चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई आफ्नो सिर्जना र क्षमतालाई राष्ट्रको पक्षमा र विकासमा देशभित्रै नयाँ गति पैदा गर्न अपिल गरेका छन् ।
चितवनको भरतपुर–२२, पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली युवाभित्र अन्तर्निहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको बताए ।
‘बिस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सिर्जना र क्षमतालाई राष्ट्रको पक्षमा, राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’ उनले भने ।
आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए ।
प्रधानमन्त्रीले दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु ।’
उनले भने, ‘जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिँदैन ।’ प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजना कसरी देशभित्र विकास गर्ने भन्नेतर्फ केन्द्रित रहेको उनले बताए ।
कृषिको विकासका लागि मल कारखानासमेत खोल्ने तयारीमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपालले बंगलादेशसँग विद्युत् व्यापारको सम्झौता गरेको र भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश पठाउने सहमति भएको बताए ।
यसैगरी उनले नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भारत भ्रमणका क्रममा कुरा भएको बताए । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’, उनले भने ।
कर्णाली चिसापानी र बूढीगण्डकी विद्युत् अयोजना छिट्टै अगाडि बढाउने निर्णय भएको बताउँदै उनले एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भैरहेको बताए ।
‘हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिटर लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ । म छिट्टै चीन भ्रमणमा जाँदैछु अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोडर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ’, प्रधानमन्त्रीले भने, ‘चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताइन् ।
उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताए । कार्यक्रममा भरतपुर वडा नं–२२ का वडाध्यक्ष विष्णुराज महतो र सम्मानित कृषक लेखनाथ भूषालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका विभिन्न विधाका सफल छ जना कृषकहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा भरतपुर–१९ की किसान चम्पा तामाङ, भरतपुर–२५ का तरकारी व्यवसायी लेखनाथ भूषाल, भरतपुर–२ का सैलुन व्यवसायी रमेश लामा, पुष्पखेती किसान तथा व्यवसायी भरतपुर–७ का सुलभ श्रेष्ठ, टेलिस डेरी उद्योगका सञ्चालक सन्दीप पौडेल र प्राविधिक क्षेत्रको नवप्रवद्र्धनमा सक्रिय इन्जिनियर सुनिल यादव रहेका छन् ।
भरतपुर महानगरपालिका युवा दिवसको अवसरमा सप्ताहव्यापीरूपमा कार्यक्रमहरु गरेको थियो । कार्यक्रमका उत्कृष्ट सहभागीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । सो अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो ।












प्रतिक्रिया