मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इजरायलमा हिंसात्मक आक्रमणमा परी दस नेपालीको मृत्यु

इजरायलमा हिंसात्मक आक्रमणमा परी दस नेपालीको मृत्यु

मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायलमा प्यालेस्टायनी इस्लामिक समूह (हमास)को आक्रमणमा परी दस नेपालीको निधन भएको पुष्टि भएको छ । इजरायलमा रहेका दस नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

शनिबार हमासले इजरायलमाथि गरेको आक्रमणमा परी मारिनेको संख्या ७०० नाघेको र सयौँ मानिस घाइते भएका छन् । उक्त आक्रमणमा दस जना नेपालीको निधन भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

त्यस्तै पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमण परी मृत्यु भएको छ।

राजदूत रिजालका अनुसार आक्रमणमा तीन जना घाइते भएका छन् । शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुवैको खट्टामा गम्भीर चोट लागेको छ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन्। भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेका छन्।

भीमदत्त–३ कञ्चरनपुरका विपीन जोशी भने सम्पर्कविहीन रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।

साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेसनको तयारी भइरहेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्यरुपमा सञ्चालनमा रहेको र हवाईमार्गमार्फत आवतजावत सुचारू भइरहेको जानकारीसमेत प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको गरिएको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीको सम्पर्क विवरण उपलब्ध गराइएकाले उनीहरूमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन अनुरोध गरिएको छ ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण : 

टेलिफोन नम्बर : ९७२९००३५१६८०८५

राजदूत कान्ता रिजाल : ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे : ९७२५४५८६४४२३

इमेल : [email protected]