मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   

एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल

एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल


-हिमालयखबर संवाददाता
काठमाडौँ । विदेशमा बस्ने नेपालीको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि काठमाडौँमा सम्भावित समीकरणबारे छलफल भइरहेका छन् ।

अध्यक्षलगायत अन्य पदका महत्त्वपूर्ण पदका आकांक्षीहरुबीच छलफल भइरहेको हो । अध्यक्षका आंकाक्षी महेश श्रेष्ठ र डा. केशव पौडलमध्ये एक जना मात्र अध्यक्षको उमेदवार बन्ने बारेमा विभिन्न चरणमा वार्ता भइरहेको बताइएको छ ।

अध्यक्ष पदका लागि महेश, डा. केशव, आरके शर्मा, डा बद्री केसी, रवीना थापा लगायतले उमेदवारी दिने बताएका छन् । यसमध्ये महेश, डा. केशव र आरकेमध्ये एक जना मात्र उमेदवार बनाउन प्रयास भइरहेको छ । विभिन्न देशमा सञ्जाल रहेको एनआरएनए करिब एक लाख सदस्य भएको संस्था हो ।

केही साताअघि वर्तमान अध्यक्ष डा. बद्री केसीले पनि डा केशवलाई अनौपचारिकरूपमा मिलेर जाने प्रस्ताव राखेका थिए । महेश, डा. केशव र आरके नेपाली कांग्रेस पार्टीसँग निकट भएकाले पार्टीलाई समेत विश्वासमा लिई एक जना उमेदवार बन्नेगरी छलफल भइरहेको बताइएको छ ।

अध्यक्षसँगै महासचिवमा पनि कांग्रेसको समर्थनमा बनाउनेगरी समीकरणका बारेमा पनि छलफल चलिरहेको छ । अध्यक्षमा महेश र महासचिवमा बुद्धि सुवेदीबीच समीकरणको पहल पनि भइरहेको बताइएको छ । यो समीकरणलाई कांग्रेस पार्टीको समर्थन जुटाउने गरी पहल भएको हो । तर, यसबारेमा औपचारिक निर्णय भइसकेको छैन ।

‘वार्ता भइरहेको छ, कुनै निष्कर्ष आएको छैन’, समीकरणको जोडघटाउमा संलग्न एकले भने, ‘डा केशव, सुवेदीलगायत महत्त्वपूर्ण पदका कयौँ आकांक्षी अहिले काठमाडौँमा छन् ।’

महासचिवमा वर्तमान महासचिव गौरीराज जोशीले पुनः दोहोर्‍याउने तयारीमा छन् । सामाजिक सञ्जालमा पुनः उमेदवार बन्ने आशय आएपछि जोशीले अहिलेसम्म औपचारिकरूपमा उमेदवारी घोषणा गरेका छैनन् । तर, महासचिवमै एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धि सुवेदीले भने औपचारिकरूपमा उमेदवारी घोषणा गरेर जोडघटाउको समीकरणमा व्यस्त छन् । अमेरिकाबाट महासचिवमा दुई जना उमेदवार हुँदा निर्वाचन प्रक्रिया पुनः विवास्पद हुने हो कि भन्ने शंका पनि उठेको छ ।

दुई वर्षअघि महासचिव पदमै अमेरिकाबाट डा. केशव र गौरीले उमेदवारी दिने घोषणा गरेपछि चुनाव विवादमा तानिएको थियो । अहिले दुवै जना एनआरएनएका महासचिव छन् । अब विधानअनुसार एक जना मात्र महासचिव हुने व्यवस्था छ ।

अमेरिकामा सामाजिक सञ्जालमा उमेदवार घोषणा गर्नेको लर्को नै लागेको छ । अध्यक्षदेखि उपाध्यक्ष, महासचिवलगायत अन्य विभिन्न पदमा आकांक्षीहरु देखिएका छन् । धेरै जना उमेदवार बन्न खोजेपछि जो जस्तो पनि पदै खोज्ने भन्ने गुनासो पनि सुनिन थालेको छ ।

दुई वर्षअघि उमेदवारको संख्या अत्यधिक भएपछि चुनाव नगरी अप्रजातान्त्रिक बाटोबाट तीन जना अध्यक्ष, दुई महासचिव लगायतका विधानमै नभएका पद सृजना गरिएको थियो । धेरैलाई पद दिन हचुवाका भरमा विधान नै परिवर्तन गरिएको थियो ।

तर, यो सुत्र निकै आलोचनात्मक बन्यो । यसले काम पनि गर्न सकेन । असफल भयो ।