चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताएका छन् ।
उनले भने, “विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम फाल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ।” गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने उनको भनाइ थियो।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने उनको भनाइ थियो। उनले भने, “तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस्। विस्तारको काममा सरकारले सहयोग गर्छ।” बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो। सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँगाउँमा चिकित्सक पु¥याउने अभियान चलाइएको जानकारी दिए।
सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सबै क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताए। अस्पतालमा सुशासन, पारदर्शीता र जवाफदेहिता हुनसके जनगुनासो कम हुँदै जाने उनले बताए।
“पछिल्ला समय राज्यप्रति वितृष्णा जगाउन चिकित्सकमाथि आक्रमण हुने गरेको छ”, उनले थपे, “छिटपुट घटनाले स्वास्थ्य संस्थामा अराजकता बढ्न थाल्यो। आन्दोलनको स्वरुप परिवर्तन गर्नुस्।” भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालबाट दिइने सेवालाई अझै व्यवस्थित गर्दै अघि बढ्नुपर्ने बताइन्। सेवा विस्तारका लागि सङ्घीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अवसरमा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पतालका चिकित्सक कर्मचारीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्। दिवसकै अवसरमा आज बिहान भरतपुरको चौबीसकोठीदेखि अस्पताल प्राङ्गणसम्म म्याराथुन दौड आयोजना गरिएको थियो।
प्रतिक्रिया