मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विकासका लागि उपलब्धिमूलक : मन्त्री रिजाल

प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विकासका लागि उपलब्धिमूलक : मन्त्री रिजाल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताएका छन् ।
उद्योगमन्त्री रिजालले जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा राजर्षी सभाहलमा आयोजना गरिएको व्यापारिक अन्तरक्रिया कार्यक्रममा भारत भ्रमणका क्रममा नेपालको जलविद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा पनि उपलब्धिमूलक भएको बताए ।
उनले वर्तमान सरकार मुलुकको विकासका लागि सम्भावित सबै क्षेत्रलाई चलायमान बनाउन चाहेको उल्लेख गर्दै गरिखानेलाई सरकारले सबै प्रकारका समस्याको समाधान तथा सहयोग गर्नका लागि तयार भएको र त्यसअनुसारको नीति तथा कार्यक्रम ल्याएको बताए ।
उनले जनकपुरधाम क्षेत्रमा रहेको जनकपुर चुरोट कारखाना सरकारले चलाउने पक्षमा नभएको स्पष्ट पारे । चुरोट उत्पादन गर्ने सरकारको काम पनि नभएको स्पष्ट पार्दै यस ठाउँको प्रयोग अन्य काममा लगाउनका लागि सङ्घीय सरकार सहयोग गर्न तयार भएको बताए ।
उद्योगमन्त्री रिजालले मुलुकको समृद्धि र विकासका लागि औद्योगिक विकास आवश्यक भएकोमा जोड दिँदै सरकारको काम आफैँले उद्योग चलाउने नभई निजी क्षेत्रलाई उद्योग र व्यापार गर्नका लागि प्रोत्साहन गर्ने भएको बताए ।
सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने उनको भनाइ थियो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने जिकिर गर्दै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
उनले बजेटको परम्परागत प्रणाली पञ्चायतकालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगी सुखी हुन नसक्ने बताए । देश बनाउनका लागि सङ्घीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने उनको भनाइ थियो । मन्त्री रिजालले पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए ।
उनले मुलुकमा केही काम गर्न चाहनेका लागि लाइसेन्स प्रदान गर्ने प्रक्रियालाई सरल बनाइएको बताए । मुलुकको आर्थिक अवस्था अहिले ठीक नभएको भन्दै उनले आर्थिक अवस्थामा सुधार गर्न सरकार स्थानीय उत्पादनमा जोड दिने पक्षमा रहेको बताए । रासस