नेपालस्थित समता स्कूललाई सहयोग जुटाउने अभियानका क्रममा जोडिएका समता स्कूलका संस्थापक उत्तम संजेल र अमेरिकास्थित मूनाफारहित संस्था ‘समता ग्लोबल सिनेट’का अध्यक्ष उत्तम गौलीबिचको विवाद र दुबैले टिभी सन्डे डटकमसँग गरेको कुराकानी सार्वजनिक भएसँगै उत्कर्षमा पुगेको छ। आर्थिक मामिलालाई लिएर उब्जिएको यी दुइ बिचको विवाद अहिले कल्पनानै गर्न नसकिने गरि उत्कर्ष बिन्दुमा पुगेको छ ।
समता स्कूलका संस्थापक संजेलले गत वर्षको नोभेम्बर महिनामा अमेरिकाको १० सहरहरुमा ‘सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)’ भन्ने मूल नाराका साथ समता स्कूलको सहयोगार्थ आयोजना गरिएको ‘बृहत सुशोभन समारोह तथा साँस्कृतिक कार्यक्रम’बाट उठेको रकम उत्तम गौलीले हिनामिना गरेको आरोप लगाएका छन्। उनले उक्त कार्यक्रमबाट उठेको झण्डै ३ लाख ५० हजार डलर रकम हिनामिना भएको दावी गरेका छन्। संजेलले नेपाल स्थित समता स्कूलको नाममा अमेरिकामा भएको उक्त कार्यक्रम, संस्थाका लागि कालो दिन र उज्यालो दिन दुबै भएको टिप्पणी गरेका छन्।
उनले अमेरिकामा रहेका नेपालीहरुलाई समता स्कूलको बारेमा बताउने, चिनाउने र खुशी बनाउने मौका पाएका कारण उज्यालो दिन रहेको र उक्त कार्यक्रमको नेतृत्वकर्ताले उठेको रकमको एक रुपैयाँ पनि समता स्कूललाई नदिएकाले त्यो क्षण ठूलो कालो दिन भएको तर्क गरेका छन्। कार्यक्रमको दौरानमा उठेको आधिकारिक रकम बाहेक समता स्कूललाई माया गरेर दाताहरुले दिएको सहयोग (नगद/चेक) रकम ४६ हजार डलर पनि आयोजकलाई नै राख्न दिएको तर त्यस मध्ये १४ हजार डलर मात्र आफूले फिर्ता पाएको संजेलले सुनाए। उक्त कार्यक्रममार्फत समता स्कूलका लागि झण्डै ३ लाख ५० हजार डलर हाराहारी रकम उठेको भएतापनि, समता स्कूललाई एक रुपैयाँ पनि नदिइ उक्त रकम समता ग्लोबल सिनेट, अमेरिकाको हो भन्दै राखेको उनको दाबी छ।
उक्त रकम प्राप्त नभएकै कारण खर्च धान्न नसकेर झण्डै ३५ वटा स्कूलहरु बन्द हुन पुगेको र अन्य स्कूलहरुमा पनि निकै असर पारेको संजेलको निष्कर्श छ। सामाजिक संघ संस्था तथा आर्थिक अवस्था कम्जोर भएकाहरुको नाममा पैसा उठाएर खानेहरुको जिन्दगी कहिल्यै राम्रो नहुने भनी टिप्पणी गर्दै उनले कार्यक्रममा उठेको रकममा भएको खर्च कटाएर बचेको रकम मह जोडी मार्फत समता स्कूललाई आइदियोस् भन्ने चाहनासमेत व्यक्त गरेका छन्। यस प्रकरणले जीवनमै भोग्न नपरेको पिडा बोध गराएको, व्यक्तिगत तथा संस्थागत रुपमा ठूलो क्षति गराएको र अमुल्य पाठ सिकाएको भन्दै संजेलले अब उपरान्त संस्थालाई माया गरेर सहयोग गर्न चाहनुहुनेहरुलाई कुनै संस्था वा नकाबधारीहरुको पछि नलागी सिधै स्कूललाई सहयोग रकम उपलब्ध गराइदिन अनुरोध समेत गरेका छन्।
यस सम्बन्धमा समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौलीले आफू र आफ्नो संस्था माथि लगाइएको आरोप गलत भएको टिप्पणी गरेका छन्। संस्थामा हाल रहेका २०४ जना सिनेटरहरु र २३ वटा संस्थाहरुको आजीवन सदस्यता बापत उठेको रकम अक्षयकोषमा राखिएको र कार्यक्रम गरेर बाँचेको रकम २९ हजार २ सय ४५ डलर भने उत्तम संजेलमार्फत समता स्कूललाई पठाइसकिएको उनले दाबी गरे। कार्यक्रममा भएका सम्पूर्ण आम्दानी, खर्च र संजेल मार्फत समता स्कूललाई दिइएको रकमको तथ्य प्रमाणहरु आफूसँग भएको बताउदै गौलीले भने-‘हामीसँग सबै तथ्य प्रमाणहरु छन्। तथ्य प्रमाणका आधारमा बोल्नु पर्दछ। उहाँले झुट नबोल्नु पर्ने, उहाँ एउटा इज्युकेटेट मान्छे हो। त्यत्रो धेरै बच्चाहरुको आदर्श व्यक्ति पनि हो उहाँ। एक रुपैयाँ पनि दिएन भनेर भन्नु त्यो एकदमै आश्चर्यको बिषय पनि हो।’
उत्तम संजेलको अपेक्षा धेरै भएको, संस्थागत प्रतिज्ञा अनुसार आजीवन सदस्याको रकम अक्षयकोषमै जम्मा गरिएको र संस्थाको नियम विपरित उक्त रकम सिधै समता स्कूललाई दिन नसकिएको अध्यक्ष गौलीले प्रस्ट्याए।
समता स्कूल र समता ग्लोबल दुबै छुट्टा छुट्टै देशमा रहेको संस्था भएको र हरेकले सोही देशको नियम अनुसार चल्नु पर्ने भएकाले आफ्नो संस्थाले पनि सोही अनुसार विभिन्न समितिहरु गठन गरेर काम गरिरहेको उनले बताए। संस्थाका गतिविधिहरुको बारेमा जानकारी दिदै उनले भने,’ यही आउँदो जुन १८ तारिखमा संस्थाको वार्षिक साधारणसभा बोलाइएको छ। सो साधारसभाले आवश्यकता अनुसार संस्थागत निर्णयहरु गर्ने नै छ । सोही बमोजिम संस्था अगाडि बन्ने छ।’
बरिष्ठ कलाकार, सामाजिक अभियन्ता, समता स्कूलका संरक्षक तथा समता शिक्षा अभियन्ता द्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) र लोकप्रिय गायक रामकृष्ण ढकालको आतिथ्यता रहेको कार्यक्रम, अमेरिकामा रहेको ‘समता ग्लोबल सिनेट’को आयोजना र अमेरिकास्थित नेपाली समुदायका विभिन्न संघ संस्थाहरुको आतिथ्य तथा सहयोगमा, गत वर्षको नोभेम्बर महिनामा अमेरिकाको विभिन्न दश सहरहरुमा सम्पन्न भएको थियो।
समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २२ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ।
संजेलले दिएको जानकारी अनुसार, गत वर्षसम्म ८० वटा विद्यालयहरुमा ५० हजार विद्यार्थीहरुले अध्ययन गरिरहेको भएतापनि आर्थिक समस्याका कारण ३५ वटा विद्यालयहरु बन्द भएका छन् । हाल ४५ विद्यालयमा २५ हजारको हाराहारीमा मात्र विद्यार्थीहरु अध्ययनरत रहेका छन्। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।
प्रतिक्रिया