मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक : प्रधानमन्त्री

विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताएका छन् । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्दै उनले तालमेलकै कारण विद्युतीकरणमा नेपालले फड्को मार्न सकेको बताएका हुन् ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनको समेत उद्घाटन गरेका थिए ।

“उत्पादन, प्रसारण र वितरण गरी तीनवटै कुराको बीचमा उचित तालमेल भएन भने अपेक्षा गरेअनुसारको नतिजा प्राप्त गर्न सकिँदैन” उनले भने । उत्पादन मात्रै गरेर नपुग्ने भन्दै प्रधानमन्त्री दाहालले उत्पादन अनुसारका प्रसारण लाइन निर्माण गर्नुपर्ने बताए ।

बढी भएको विद्युत्लाई अन्तरदेशीय व्यापार गरेर नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, “भारतसँग अन्तरदेशीय प्रसारण लाइनहरु पूर्व, मध्य र पश्चिम सबैतिर बन्दै गइरहेका छन् ।” यसले गर्दा हामीलाई चाहिएको समयमा लिने र धेरै भएको बेला बेच्ने दुवै काम गर्न सहज भएको उनले बताए ।

भारत भ्रमणको समयमा देश हजार मेघावाट १० वर्षभित्रमा व्यापार गर्ने सम्झौता भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रारम्भिक हस्ताक्षरसमेत भइसकेको बताए । विगत लामो समयदेखि प्रतीक्षा गरिरहेको बङ्गलादेशसँग विद्युत्् व्यापारको विषय अघि बढिरहेको उनले बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उत्पादनको क्षेत्रमा जसरी वृद्धि हुँदै गइरहेको छ सोही अनुसार भारवहन गर्न सक्ने प्रसारण लाइनको विकास र विस्तार गर्ने बताए । आन्तरिक खपतमा हुँदै गइरहेको वृद्धिलाई व्यवस्थित वितरण गरिने उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायले बोलेका थिए ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सवस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

उद्घाटन गरिएको हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइनको लम्बाइ करिब एक सय ४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौँडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सवस्टेसनबाट नयाँ भरतपुर सवस्टेसनसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई एक सय ३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सवस्टेसनबाट सुरू भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सवस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा सञ्चालन ल्याइएको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरू गरिएको थियो ।

हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आइकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक मह¤वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ ‘टेन्डर’ गरेको थियो । विसं २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो ।

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो । रासस