मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

हिमालय खबर

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य विषयक छलफलमा वक्ताले उक्त धारणा राखेका हुन्।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए। विभिन्न मुलुकका लागि नेपालका तर्फबाट नियुक्त राजदूतले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा राखेका थिए।

सुरक्षा परिषदका सल्लाहकार एवं पूर्वमुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरूले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए।

मुख्यसचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतलाई शुभकामना दिँदै आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायसँगको सहकार्य पनि आवश्यक रहेको बताए।

यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने बताए। श्रम सचिव केवल भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए।

अर्थ सचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए। वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत भूमिका बढाउन आवश्यक रहेको बताए। यसैगरी अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो।

प्रधानमन्त्री कार्यालय सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्वपूर्ण रहने बताए।

पर्यटनसचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए। संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतलाई शुभकामना दिए।

सरकारका उच्चपदस्थ अधिकारी र नवनियुक्त राजदूुतको उपस्थिति रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नियोगहरूले सकारात्मकमात्र भए पनि निकै सहज अनुभव हुने बताए। ‘नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने।

धेरै उदीयमान र विकसित अर्थतन्त्रमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवर्द्धनका आधारमा राजदूतको मूल्यांकन हुने गरेको उनले बताए। यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको ढकालले बताए।

नवनियुक्त राजदूतका तर्फबाट बोल्दै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने बताए।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघ र नियोगको निरन्तर सहकार्य रहने बताए।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर वली, युएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीरल्यान्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ।