मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क : स्वास्थ्यमन्त्री बस्नेत

दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क : स्वास्थ्यमन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन् ।

औषधि व्यवस्था विभागले आयोजना गरेको फर्मासिस्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय भण्डार एवं अभ्याससम्बन्धी ‘क्षमता अभिवृद्धि तालिम’मा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा अन्य विभिन्न शीर्षकका बजेट घटाएर भए पनि नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क र प्रभावकारीको पहुँच अभिवृद्धि गरिने स्पष्ट पारे ।

‘मैले दुई वर्षभित्रमा हालकै स्रोतसाधन, चुहावट नियन्त्रण, फजुल खर्च र अनुत्पादक क्षेत्रको रकम कटौती गरेर भए पनि जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी बनाउने विषयमा जोड दिएको छु’, स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘हामी सबै ठीक ढङ्गले काम गर्न सक्यौँ भने मन्त्रालयको हालकै स्रोत र साधनबाट धेरै काम गर्न सकिन्छ ।’

मन्त्री बस्नेतले अहिले पनि देशभर गरिब, निमुखा र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आफू लागिपरेको भन्दै समाजमा त्यस्ता समस्यामा परेका व्यक्ति भए सम्पर्क गराइदिन पनि अनुरोध गरे । उनले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले भने, ‘धेरै स्वास्थ्यकर्मी दुर्गम गाउँसम्म नपुगेको सुगममा काज लिएको भन्ने गुनासो छ, भनसुन र पहुँचका आधारमा अब त्यो चल्दैन, बेथिति अन्य गरी थिति बसाल्न सबै लागौँ स्वास्थ्यकर्मीलाई गाउँसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिन्छु ।’

मन्त्री बस्नेतले हाल वीर अस्पतालमा लागू गरिएको बिहान ८ बजेदेखि सुरु हुने ओपीडी सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए । स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेथिति मौलाएको, मानवीय स्वास्थ्यमा जोखिम बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले फार्मेसी सञ्चालन र भण्डारण पारदर्शी नभएको कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरूप बिक्री वितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने बताए ।

मन्त्री बस्नेतका अनुसार मन्त्रालयले हालै काठमाडौं उपत्यकामा एक सय फार्मेसी अनुगमन गर्दा एउटा फार्मेसी मात्रै मापदण्डअनुसार सञ्चालन भएको पाइएको बताए । औषधिजस्तो संवेदनशील विषयको लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि मन्त्रालयले हदैसम्मको निर्णय लिने उनको भनाइ थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन २०३५ ले व्यवस्था गरेको उद्देश्य र मापदण्डअनुरूप औषधि बिक्री वितरण र भण्डारणलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागले अनुगमन र नियमनको कामलाई तीव्रता दिएको उल्लेख गरे ।

विभागले गरेको अनुगमनका क्रममा धेरै औषधि पसल बिना दर्ता सञ्चालनमा पाइएको र लागुऔषध र दुर्व्यसनीसम्बन्धी औषधि जथाभावी रूपमा बिक्री वितरण गरेकोले त्यस्ता औषधि पसललाई आवश्यक कारबाही गरिएको बताए ।

नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले मूल्य एकरूपता कायम गरेर देशका कुना(कुनासम्म सहजरूपमा औषधि अभाव हुन नदिन सङ्घले पहल गरिरहेको जानकारी दिए ।