मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

७४ जिल्लामा १३ हजार डेङ्गु सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

७४ जिल्लामा १३ हजार डेङ्गु सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए। उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे।

“दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा मरासिनीले भने, “डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ”

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा सात हजार सङ्क्रमित

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन्।

यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६, दार्चुलामा एक सय ९४, सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् । यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।

महाशाखाले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । रासस