मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

यस्ता थिए प्रदीप गिरी

यस्ता थिए प्रदीप गिरी

हरिहर बिरही

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदीप गिरी मेरो गुरुतुल्य हुनुहुन्थ्यो । म भित्री ह्दयबाट उहाँलाई गुरु मान्दथे । उहाँले बनारसदेखी भिमसेनगोलासम्म सुनाएका धेरै कुरा मेरो लागि शिक्षा थियो । प्रदीप गिरीका कैयौं गुण र विशेषता अविस्मरणीय र उत्प्रेरक छन् । उहाँको विलक्षण प्रतिभा, ज्ञान र वौद्धिकताको अद्भुत भण्डार , असाधारण स्मरण शक्ति र अध्ययनशिलता, प्रभावकारी प्रस्तुति र निष्पृह जीवनशैली– कसै कसैलाई भविष्यमा किम्बदन्ती लाग्न सक्छ । आफूले प्रतिबद्धता व्यक्त गरेको मूल्य मान्यता, सिद्धान्त एवं नैतिकताप्रति अटल निष्ठाको प्रतिक हुनुहुन्थ्यो प्रदीप गिरी ।

प्रदीप गिरीको जीवनको पहिलो रोजाई राजनीति थिएन्र । उहाँ प्राध्यापक ,साहित्यकार वा दार्शनिक बन्न चाहनु हुन्थ्यो राजनीतिमा उहाँ पारिवारिक विरासतको कारणले लाग्नु भएको थियो उहाँका काका रुद्रप्रसाद गिरी नेपाली कांग्रेसको संस्थापक नेता मध्ये हुनुहुन्थ्यो भने पिता नेकाको जिल्ला सभापति सिरहाको बस्तीपुरस्थित उहाँको घर राजनीतिक गतिविधिको एउटा केन्द्र नै थियो  । २०१७सालको राजनीतिक परिबर्तनपछि पिता मित्रलाल गिरी नजिकैको सीमावर्ती भारतीय सहर दरभंगामा निर्वासित भएर बस्न थालेकाले प्रदीप त्यहाँ जाने आउने गर्नु हुन्थ्यो ्रत्यहीं सरोजप्रसाद कोइराला लगायत अन्य नेताहरु पनि बस्दथे ्रत्यहाँ पाएको शिक्षा र संगतले उहाँ राजनीतितर्फ आकर्षित हुनु भयो पिता २०२५ सालको आममाफीपछि घर फ़र्किएपश्चात् उहाँ अध्ययनकोनिम्ति बनारस जानु भयो र राजनीतिक गंगामा झ्याम्म हामफाल्नु भयो ्र उहाँ छोटो समयमै युवा जमातको केन्द्रबिन्दु बन्नु भयो । राजनीतिमा उहाँले व्यक्तिभन्दा संस्था, नेताभन्दा दल र दलभन्दा सिद्धान्तलाई माथि राख्नु भयो । उहाँ वैयक्तिक स्वतन्त्रता र नागरिक अधिकारलाई अत्याधिक महत्व दिनु हुन्थ्यो । उहाँले बरण गर्नु भएका सिद्धान्तको मूलमा थियो— मनुष्य र मानवीय स्वतन्त्रता । उहाँ राजनीतिमा, अझ नेपाली काँग्रेसमा, लाग्नुको मुख्य कारण यो थियो ।

उहाँको जीवन राजनीतिक वृत्तमा केन्द्रित रह्यो । पटकपटक सांसद र आफ्नो पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । तर यो वाहेक उहाँले अरु कुनै पदमा जान चाहनु भएन । मौका नपाएको होइन, तर यस्तो कुनै पनि प्रस्तावलाई उहाँले हाँसेर उडाइ दिनुभयो । मानिस पदले होइन, सिद्धान्त, विचार र चरित्रले ठूलो मान्छेहुन्छ र यस्तो वातावरणमा पदले मानिसको कद झन् घटाउँछ भन्ने उहाँले राम्ररी बुझ्नु भएको थियो । त्यसैले उहाँ पदलाई अर्थहीन मात्र होइन, आफ्नो लक्ष्यमा अवरोध नै ठान्नुहुन्थ्यो । उहाँ आफ्नो प्रशंसा रुचाउनु हुन्न थियो । उहाँ नेपाली काँग्रेसको लोकप्रिय र सम्मानित नेता भएकोले जसले पनि ‘नेता’ भन्नु स्वाभाविक हो । राजनीतिमा लागेकाहरु प्रायः आफुलाई कसैले ‘नेता’ भनी सम्बोधन गरेमा मख्ख पर्दछन्, तर प्रदीप गिरी कसैले आफुलाई नेता भनेको रुचाउनु हुन्न थियो । भन्नहुन्थ्यो—“यो शब्दको यति अवमूल्यन भएको छ कि मलाई कसैले ‘नेता’ भन्यो भने गाली वा व्यँग्ये गरे जस्तो लाग्छ ।” उहाँको व्यक्तित्व, बिचार र जीवनशैलीबाट प्रभावित मैले एकपल्ट उहाँ प्रमुख अतिथि र म विशिष्ट अतिथि रहेको सार्बजनिक कार्यक्रममा गिरीलाई मेरा आदरणीय गुरू भनी सम्बोधन गरेकोमा उहाँले मंचबाटै सबैले सुन्ने गरी प्रतिबाद गर्नु भयो -म उहाँको गुरु हैन है, साथी हु , पुरानो साथी !

समाजबादको दीपशिखा
प्रदीप गिरी समाजबादी चिन्तक हुनुहुन्थ्यो र समाजबादी मुल्यमान्यताको अनुशरण बाहेक देश र दुनियाँको कल्याणकालागि अन्य कुनै बिकल्प छैन भन्ने उहाँको दृढ बिश्वास थियो प्रदीप गिरी बहुमुखी प्रतिभाशाली व्याख्यता हुनुहुन्थ्यो । राजनीतिशास्त्र, इतिहास र दर्शनका ठेलीहरु उहाँको मस्तिष्कमा सँधै सल्बलाई रहेका हुन्थे । विरासत र वैयक्तिक स्वतन्त्रताको मोहले गर्दा राजनीतिमा पस्नुु भएका उहाँ लोकतन्त्र र सामाजवादको दीपशिखा बन्नु भयो । उहाँले आफ्नो जीवनको अधिकांश समय नेपालमा लोकतन्त्रको स्थापना र कार्यान्वयनको अभियानमा लगाउनु भयो । निर्वासनमा बस्नु भयो, काराबास व्यहोर्नु भयो र पार्टी तथा समाजलाई जगाउने काममा समर्पित हुनुभयो । लोकतन्त्र र समाजवादलाई सार्थक तुल्याउन तथा त्यसको अर्थ र उद्देश्य, मर्म र महत्वलाई जनजनमा पु¥याउन सबैभन्दा बढी योगदान गर्ने व्यक्ति, विश्वेश्वर प्रसाद कोइराला पछि, उहाँ नै हुनुहुन्थ्यो । वी.पी.झै उहाँ पनि ‘समाजवाद’ को पछाडि हाल प्रचलनमा रहेजस्तो ‘लोकतान्त्रिक’ शब्द जोड्ने आवश्यकता ठान्नु हुन्न थियो । उहाँ भन्नुहुन्थ्यो— लोकतन्त्र नभइ समाजवाद आउन सक्दैन र समाजवाद नभइ लोकतन्त्रले पूर्णता पाउन सक्दैन भन्ने इतिहासले प्रमाणीत गरिसकेको छ ।

कार्लमाक्र्स र लेनिनलाई प्रदीप गिरी सम्मान गर्नु हुन्थ्यो । माक्र्सले मानिसले भोगीरहेको शोषण र श्रमको महत्वप्रति दुनियाँको ध्यानाकर्षण गराएको तथा लेनिनले सामन्तवादविरुद्ध र समतावादी समाज निर्माण गर्ने बिगुल फुकेर परिवर्तनकामीहरुको मनोबल बढाएकोले समाजवादी आन्दोलनले उनीहरुलाई बिर्सन सक्दैन भन्ने उहाँको राय थियो । कोहीकोहीउहाँलाई कांग्रेसभित्रको मार्क्सबादीु भनी टिप्पणी गर्दथे । तर उहाँ मार्क्सका कमजोरीहरु कोट्याउन छोड्नु हुन्न थियो ्र माक्र्सले वर्तमान विज्ञान प्रविधिको यस्तो विकास, वर्गसंगै वर्णको भूमिका र विद्यमान समाजका चुनौतिहरुका कल्पना गरेका थिएनन्, त्यसैले माक्र्सवाद अधुरो छ भन्ने पनि उहाँको टिप्पणी हुन्थ्यो । गिरीले लेनिनबारे एउटा पुस्तक नै लेख्नु भएको छ, धेरै वर्ष अघि । लेनिनले समाजवादलाई लक्ष्य बनाएर क्रान्ति गरे तापनि सत्ता प्राप्ति पछि आफ्नो प्रतिवद्धता विपरित गएको र नागरिक स्वतन्त्रता नियन्त्रण गरेकोले रुसको क्रान्ति सही दिशाबाट भट्किएर कुख्यात अधिनायकवादमा परिणत भएको इतिहास उहाँ स्मरण गराईरहनु हुन्थ्यो । लेनिनको हतारो र महत्वकांक्षालेगर्दा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनलाई ठूलो धक्का लागेको र रोजा लक्जेमवर्ग लगाएत नेताहरुले देखाएको गल्ती सच्याउदै लोकतान्त्रीक सिद्धान्त र नैतिक मान्यता अनुसार काम गरेको भए विश्वले धेरै अघि समाजवादको स्वाद पाइसक्ने थियो भन्ने उहाँको ठहर थियो । समाजवादी आन्दोलनमा रोजा लक्जेमवर्गको भूमिकासंग नेपाली समाजलाई परिचित गराउने श्रेय पनि गिरीलाई दिए हुन्छ । उहाँले रोजा र डा. लोहियाबारे चार दशक अघि नै पुस्तकहरु प्रकाशित गर्नु भएको थियो । गिरी भन्नुहुन्थ्यो— ुसमाजवादको सन्दर्भमा माक्र्स, लेनिन र माओको नाम लिनै पर्दछ, तर महात्मा गान्धी, राम मनोहर लोहिया, रोजा र वी.पी. कोइरालालाई छोड्न मिल्दैन । यिनीहरुको बाटोमा हिड्न सकेको भए कम्तिमा नेपाल र भारत पूँजीवादको शरणमा जानै पर्ने थिएन । पूँजीवादले मानिस र समाजको शोषण मात्र गर्दछ, उद्धार गर्दैन । हाम्रो राज्य र समाजको यो अवस्था हुनुमा पूँजीवाद संगसंगै कम्युनिस्ट पनि दोषी छन् ।

 प्रदीप गिरी  र हरिहर बिरही
प्रदीप गिरी र हरिहर बिरही

गिरीले समाजबादबारे अनगिन्ति लेख लेख्नु भयो, सारगर्भित व्याख्यान, प्रबचन र अन्तर्बार्ताहरु दिनु भयो । प्रबचनकालागि प्रेमपूर्बक निम्ता गरेका ठाउँहरुमा जान सकेसम्म प्रयास गर्नु भयो । आफ्नो मन्तब्य टुंग्याउनु अघि उहाँ श्रोताहरुलाई प्रायः एउटा सल्लाह दिन बिर्सनु हुन्नथ्यो । भन्नुहुन्थ्यो – पहिले लक्ष्यमा स्पस्ट हुनु पर्दछ, अनि समयको गति, चुनौती तथा समाजको आबश्यकता र परिवेश अनुसार सिद्धान्त, नीति तथा कार्यक्रमको पुनरावलोकन र पुनर्परिभाषा गर्दै योजना बनाउनु पर्दछ । जडसुत्री र लकीरको फकिर बनेर लक्ष्य हासिल हुदैन । मार्क्स, लेनिन, माओ मात्र हैन गान्धी र बीपी पनि अपूर्ण छन् । भूमण्डलीकरण र खुला बजारको नाराको पछाडि दौडेर हामी गन्तव्यमा पुग्न सक्दैनौ भन्ने उहाँ बारम्बार दोहोर्याउनु हुन्थ्यो । नेपालको विकासको सन्दर्भमा उहाँ वी.पी.कोइरालाले सोच्नु भएको मोडेललाई नै उपयुक्त ठान्नु हुन्थ्यो । उहाँ प्रष्ट शब्दमा भन्नु हुन्थ्यो—“संविधानमा समाजवाद उन्मुख नीतिलाई मार्गदर्शक बनाउने, तर व्यवहारमा भने पूँजीवादी मार्ग नै पछ्याउने—यो देश र जनतालाई धोका हो । तर, दुर्भाग्य, आज सबै पाटीहर्रुको यही चरित्र बनेको छ ।” प्रदीप समाजवादको व्याख्यता मात्र हुनुहुन्थेन, उहाँले समाजवादका आदर्श र मान्यताहरुलाई आफ्नो जीवनमा उतार्न पनि सक्दो कोशिश गर्नु भयो । आज देशका प्रमुख राजनीतिक दलहरु गलत दिशामा हिडिरहेको उहाँको ठहर थियो ।समसामयिक अबस्थाबारे उहाँको विश्लेषण थियोे— २०४७ सालपछि मुलुकलाई सही बाटोमा हिडाउने मौका काँग्रेसले पाएको हो, तर उ त्यसै अल्मलियो । कम्यूनिस्टहरुको डरले पूँजीवादी दिशामा गयो । एमालेले काँग्रेसको गल्ती सुधार्नु पर्दथ्यो, तर उसले पनि त्यही सजिलो बाटो अपनायो । जनता यी दुबै पार्टीबाट दिक्क भएको मौका छोपेर जनपक्षिय क्रान्तिकारी नारा दिदै माओवादी आयो । माओवादीले केही राम्रो गर्न सक्थ्यो । अनावश्यक हिंसा, आतंक र व्यक्ति हत्या गरेर आएको भए पनि जनताले मत दिएर उसलाई सत्तामा पु¥याए । गरीब, निमुखा, उत्पीडित वर्ग—वर्ण र जातिको पक्षमा यसले ठोस कदम चाल्नै पर्दथ्यो । तर उ झन छिटै बिग्रियो । गिरी विद्यमान लोकतन्त्र, जनताको सर्वोच्चता र मौलिक अधिकारलाई कायम राखी संविधानलाई अहिलेसम्मको अनुभवको आधारमा परिमार्जन गर्नु पर्दछ तथा आम नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्ने नीति र कार्यक्रम ल्याएर दृढतासाथ लागु गर्नु पर्दछ भनी अन्तिम समयसम्म संसददेखि सडकसम्म चिच्याइरहनु भयो ।

न आश, न त्रास

प्रदीप गिरी प्रस्ट र प्रखर वक्ता हुनुहुन्थ्यो । उहाँ स्वार्थमुक्त नेता हुनुहुन्थ्यो ्र उहाँ गहन अध्ययन र विश्लेषणपश्चात आफ्नो धारणा बनाउनु हुन्थ्यो र एउटा निष्कर्षमा पुगेपछि त्यसमा अडिग रहनु हुन्थ्यो । व्यवहारमा उदार हुनुहुन्थ्यो,तर नीतिगत मामलामा बिपक्षीसंग मात्र हैन आफ्नै पार्टीका नेताहरुसंग पनि निर्भीकतासाथ कुरा राख्नु हुन्थ्यो । कैयौं कुरामा पार्टी र संसदकै निर्णयप्रति पनि उहाँले कठोर शब्दमा विमति जनाएको सबैले देखेका छन् । तर यस्ता विरोध र विमति सकारात्मक नतीजाको लागि हुन्थ्यो— विरोधकोलागि विरोध वा चर्चित हुनका लागि होइन । नेताहरुको संगठन सञ्चालन शैली, गुटवन्दी र पदमोह देखेर दिक्क मानेर उहाँ बराबर उपहास गरिरहनु हुन्थ्यो । एकपल्ट केन्द्रीय समितिमै उहाँले नेताहरु सामू ‘‘किसुनजीलाई आजीवन सभापति र गिरिजाबाबुलाई आजीवन प्रधानमन्त्री बनाउने घोषणा गरिदिउँ न ’’ भनेर गर्नुभएको ब्यङ्ग्य निकै चर्चिर्त भएको थियो । । एक समय प्रधानमन्त्री बन्न सांसदहरुको खरिद विक्री र अपहरण चलिरहेको अवस्थामा कांग्रेसले आफ्ना सांसद्हरुलाई होटेलमा राख्ने निर्णय गरेकोमा गिरीले ठाडै अस्वीकार गर्नुभयो । प्रधानमन्त्रीका प्रत्यासीले प्रदीपजीलाई मनाउन किसुनजीलाई अनुरोध गरे । किसुनजीले सामूहिक निर्णयको पालना गर्न स्नेहपूर्वक आग्रह गर्नुभयो । तर गिरीले आफ्नो अडान छोड्नु भएन । भन्नुभयो –यस्तो निर्लज्ज काम पनि कसैले गर्छ रु मलाई किन्न सक्ने शक्ति यो दुनियाँमा कोही छैन, तपाईं ढुक्क हुनुहोस् ।

गिरीले कतिपय प्रसंगमा वी.पी. कोइरालासंग पनि हाकाहाकी मतान्तर जनाउनु भएको थियो । बनारसमा उहाँहरुबीच बेला बेलामा वादविवाद र शास्त्रास्त्र भइरहन्थ्यो, राजनीतिक र अराजनीतिक विषयमा पनि । वी.पी. ले २०३० सालमा गरेको सशस्त्र क्रान्तिको आह्वानलाई गिरी ‘मूर्खतापूर्ण’ ठान्नुहुन्थ्यो र उक्त संघर्ष कदापि सफल नहुने भविष्यवाणी गर्नु हुन्थ्यो । यो विचार उहाँले वी.पी. सामु पनि राख्नु भयो र आफु सहमत नभए पनि पार्टीको कार्यक्रमलाई पूर्ण सहयोग गर्ने वचन दिनु भयो । यो वचन पूरा गर्न उहाँ दिलोज्यानले लाग्नु भयो । गिरी अहिंसाको पक्षधर हुनुहुन्थ्यो । उहाँ महात्मा गान्धीप्रति असीम श्रद्धा गर्नु हुन्थ्यो । आफुलाई “गान्धीवादी समाजवादी” भन्नु हुन्थ्यो । तर वी.पी. प्रतिको सम्मानले गर्दा उहाँले बम र हतियार किन्न, भण्डारण गर्न र गुप्तरुपमा नेपाल पठाउन पनि सक्रिय रहनु भयो ।

शक्तिशाली विस्फोटक पदार्थहरु उहाँकै डेरामा पनि राखिएको थियो । राजनीतिक छलफलमा कोइराला कम्युनिस्टहरुको कडा आलोचक हुनुहुन्थ्यो भने गिरी केही सकारात्मक । कोइरालाको तर्क हुन्थ्यो—ुउनीहरु अहिले पनि माओभन्दा अगाडि बढ्न सकेका छैनन् । माक्र्सका कुरा पनि राम्ररी बुझिरहेका छैनन् । लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिप्रति प्रतिवद्धता नभएको कम्युनिस्ट पार्टी कुनै पनि बेला राजा वा विदेशीको हतियार बन्न सक्छ । यिनीलाई अस्थिरतावादी र अराजकतावादीले प्रयोग गर्न सक्छन् । हाम्रै बिरुद्ध लाग्न सक्छन् । त्यसैले उनीहरु राजनितिक रुपमा लोकतन्त्र र नागरिक अधिकारको मामलामा प्रस्ट नभएसम्म सहकार्य गर्नु घातक हुन सक्छ ।ु तर गिरी भने कम्युनिस्टसंग कार्यगत एकता गर्दै जाने हो भने उनीहरु बिस्तारै ठीक ठाँउमा आईहाल्छन् नि भन्दै काँग्रेस र कम्युनिस्ट नजिक भएमा राजा डराउने र काँग्रेसको छवि प्रगतिशील बन्ने सम्भावना रहेको विचार व्यक्त गर्नुहुन्थ्यो । प्रदीप वी.पी. लाई बजारमा आएका नयाँ र उपयोगी पुस्तकहरु उपलब्ध गराईरहनु हुन्थ्यो । एकपल्ट सारनाथमा झोलाभरि पुस्तक लगेर वी.पी. लाई दिदै प्रदीप भनिरहनु भएको थियो – ‘‘कुनै कुनैमा मैले अण्डरलाइन पनि गरेको छु । त्यो जरुर पढ्नु होला । सबै पुस्तक महत्वपूर्ण छन् , पढे जस्तो मात्र नर्गनु होला । कुनैमा अंग्रेजीका नयाँ र क्लिष्ट शब्द पनि छन्, मन परेको कुरा र नबुझेको शब्द अण्डरलाइन गर्नु भए पनि हुन्छ ।”

वी.पी. कोइराला, प्रदीप गिरीलाई आफ्नै परिवारको सदस्यझैं स्नेह गर्नु हुन्थ्यो । हौसला बढाउनु हुन्थ्यो । गिरी पनि मतान्तरका बाबजुद उहाँको प्रशंसक हुनुहुन्थ्यो । उहाँका हरेक निर्णय र सल्लाहलाई शिरोपर गर्नु हुन्थ्यो । पछिसम्म पनि राष्ट्रियता, समाजवाद, माक्र्सबाद, सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रताजस्ता विषयमा उहाँका अभिव्यक्तिमा वी.पी.को प्रतिबिम्ब देखिन्थ्यो । उहाँले लगभग ५० वर्ष अघि नै वी.पी. कोइरालाको संक्षिप्त जीवनी लेख्नु भएको थियो । गिरीले बनारसमै ‘‘लोकतन्त्रः राजतन्त्र” पुस्तक मार्फत वी.पी. को परिकल्पना र प्रय्रत्नलाई जनता माझ पु¥याउनु भएको थियो भने २०६६ सालमा ‘विश्वेश्वर प्रसाद कोइरालाका राजनीतिक अभिलेखहरुु संकलन र प्रकाशन गरेर अध्यताहरुलाई बहुमुल्य उपहार दिनु भयो । वी.पी.को विचार, व्यक्तित्व र विशेषताहरुलाई उजिल्याउन उहाँले निक्कै प्रयत्न गर्नु भयो । यस धरतीबाट विदा हुनुभन्दा केही अघि पनि उहाँ सार्वजनिक रुपमा भनिरहनु भएको थियो —‘‘वी.पी. भन्दा ठुलो र आदरणीय मानिस नेपालले बुद्धपछि आजसम्म अर्को जन्माएको छैन । बुद्ध त राजाका छोरा थिए । जनतावीच यति श्रद्धा लायक मानिस नेपालमा अर्को कोही जन्मिएको छैन ।”

प्रदीप कुनै पनि नेता, कुनै पनि विचारकको अन्धभक्त हुनुहुन्न थियो । उहाँ कसैलाई पनि पूर्ण सत्य मान्नु हुन्न थियो । हरेक व्यक्ति, वाद र विचारलाई केस्रा केस्रा पारेर परिक्षण र मुल्यांकन गर्नु हुन्थ्यो । कृष्णप्रसाद भट्टराईप्रति उहाँमा अगाध प्रेम थियो । भट्टराईको त्याग, तपस्या, इमान्दारी र देशभक्तिको उहाँ महिमा गाउनु हुन्थ्यो । प्रेम र श्रद्धाको कारण भट्टराईका कतिपय कमजोरी देखेर पनि उहाँले आँखा चिम्लिदिनु हुन्थ्यो । तर अन्तरंग छलफलमा ‘‘सन्त नेता” प्रति पनि व्यंग्य र टिप्पणी गर्न चुक्नु हुन्न थियो । गिरिजा कोइराला र गिरीको बनारसमा फाटेको मन पछिसम्म पनि जोडिएन । गिरी कोइरालाको कठोर आलोचक हुनुहुन्थ्यो, तर कोइरालाको साहस र संगठन कौशलको प्रशंसा गर्नु हुन्थ्यो । सबै दलका समकालिन सबै नेताहरुसँग उहाँको घनिष्ट सम्बन्ध थियो । तर, उनीहरुले देश र जनताको हित र पार्टीको सिद्धान्तभन्दा सत्तालाई पहिलो प्राथमिकता दिए भनी उहाँ वारम्वार आक्रोश ब्यक्त गर्नु हुन्थ्यो । उहाँलाई युवाहरुमाथि ठुलो भरोसा थियो । त्यसैले उहाँ युवाहरुको जमात देख्नासाथ त्यसभित्र प्रवेश गरिहाल्नु हुन्थ्यो । व्यक्तिगत र सामुहिकरुपमा भेटेर पनि उनीहरुको रुचि अनुसार राजनीतिक—गैरराजनीतिक, कुनै पनि विषयमा सारगर्भित छलफल गर्नु हुन्थ्यो । उहाँ उनीहरुको भावना सुम्सुम्याउनु हुन्थ्यो र हौसला बढाउनु हुन्थ्यो । ‘‘युवाहरुले आफुले चाहे अनुसारको परिवर्तन गर्न सक्छन्, तर यसको लागि उनीहरुले डर र लोभ त्याग्नु पर्दछ, आनीबानी सुधार्नु पर्दछ,” भन्ने उहाँको सल्लाह हुन्थ्यो ।
समसामयिक राजनीतिको प्रसंगमा प्रदीप गिरीको टिप्पणी हुन्थ्यो –यो व्यबस्थालाई ‘लोकतन्त्र’ भनिएको छ । तर व्यबहारमा ‘लोक’ लाई छोडेर ‘तन्त्र’ चलाउने काम भइरहेको छ । लोकतन्त्र नभएर ‘दलतन्त्र’ छ र दलतन्त्र ‘बृद्धतन्त्र’ मा परिणत भएको छ । कुनै पनि पार्टीमा आन्तरिक लोकतन्त्र छैन । बृद्धतन्त्र अन्त्य नगरेसम्म आन्तरिक लोकतन्त्र आउने छैन

सहज,सरल र स्वतन्त्र जीवनशैली
प्रदीपजीलाई मैले सर्वप्रथम २०३० सालमा बनारसमा भटेको हो । २०२७ सालमा जनकपुरमा राजा महेन्द्रको जन्मोत्सवमा विरोध प्रदर्शन गर्दा राजकाज मुद्दामा करीब एक वर्ष जेल बसेर म रिहा हुनासाथ जनकपुरका हाम्रा तत्कालिन सर्वाधिक सक्रिय नेता बोधप्रसाद उपाध्याय (दादा) ले ‘तिमी बनारस गएर विश्वेश्वर बाबुलाई भेट, अनि त्यहाँ प्रदीप गिरीलाई पनि भेट्नु’ भनेर पठाउनु भयो । वी.पी.लाई भेटें, तर प्रदीपजी शायद अन्त कतै जानु भएको थियो, भेट भएन । २०३० सालमा फेरि वी.पी. लाई भेट्न जाँदा खोजेरै उहाँलाई भेटें । २०३१ देखि ३३ साल सम्म म वी.पी. को निर्देशन अनुसार भारतमा—धेरैजसो बनारसमा—बस्दा भने प्रदीपजीसंग निकटता बढ्यो । पहिलो भेटमै उहाँले आकर्षित गर्नुभयो । त्यसबेला म २१–२२ बर्षको थिएँ भने प्रदीपजी म भन्दा करिब ८ वर्ष जेठो हुनुहुन्थ्यो ।

प्रदीपजी वी.पी.ले मलाई नेपाली काँग्रेसको मुखपत्र ‘तरुण’, जस्को सम्पादक शैलजा आचार्य हुनुहुन्थ्यो, को सम्पादक मण्डलमा सामेल गरेपछि बस्न थालिएको दुध विनायक नजिकको ब्रह्मघाटस्थित आर्यभूषण प्रेसमाथि रहेको हाम्रो डेरामा आइरहनु हुन्थ्यो । त्यहाँ ४—५ जना वस्थ्यौं । सबैको कोठा कोठा छुट्टाछुट्टै थियो । गिरीले अन्तै छुट्टै फ्ल्याट लिनु भएको थियो । कुरा गर्दागर्दै रात प¥यो भने उहाँ अलि टाढा रहेको आफ्नो सुबिधा सम्पन्न आवासमा नगएर मेरो कोठामा सुति दिनु हुन्थ्यो । राती दुई—तीन बजेसम्म अनेक विषयमा धाराप्रवाह देश–दुँनियाका गफ गर्नु हुन्थ्यो । बिहान पख सुतेर उहाँ १२–१ बजे उठ्नु हुन्थ्यो । कहिले बजार घुमाउन लैजानु हुन्थ्यो, सिनेमा वा नाटक देखाउनु हुन्थ्यो, कुनै पुस्तक पसलमा घण्टौं विताउनु हुन्थ्योे,पुस्तक छानेर ।

कतिपय पसलेले उहाँलाई रुचिकर लाग्ने प्रकारका नयाँ पुस्तक पहिले नै छुट्याएर राखिदिएका हुन्थे । उहाँ छानीछानी झोलाभरि पुस्तक हाल्नु हुन्थ्यो र पैसा दिनु सट्टा भन्नु हुन्थ्यो—‘‘पहिलेको उधारो खातामा यो पनि थपिराख्नुस् है, हप्ता दश दिनमा सबै चुक्ता हुन्छ ।”उहाँ दिनमा एक मुठ्ठी सुपारी खानु हुन्थ्यो । खाँदा बस्दा जुन बेला पनि अर्थपूर्ण गफ हुन्थ्यो । रोचक, ज्ञानवद्र्धक । उहाँले गर्ने गफ राजनीतिक मात्र हुँदैनथे । राजनीतिका अतिरिक्त साहित्य, इतिहास, दर्शन, धर्म,प्रेम,सिनेमा, सामाजिक रीतीथिती, संस्कार–सम्यता, संस्कृति, व्यक्ति व्यक्तित्व, कृष्णचरित्र, महाभारत, रामायण, विश्वयुद्ध, वी.पी. कोइराला, महात्मा गान्धी, नेहरु, लोहिया, जयप्रकाश नारायण, बिबेकानन्द, आईन्सटाइन, नित्से, फ्रायड, चर्चिल, काँग्रेस र कम्युनिस्ट पार्टीका राष्ट्रिय अन्तराष्ट्रिय व्यक्तित्वहरु, सिनेमा, नाटक, गजल, शायरी, दोहा, संगीत, प्रेम, गीता, भागवत, बेद, कुरान, बाइबल, भानुभक्त, तुलसी दास, टि.एस. इलियट, टायनवी, मिर्जा गालिब, फैज अहमद फैज, इकबाल, रविन्द्रनाथ, लिलाधर जगुडी, दुश्यन्त कुमार आदि इत्यादी । यस्तो लाग्दथ्यो, उहाँले नपढेको र नजानेको कुनै विषय छैन । पढेको, सुनेको र जानेको सबै कुरा उहाँको जिब्रोको टुप्पोमा हुन्थ्यो । बेजोड स्मरण शक्ति । उहाँको व्याख्यान कला झन रोचक र प्रभावकारी थियो । उहाँले महभारत सुनाउँदा सञ्जय वा ब्यासले भन्दा जीवन्त ढंगले वर्णन गर्नुहुन्थ्यो । दोस्रो विश्वयुद्धको इतिहास, पृष्ठभूमी र घटनाक्रम यसरी सुनाउनुहुन्थ्यो कि लाग्थ्यो, उहाँपनि त्यसबेला कुनै ट्यांकभित्र आफै बसेर लडाँई हेरिरहनुभएको त थिएन । प्रत्यक्ष प्रसारणजस्तो । तर जे विषयमा कुरा गरेपनि जहिले पनि उहाँ प्रायः सकारात्मक पक्षलाई बढी उजागर गर्नुहुन्थ्यो । ठोस आधार र प्रमाण बेगर उहाँले कसैको आलोचना गर्नुभएन ।

राजनीतिक नेताहरुमा उहाँ बीपी कोइरालासँग बढी प्रभावित हुनुहुन्थ्यो भने सुवर्ण शमसेर, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईको प्रशंसा गरिरहनुहुथ्यो । भारतीय नेताहरुमा जबाहरलाल नेहरुको अध्यनशीलता र नारी प्रतिको मोहको बढी चर्चा गर्नुहुन्थ्यो भने राजनीतिक दृष्टिले डा. राममनोहर लोहिया, जयप्रकाश नारायण,अशोक मेहता र आचार्य नरेन्द्रदेवलाई वैचारिक गुरु मान्नुहुन्थ्यो । यी भारतीय समाजवादी नेताहरु पनि सत्ताभन्दा सिद्धान्तलाई प्राथमिकता दिन्थे । यिनीहरु पनि सत्तामा जान चाहेनन् । गिरी महात्मा गान्धीलाई ‘महानतम् मानव’ भन्दै आफूलाई गान्धीवादी समाजवादी भन्न रुचाउनुहुन्थ्यो । तर गान्धीको बाटोमा आफू हिँड्न नसक्ने उहाँले सार्वजनिकरुपमै प्रष्ट गर्नुभएको छ ।

बनारसमा त्यहाँका मानिसलाई उहाँ त्यहीको हो जस्तो लाग्थ्यो । भारतीय राजनिति र त्यहाँका नेताहरुबारेस्थानिय राजनितिक कार्यकता र बुद्धिजीबीहरुभन्दा उहाँ ज्यादा जानकार मानिुनु हुन्थ्यो । समाजवादीहरु त उहाँलाई आफ्नै पार्टीको सिद्धान्तकार युवा नेता ठान्दथे । समाजवादी धारका युवा नेताहरु उहाँलाई गुरु र नेता सरह सम्मान गर्दथे, खुट्टा छोएर अभिवादन गर्थे । नेपाली छात्र संघ र बनारस हिन्दु विश्वविद्यालयको युनियनको निर्वाचनमा उहाँको निर्णायक भूमिका हुन्थ्यो । कैयाँै बरिष्ठ लेखक–साहित्यकार र बुद्धिजिवीहरुसंग उहाँको घनिष्ठ सम्बन्ध थियो । दिल्ली लखनउतिरबाट आएका कतिपय बुद्धिजिवी र लेखकहरु उहाँसंग लामै समय बिताउन खोज्थे । कहिलेकाँही त उहाँ एकान्त खोज्दै आएका लेखक ( कविलाई आफ्नो फ्ल्याटको साँचो दिएर आफुचाँही अरु साथीकहाँ बस्न जानुहुन्थ्यो । त्यस्तो साथी मध्ये म पनि एक थिएँ । यस्तै बेला उहाँले आफु र शैलजा आचार्यबिच प्रेम सम्बन्ध रहेको बताउदै हाल त्यसमा व्यबधान उत्पन्न भएको रहस्य पनि खोल्नु भएको थियो । उहाँका अनुसार दुवैजनाको त्यो पहिलो प्रेम थियो । त्यस समय शैलजा वी.पी. संगै सारनाथमा बस्नु हुन्थ्यो । मलाई लाग्छ, वी.पी.ले ज्यादा भेट्न नचाहेपनि प्रदीपजी पुस्तकहरु लिएर उहाँ कहाँ जानुको पछाडि सायद दुई कारण थिएःस् पहिलो, वी.पी.लाई रिझाउनु र अर्को शैलजासंग भेट्ने आशा । तर वी.पी. गिरीलाई प्राय बैठक कोठाबाटै बिदा गरीदिनु हुन्थ्यो ।

 प्रदीप गिरी  र हरिहर बिरही
प्रदीप गिरी र हरिहर बिरही

बनारसमा रहेका नेपाली युवा विद्यार्थीहरु उहाँसित झुम्मिन्थे । काँग्रेसका युवा नेताहरुमा सबैभन्दा लोकपृय उहाँ नै हुनुहुन्थ्यो । तर पछि उहाँको त्यहाँ बसाई सुखद रहेन । कतिपय कारणले उहाँ केही तनावमा पर्नु भयो । बी.पी. कोइरालासंग कुनै अराजनीतिक कारणले सम्बन्ध चिसिएपछि गिरी झन्नै एक्लोजस्तै हुनु भयो । आफ्नो पार्टीकै साथीबाट उहाँले अपमान र आक्रमण झेल्नु प¥यो । गिरी एकपल्ट वी.पी. संग चित्त दुखाएर फन्केर बनारसबाट कतै जानु भयो । बीपीबाट पनि आफुले न्याय नपाएको उहाँको गुनासो थियो ्र केही समयको अज्ञातवास पश्चात जयप्रकाश नारायणको नेतृत्वमा बिहारमा चलेको “सम्पूर्ण क्रान्ति” मा उहाँ प्रकट हुनुभयो ।

२०२६ सालमा गिरफ्तार भएर १८ महिनापछि नख्खु जेलबाट रिहा हुनु भएका उहामाथि पंचायत कालमा धेरैवटा मुद्दा थिए, त्यसैले तत्काल नेपाल आउन सम्भव थिएन । उहाँ २०३६ सालको जनमत संग्रह ताका वातावरण केही खुकुलो हुनासाथ स्वदेश फर्कनु भयो ।

प्रदीप गिरी आफ्नो ज्ञान, अनुभव र धारणा अरुलाई बाड्न सदैव तत्पर रहनु हुन्थ्यो । उहाँले बुद्धिजिवी र प्रेस जगतको महत्व बुझ्नु भएको थियो । भारतमा रहँदा र नेपाल आएपछि पनि उहाँको बोद्धिक समाज र पत्रकारहरुसंग आत्मीयतापुर्ण सम्बन्ध रहयो । नेपालमा पठन–संस्कृतिको विकास नभएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । विचार प्रधान पठनीय प्रकाशन नभएकाले समाजवादी विचारधारालाई जनजनमा पु¥याउने ध्येयले २०३८ सालपछि आफैले पत्रिका निकाल्ने पनि जमर्को गर्नु भयो । श्रीमती भारती सिलवाल गिरीको सहयोगले प्रेस स्थापना गर्नुभयो्र्र साप्ताहिक ‘अक्षर’ र मासिक ‘समता’ को प्रकाशन प्रारम्भ गर्नु भयो । उहाँका भाइ शेखर गिरीले अक्षरको सम्पादक बनेर सक्दो सहयोग गरे । समाजवादी साहित्यलाई बढावा दिन एउटा बलियो प्रकाशन गृह नै चलाउने गिरीको धोको थियो । शुरु पनि गर्नु भयो– समता प्रकाशन्र, तर व्यवहारिक कारणले गर्दा त्यो धेरै अघि बढ्न सकेन । भारतबाट नेपाल फर्केर काठमाडौँलाई मुख्य कर्मक्षेत्र बनाउने निधो गरेको केही समय पश्चात तत्कालीन संचारकर्मी भारती सिलवालसँग भएको भेटघाट छोटो समयमै हार्दिकतामा परिणत भयो । संगै बस्न थालेपछि दुबैजना प्रेममा बाधिए र लामो सहकार्यपश्चात श्रीमान–श्रीमती घोषित भए । तर घर गृहस्थी तथा परम्परागत पारिवारिक परिधिमा सीमित हुन दुबैले चाहेनन् । अनि फेरी शुरु भयो गिरीको आफ्नै शैलीको ुस्वतन्त्रु जीवन ।

प्रदीपजीले न कहिले सुख खोज्नु भयो, न कहिले दुख महसुस गर्नु भयो । जस्तो बाताबरणमा पनि मस्त । जेलमा होस् वा निर्बासनमा, बनारस होस् वा काठमाण्डु , सधै आफ्नै बिबेकको जीवन जिउनु भयो । उहाँ वैयक्तिक स्वतन्त्रताको कट्टर पक्षधर मात्र हुनुहुन्न थियो, आफ्नो विचारलाई जीवनमा उतार्न सक्दो प्रयत्न पनि उहाँले गर्नुभयो । निश्छलता र खुलापन उहाँका विशेषता थियो । छलफल र विमर्शमा उहाँको असाध्य रुचि थियो । उहाँ कहाँ पार्टीका कार्यकर्ता र विचार मिल्ने वा नमिल्ने साथी र बुद्धिजीवीहरुको जमघट भइरहन्थ्यो । कहिले त घरमा खाने सामग्री भए नभएको थाहै नभइ साथीहरुलाई ‘‘डिनर समेत गर्ने गरी” डाक्नु हुन्थ्यो । निम्तालु आइसकेपछि तिनलाई आफुले खाने गरी बोलाएको संझिनु हुन्थ्यो । अनि रमाइलोसंग भन्नु हुन्थ्यो–‘घरमा त चामल, दाल र आलु मात्र रहेछ, के गर्ने ? तपाईहरुसंग अलिअलि पैसा होला नि ? ल, तपाई एक बोतल हिव्स्की किनेर ल्याउनुस्, तपाईले स्न्याक्स ल्याउनु प¥यो र तपाईले भोलि औषधी किन्न अलिकति पैसा त्यो केटालाई दिएर जानु होला । आज मसंग पैसा पनि छैन भन्ने यादै रहेन !’ सबैजना खुशीसाथ आफूलाई जिम्मा दिए भन्दा बढी नै योगदान गर्दथे । उहाँको खुला हृदय देखेर सबै रमाउथे । रमाइलो वातावरणमा रात बित्दथ्यो । सबै कामना गर्दथे– यस्तो अवसर बारम्बार आइरहोस् !

कुनै सभा होस वा कोठे जमघट, ती ठाँउमा प्रदीप गिरी पुग्नासाथ वातावरणमा अर्कै प्रकारको रौनक छाँउथ्यो । उहाँले लोकतन्त्रवादी र बामपन्थी राजनीतिकर्मीहरुलाई औपचारिक प्रशिक्षण पनि दिनुभयो । भारतका समाजबादीहरु समाजबादबारे गिरीको प्रबचन सुन्दा दंग पर्दथे ्र उहाँ साहित्यिक–सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदा निकै रमाउनु हुन्थ्यो र कुनै पनि विषयमा रोचक व्याख्यान दिएर सबैलाई मन्त्रमुग्ध पार्नु हुन्थ्यो्रे ।

उहाँले कृतिमतालाई आफ्नो जीवनमा पटक्क स्थान दिनु भएन । खानपिनमाझैं पहिरनमा पनि सजिलो, सुबिधा र सादगी उहाँको रोजाइमा पर्थथ्यो । उहाँमा अभिमान, अहंकार र देखावटीपन किंचित थिएन । उहाँले आफ्नो मौलिकता अन्तिम समयसम्म कायम राख्नु भयो । समाजमा चलिआएका कतिपय परम्परालाई तोडेर विवेक र समाजवादी मान्यतालाई अनुशरण गर्न प्रोत्साहित गर्नु भयो । अपरिग्रह उहाँको एउटा अनुकरणीय विशेषता थियो । उहाँले आफ्नो निम्ति कुनै पनि कुरा जम्मा गर्नु भएन, पुस्तकहरु बाहेक । उहाँ कुनै पनि लोभ र आकर्षणबाट टाढा रहनु भयो । एउटा सच्चा साधुको सोच र स्वभाव थियो उहाँको । गृहस्थ भेषमा रहेको जोगी, सन्यासी, फकीरजस्तो । पिता–पुर्खाको वारेशको हैशियतले प्राप्त सम्पतिप्रतिसमेत उहाँले मोह राख्नु भएन । संधै सरल, सहज र स्वतन्त्र जीवन जिउनु भयो । समाजवाद भनेको राजनीतिक र आर्थिक पद्धति मात्र नभएर सबैको जीवनशैली र संस्कृति पनि हो भन्ने पाठ दिएर तथा प्रेम र श्रद्धा लिएर २०७९ साल भदौ ४ गते ( २०२२ अगस्त २० ) जानु भयो प्रदीप गिरी ।

देश, जनता र सिद्धान्तप्रति समर्पित नेतालाई उहाँको प्रथम बार्षिक पुण्यतिथिको अबसरमा हार्दिक श्रद्धान्जलि !