका थिए। कार्यक्रमको अन्तमा नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैं र तिहारको स्मरण गर्दै मालाश्री धुन बजाएर कार्यक्रमलाई बिट मारिएको थियो। मंगल धुनसंग संगै सहभागीहरुले आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए। सोही अवसरमा सांगीतिक क्षेत्र र बालबालिकाको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभिभावकहरुले संगीत प्रशिक्षक शरद गुरुङप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै संगीत प्रशिक्षक शरद गुरुङले आरोरात्र खट्ने कलाकार बालबालिकाहरु, सिक्ने सिकाउने अनुकूल वातावरण तयार गर्दै उत्प्रेरित गर्ने अभिभावकहरु र प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। गीत संगीत भनेको केबल मनोरञ्जन मात्र नभएर बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण माध्यम पनि भएको जिकीर गर्दै उनले बालबालिकाहरुले गर्दै गरेको प्रगतिप्रति खुशी व्यक्त गरे। प्रशिक्षक गुरुङले भने, ‘सांगीतिक क्षेत्र मनोरञ्जनका लागि मात्र नभर मानिसको सर्वाङ्गीण विकासका लागि पनि निकै महत्वपूर्ण रहेको छ। ‘संगीत’ भनेको योग, ध्यान, ज्ञान, सीप, परिश्रम, लगनशीलता, एकाग्रता, धर्यतालगायतको समुचित योग हो। यो सोचे जस्तो सरल, सहज र सस्तो पनि छैन। र, प्राप्त गर्न असम्भव पनि होइन। यसको असली स्वाद, आनन्द र फाइदा लिने हो भने गहिराइमा डुब्नै पर्दछ।’

स्वर्गीय अमर गुरुङ र बिना गुरुङको कोखबाट जन्मिएका तीन छोरा मध्यका एक हुन् शरद गुरुङ। जो बाल्यकालदेखि नै आफ्नो पिताको बिडो थाम्दै सांगीतिक क्षेत्रमा केही योगदान पुर्याउन भनि एकहोरो अनवरत लागिरहेका छन्। अमरका अरु दुई छोराहरु किशोर गुरुङ र राजु गुरुङ पनि सांगीतिक क्षेत्रमै लागिरहेका छन् भने, बेलायतमा रहेकी छोरी अल्का गुरुङ चाही चिकित्सा क्षेत्रमा कार्यरत छिन्। लामो समयदेखि परिवारसहित अमेरिकाको बोस्टनमा बस्दै आएका शरदले विश्व सांगीतिक क्षेत्रको गहन अध्यनन गरी यसै क्षेत्रमा अमूल्य योगदान पुर्याउदै आइरहेका छन्। हाल उनीसंग झण्डै २५ जनाले नियमित संगीत प्रशिक्षण लिइरहेका छन्।

शेयर गर्नुहोस:

2.9k
Shares