मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
अमेरिका समाचार   
मुख्य समाचार   

धार्मिक तथा सामाजिक कार्यमा एक हौं -मिलन गुरुङ (अन्तरवार्ता)

धार्मिक तथा सामाजिक कार्यमा एक हौं -मिलन गुरुङ (अन्तरवार्ता)


यतिबेला अमेरिकाको मासाच्युसेट्स राज्य तथा त्यस वरपर बसोवास गर्ने मूलवासी नेपालीहरु धार्मिक तथा सामाजिक कार्यमा निकै व्यस्त रहेका छन्।

उनिहरु पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ नयू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ मा जुटिरहेका छन्। संस्थाको आफ्नै भवनमा स्थापना गरिएको मन्दिरलाई धार्मिक विधिहरु पूरा गरेर भक्तजनहरुका लागि नियमित रुपमा दर्शन, पूजा,पाठ, योग ध्यान आदि गर्नका लागि खुल्ला गर्ने बृहत अभियान अन्तर्गत, गत मे २१ तारिख आइतबारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु भइरहेको छ। आयोजकहरु मे २७ देखि ३० तारिखसम्म हुने मुख्य कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिरहेका छन्।

यसैबिच, संस्थाको प्रारम्भदेखि हालसम्मको यात्रालाई समेटेर संस्थाका बोर्ड अफ ट्रस्टिका उपाध्यक्ष तथा संस्था स्थापनादेखि हालसम्म अहोरात्र खटिदै आउनु भएका धार्मिक तथा सामाजिक अभियान्ता मिलन गुरुङसंग हिमालयखबरका सुपेन्द्र बस्नेतसँगको अन्तर्वार्ता क्रममा एक थुकी सुकी, हजार थुकी नदी जस्ताकुरा सुनाए । प्रस्तुत छ, अन्तर्वार्ताको सार संक्षेप ।

सर्वप्रथम पशुपतिनाथ बुद्ध फाउन्डेशनको संस्थागत संक्षिप्त पृष्ठभूमि बताइदिनुस् न ?

प्रवासी भूमिमा नेपाली भाषा, धर्म, संस्कृति तथा रितिरिवाज, रहनसहन जगेर्ना गर्ने उद्देश्यले पशुपतिनाथ र बुद्ध स्तूपासहितको नेपाली सामुदयिक भवन स्थापना गर्ने बृहत महत्वाकांक्षा राखेर यो संस्था पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइङ्ल्यान्ड् स्थापना भएको हो। यो बिषय धेरै पहिलादेखि चल्दै आएको भएतापनि घनिभूत रुपमा भने सन् २०१२ अक्टोबर १५ तारिखदेखि अभियानका रुपमा सुरु भएको हो।

ग्रेटर बोस्टन नेपाली कम्युनिटीको सन् २०१२ देखि २०१४ सम्मका लागि मैले अध्यक्ष भएर संस्थाको नेतृत्व गर्ने अवसर पाएँ। त्यसपछि हिमालयन लायन्स क्लब र बोस्टन लोक सुसेली समूहका नेतृत्वहरु, पदाधिकारीहरु र संस्थाका केही वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, बुद्ध तथा अन्य भगवानका मूर्तिहरुसहितको मन्दिर निर्णमाण गर्ने लक्ष्यसहित आवश्यक रकम जुटाउन मेरो संयोजकत्वमा संयुक्त देउसी भैलो खेल्ने निर्णय गरी आर्थिक संकलन अभियान शुभारम्भ गरिएको थियो।

संस्थालाई अगाडि बढाउन, खाता सञ्चालन गर्न र संस्थालाई आवश्यक वैधानिक प्रकृयाबाट अगाडि बढाउन तदर्थ समिति गठन गरियो। जसको सक्रियतामा पहिलो देउसी भैलो सव्य र भव्य रुपमा सम्पन्न भयो। त्यपछि सन् २०१३ फेब्रुअरी ११ तारिखमा सम्पन्न भएको साधारणसभामार्फत पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्युइङ्लयन्डले वैधानिकता पायो। र, म (मिलन गुरुङ) चियर पर्सन(Chair Person) र बिष्णुमणी आचार्य अध्यक्ष रहेको कार्यसमिति र २० सदस्यीय सल्लाहकार समिति गठन भयो। कार्यसमिति मध्येबाटै ३७ सदस्यीय एक्ज्यूकेटिभ बोर्ड अफ डाईरेक्टोरियट (निर्देशनालय/सचिवालय) रहने गरी प्रस्ताव गरिएको विधानलाई पास गरियो।

संस्थागत बृहत लक्ष्य प्राप्तिका लागि आवश्यक रकम संकलन गर्न गरिएको देउसी भैलो कार्यक्रम र सहयोगीहरुबाट संकलित भएको रकमले थप उत्साहित र उत्प्रेरित गरायो। र, महत्वाकांक्षी लक्ष्य प्राप्ति गर्न आवश्यक पर्ने ठूलो रकम संकलनका लागि सन् २०१७ मा तत्कालीन संस्थाका कोषाध्यक्ष सुशिल पौडेलको संयोजकत्व र आदरणी वाचन शिरोमणि दिनबन्धु पोख्रेलको प्रमुख आतिथ्यतामा बोस्टन श्रीमद्भागवत महायज्ञ सफलतापूर्सवक सम्पन्न गरियो।

सप्ताह महायज्ञ पश्चात् आवश्यक रकम जुटे पछि निरन्तर भवन खोज्दै गर्दा मासाच्युसेट्सको ब्रेन्ट्रि स्थित 594 Washington St ठेगानामा रहेको अहिलेको भवन मिल्यो। र, १.७५ मिलियन डलर तिरेर सन् २०१९ को अगस्ट ७ तारिखमा संस्थाको नाममा उक्त भवन खरिद गरियो।

त्यसपछि भवनको लागि आवश्यक थप कोष संकलन गर्न र भवनलाई संचालनमा ल्याउनको लागि बोर्ड अफ ट्रस्टि  बन्यो। संस्थाको नियमित काम काजको लागि भने कार्यसमिति (executive committee) बनायौं। र, साधारणसभा मार्फत बिष्णु कार्की (Executive Committee )को अध्यक्ष र बोर्ड अफ ट्रस्टिको चियर म्यान(Chair Man) बिष्णुमणि आचार्य चयन हुनु भयो। तर, केही समय पश्चात् विष्णुमणि आचार्य ज्यू टेक्सास जानु भएपछि, सुशिल पौडेलले बोर्ड अफ ट्रस्टिको चियर म्यान (Chair Man)को नेतृत्व सम्हाल्नु भयो। जो वर्तमानमा पनि चियर म्यान नै हुनुहुन्छ। एक कार्यकाल पश्चात् बिष्णु कार्की पुन: अध्यक्षमा निर्वाचित हुनु भयो।र, वर्तमानमा पनि उहाँ कार्यसमिति (Executive Committee) को अध्यक्ष हुनुहुन्छ ।

तपाई आफूलाई कसरी परिचित गराउन चाहनु हुन्छ ?
मेरो नाम मिलन गुरुङ हो। गोर्खा, सिरान्चोक गाँउपलिका वडा नं.७ लप्सेमा जन्मेको हुँ। मेरो बाल्यकालको नाम सन बहादुर गुरुङ थियो। सबैले सानु भनेर बोलाउथे। तर, ९ कक्षामा मिलन गुरुङ बनाएको हो। जनकल्याण मा.वि. गोहोरेबाट एसएलसि (SLC) दिएपछि आमाको हातबाट एक हजार रुपैयाँ लियर काठमाडौं हिडेको थिएँ। लाहुरे हुनु भन्दा नेपालमै सरकारी सेवामा काम गर्ने लक्ष्य थियो। सरस्वती क्याम्पस पढ्दै केही वर्ष पर्यटन क्षेत्रमा काम गरें। पछि पोखरा पर्यटन तालिम केन्द्रमा काम गर्ने मौका मिल्यो। र, पृथ्वीनारायण क्याम्पसमा पढाइ सुरु गरें। तर, काममा राजनीति लागे पछि दुबइ गएँ। त्यही डिभी भरियो र पर्‍यो पनि। अहिले सन् २००५ देखि अमेरिकाको मासाच्युसेट्स राज्यको बेलमन्टमा सपरिवार बस्दै आइरहेको छु।

बोस्टन आए देखिनै बिभिन्न संघ संस्थाहरुमा आबद्ध भएर काम गर्ने अवसर मिल्यो। त्यही सिलसिलामा ग्रेटर बोस्टन नेपाली कम्युनिटीको अध्यक्ष हुँदै पशुपतिनाथ बुद्ध फाउन्डेसनको स्थापना गर्ने अवसर जुर्यो। त्यसपछि संस्थाको कार्यसमितिको अध्यक्ष हुँदै अहिले बोर्ड अफ ट्रस्टिको उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेको छु। पेशाको हकमा सन् २०१९ देखि रियल्टरको रुपमा घर खरिद बिक्रिमा सहयोग गर्दै आएको छु।

तपाईं लामो समयदेखि धार्मिक तथा सामाजिक क्रियाकलापहरुमा सक्रिय भैरहेको सुनिन्छ।कारण ?
शायद सानोमा दु:ख गरेरै पढेर हुर्केको भएर होला। समाजको हर दु:ख सुखमा जोडिन मन लाग्छ। अलिकति धार्मिक या आध्यात्मिक हुँदा, सामाजिक नियम भित्र बाँधिन सिकाउछ। अनि सामाजिक क्रियाकलापहरुमा जोडिदा पनि परदेशमा एक्लोपनको महसुस हुँदैन।

सामाजिक तथा धार्मिक अभियानमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?
केही गुमाएको छैन। बरु सोचे भन्दा धेरै समाजको माया सद्भाव र सम्मान पाएको छु। कसैलाई सहयोग गर्दा उसको मुहारमा देखिने खुशी अमुल्य हुने रहेछ। हाम्रो धर्मलाई परदेशमा बचाउन सकेमा, हाम्रो नेपाली संस्कृति, रितिरिवाज, परम्परा आदिको जर्गेना गर्न सहयोग पुग्दछ। तसर्थ, पुरानो पुस्ता र युवा पुस्तालाई पनि यस अभियानमा जोडिन आव्हान गर्दछु।

आजसम्मको तपाईंको अनुभव अनुसार साजसेवा र धर्म भनेको के रहेछ ?
समाजसेवा गर्न गाह्रो हुन्छ। समाजमा आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्नु या समय दिनु पनि समाज सेवा हो। तर, अमेरिकामा समाजसेवामा लाग्न त्यति सहज छैन। जो समाजसेवामा लागिरहनु भएको छ, वहाँहरुलाई हृदयदेखि नै नमन गर्दछु। धर्म चाँही सेवा नै धर्म हो। सामाजिक नियम पालना गर्नु पनि धर्म हो। नैतिकवान बन्नु पनि धर्म हो। नकरात्मक सोचलाई कुल्चेर सकारात्मक बन्नु पनि धर्म हो। प्रकृतिको नियमलाई स्विकार गर्नु र अपनाउनु पनि धर्म हो। अरुको धारणालाई सम्मान गर्नु पनि धर्म हो। तसर्थ, मैले बुझे अनुसार धर्मको क्षेत्र र परिभाषा बिशाल छ।

दिन प्रतिदिन हिन्दू तथा बौध्द धर्मप्रति गुणात्मक आकर्षण घट्दै जानु र आकर्षित भएकाहरुमा पनि सच्चा समर्पणको कमी हुदै जानुको मुख्य कारणहरु के के होला जस्तो लाग्छ ?
साह्रै महत्वपूर्ण कुरा गर्नु भयो। हीजो आज नयाँ आधुनिक ग्याजेट्हरुको प्रयोग तथा सञ्चारमा सहज पहुँचको अवस्थाले आफ्नो बिर्सने र अरुको टिप्ने प्रवृत्ति बढ्दै गइहेको छ। सबै कुरा विश्वव्यापीकरण हुदै गैरहेको छ। समयको व्यस्तता पनि होला, केही धर्म सम्बन्धी भ्रमले पनि होला। तर, हाम्रो सन्दर्भमा भने जहाँ जहाँ नेपाली पुगेका छौं, त्यहाँ त्यहाँ नेपाली सामुदायिक भवन या मन्दिरहरु बन्ने सिलसिला जारी छ। नेपाली भाषा धर्म, संस्कृति तथा रीतिरिवाज मात्र होइन, नेपाल भित्र रहेका बिभिन्न जात जातिहरुको पहिचान पनि विश्वव्यापीकरण हुदै गइरहेको छ।

हिजो आज सच्चा धार्मिक अभियान्ताहरुसंगै मिसिएर दाम कमाउने/कमाउन खोज्ने, त्यही दामको आडमा आफ्नो नाम र मान बढाउने/बढाउन खोज्ने र धर्म तथा संस्थाको बदनाम गराउने/गराउन खोज्नेहरुको बिगबिगी बढ्दै गइरहेको छ भन्छन् नि। तपाईंको बुझाइ कस्तो छ ?

कही न कही केही यस्तो प्रवृति छ होला। सुन्नमा आएको छ नै। तर, हाम्रो संस्थामा भने हालसम्म त्यस्तो अवस्था छैन।

मिलन गुरुङ
मिलन गुरुङ

यही मे २७-३० तारिखसम्म हुन गइरहेको ‘मूर्तिहरुमा प्राण प्रतिष्ठा तथा सामुदायिक भवन समुउद्घाटन कार्यक्रम’को तयारीको अवस्था कस्तो छ ?
हामी अभियानमा लागिपरिरहेका छौं। प्रल्हाद केसी दाइको संयोजकत्व र बोर्ड अफ ट्रस्टि अध्यक्ष सुशिल पौडेल, अनि कार्यसमिति (Executive Committee)का बिष्णु कार्कीको साथमा बिभिन्न समितिहरु बनाएर काम गरिरहेका छौं। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतक्ष्य परोक्ष रुपमा साथ सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु। चाहेर पनि सम्पूर्ण न्युइङ्लयन्डवासी नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई फोन गरेर निमन्त्रणा दिन भ्याइरहेका छैनौं। कही कतै तपाइले खबर पाउनु भएको छैन भनेपनि, कृपया यो कार्यक्रममा दान दिन भन्दा पनि आफ्नो अपनत्व ग्रहण गर्न मे २७ देखि मे ३० तारिखसम्म हुने मूर्ति प्राण प्रतिस्ठा तथा सामुदायिक भवन समुद्घाटन कार्यक्रममा सपरिवार सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछु। यस अभियान सफल पार्नका लागि सञ्चारको महत्वपूर्ण भूमिका रहने भएकोले, बिभिन्न माध्यममार्फत सबैलाई सूचना पुर्याउने प्रयास जारी छ। साथै, यो धार्मिक तथा सामाजिक कार्यमा साथ दिनुहुने तपाईं लगाएत सम्पूर्ण मिडिया टिमलाई धन्यवाद दिन चाहन्छु।

यो धार्मिक कार्यक्रमको मुख्य लक्ष्य तथा उद्देश्यहरु चाही के के हुन् नि ?
अहिले हुँदै गरेको कार्यक्रम पशुपतिनाथ तर्फ र बुद्द तर्फका भगवानहरुको प्राण प्रतिस्ठा गर्ने र सामुदायिक भवनको समुद्घाटन गर्ने हो। तर, प्रमुख उद्देश्यहरु चाँही धार्मिक आस्था जगाउनु, आस्थाको धरोहर भगवान प्रति सम्मान तथा आदरभाव समर्पित गर्नु, अमूल्य शान्ति तथा अद्भूत आनन्दानुभूति गर्नु, धार्मिक ज्ञान तथा सीप प्राप्त गर्नु, विविध धार्मिक कर्महरु गर्नु, धार्मिक तथा सामाजिक अभियानमा जोडिएर होस्टेमा हैँसे गर्नु, सामाजिक एकता, मानवता र धार्मिक सहिष्णुताका साथै नेपालीपन र नेपालीत्व जोगाउनुलगायत रहेका छन्।

संस्थाको अभियानमा समुदायले देखाइरहेको चासो र सहभागितालाई कसरी मुल्याङ्कन गर्नु भएको छ ?
सुरुमा देउसी भैलो कार्यक्रम मार्फत आर्थिक संकलन सुरु भएको हो। दाताहरुको घर घरै गएर देउसी खेल्न पाउनु पनि एउटा सुवर्ण अवसर थियो। त्यतिबेला आफ्नै घरमा आशिर्बाद दिएर दान दिनुहुने धेरै हुनुहुन्छ। श्रीमद्भागवत सप्ताह महायज्ञमा सहभागी भएर दान दिनु भएको छ। केही न केही सहयोग सबैले गर्नु भाको छ। थोरै दान दिने देखि धेरै दान गर्नु हुने शिव श्रेष्ठ तथा अन्जु श्रेष्ठ परिवार, लक्ष्मी प्रधान तथा झरना प्रधान परिवार सबैको समान सम्मान हामीले गर्न सक्नु पर्छ। भवन किनेर नविकरण गर्ने क्रममा कोरोना सुरु भयो। ठेकेदारले धोका दियो। त्यतिबेला काम हुदैन कि भन्ने चिन्ता र चासो जनमानसमा हुनु स्वभाविक थियो। असहज परिस्थितिलाई पनि छिचोलेर यो अवस्थामा आइपुग्नुमा हामी सबैको हात छ। अहिले जनसहभागिता बढ्दै गएको छ। स्वत: स्फुर्त रुपमा दान गरिरहनु भएको छ। यसको लागि आभारी छौं। संस्थाको तर्फबाट सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

कार्यक्रममा नेपाली समुदायको सहयोग र सहभागिताको अपेक्षा कस्तो गर्नु भएको छ ?
हजुर राम्रो प्रश्न गर्नु भयो। हामी नेपालीहरु हाम्रो धर्म संस्कृति भेषभुषा असाध्यै सुन्दर छ। विविधतामा एकता छ। हाम्रो पहिचान पनि यही हो। चिनिने माध्यम पनि यही हो। परदेशमा नेपाली नेपालीहरु मिलेर बस्नु, एक आपसमा सद्भाव, सहयोग हुनु आवश्यक छ। त्यसैको लागि हामीले यो संस्थाका साथै पशुपतिनाथ र बुद्ध स्तूपासहितको सामुदायिक भवन निर्माण गरेका हौ। हामी सबैले यसको अपनत्व लिनु पर्छ। कार्क्रममा धेरै भन्दा धेरैको सक्रिय सहभागिता हुनेमा विश्वास छ।र, धेरैले सपरिवार सहभागी हुने बचन पनि दिनु भएको छ। साथै हामीले निरन्तर सक्रिय सहभागिताका लागि आव्हान पनि गरिरहेको छौं।

नेपाली समुदायले के कति कारणले कार्यक्रममा सक्रिय सहभागिता जनाउनु पर्ने आवश्यकता ठान्नु हुन्छ ?
सामाजिक एकता, मानवता र धार्मिक सहिष्णुताका लागि सक्दो योग्दान पुर्याउन, संस्थाका क्रियाकलापहरुमा जोडिएर अपनत्व ग्रहण गर्न, हर्षोल्लासका साथ सामुहिक रुपमा उत्सव मनाउन, आफ्ना लागि नेपाली पहिचान, नेपालीपन तथा नेपालीत्व कायम गर्न र भावी सन्ततिहरुका लागि अमूल्य ऐतिहासिक आधार स्तम्भहरु खडा गर्न पनि सम्पूर्ण न्युइङ्ल्यान्डवासीहरुको सक्रिय उपस्थिति अपरिहार्य छ |

भावी दिनहरुमा पशुपतिनाथ तथा बुद्ध फाउण्डेशनको के कस्ता अवसरहरु देख्नु भएको छ ?
‘एक थुकी सुकी, हजार थुकी नदी’ भने झै, यदि हामी संस्थागत् रुपमा एकजुट भएर निरन्तर रुपमा लागिपरिरह्यौ भने, संस्थाले लिएको लक्ष्य र उद्देश्यहरु प्राप्त गर्न हामी सहजै सफल हुने छौं। जसले हाम्रो भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, संस्कार आदिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने छ।र, हामीले मूलवासी नेपाली भएकोमा गर्व गर्न पाउने छौं। भावी सन्ततिहरुले पनि आफ्ना पुर्खाहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै नेपालीपन र नेपालीत्वमा गर्व गर्दै आनन्दको जिवन व्यतित गर्न पाउने छन्। त्यसका लागि यस संस्थाले प्रमुख सुत्रधारको भूमिका निर्वाह गर्न सक्नेछ।

नेपाल र नेपालमा रहेका नेपाली र परदेशमा रहेका प्रवासी नेपालीहरुका बिचमा आत्मीय सम्बन्ध स्थापित गराइ सहयोगको आदानप्रदान गराउन संस्थाले सेतुको काम गर्न सक्दछ। अस्तित्वमा आइसकेको यस संस्थाले विभिन्न तहमा रहेका अमेरिकी सरकारहरुसंग समन्वय गरेर सहयोग लिन सक्दछ। अमेरिकामा रहेका विभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर समुदायका लागि लाभ लिन सक्दछ। नेपालीपन र नेपालीत्वलाई विश्वव्यापी गराउन अहम भूमिका खेल्न सक्दछ। धार्मिक तथा सामाजिक गतिविधिहरुले सभ्य समाज निर्माण गर्न योगदान पुर्याउन सक्दछ । भने विश्वमा छरिएर रहेका मानिसहरुमा मानवता बढाउन र शान्ति कायम गर्न अहम भूमिका खेल्न सक्दछ।

संस्थागत चुनौतिहरु के कस्ता देख्नु भएको छ नि ?
यो स्थापना त भयो। अझ चुनौतीहरु भनेको यसलाई कसरी प्रभावकारी रुपमा व्यवस्थापन गर्ने ? यसलाई कसरी दिगो गराउने ? भगवानहरु र संस्थाप्रतिको आस्थालाई कसरी थप उचाइमा पुर्याउने ? कर्जा कसरी चुक्ता गर्ने ? यही जन्मेका र जन्मने भावी पुस्तालाई संस्उथाको त्तराधिकारी बनाई जिम्कमेवारी कसरी हस्तान्तरण गर्ने ? आदि इत्यादि।
यि बिषयहरु नै संस्थाका लागि भावी प्रमुख चुनौतीहरु हुन्। तर, हिजो केही नहुँदा त यतिसम्म गर्यौ भने, अब त मन्दिरको ढोका खोले पछि दाताहरुले मनको ढोका खोल्नु हुनेछ। अनि छिट्टै बैंकको बाँकी ऋण चुक्ता गर्न सकिने छ । सोचे अनुरुप संस्था अगाडि बढ्ने छ भन्ने आशा, भरोसा र बिश्वास लिएका छौं।

प्याब्फोन(PABFONE) को संस्थात विकासका लागि आगामी दिनहरुमा के कस्ता क्रियाकलापहरुमा केन्द्रिकृत हुनु पर्ने ठान्नु हु्छ ?
सामुदायका सदस्यहरुको सक्रिय सहभागिता बढाउने, धार्मिक तथा सामाजिक क्रियाकलापहरु बढाउने, बाबुनानीहरुलाई नेपाली भाषा पढाउने, अंग्रेजी नजान्नेहरुलाई अंग्रेजी भाषा पढाउने, नेपाली किताबहरुको पुस्तकालय (library)सञ्चालन गर्ने, हाम्रा लोपउन्मुख नेपाली बाजाहरुको संकलन, संरक्षण र सम्बर्धन गर्ने जस्ता कार्यहरु गर्नु पर्ने जरुरी ठान्दछु |

नेपाली समुदायलाई संस्थाको तर्फबाट के आव्हान गर्न चाहनु हुन्छ कि ?
हाम्रो यो मन्दिर तथा सामुदायिक केन्द्रलाई परदेशको भूमिमा एकताबद्ध भएर हामी सबै अटाउने, सबैको भावनाको कदर हुने, सबैले अपनत्व महसुस गर्ने र सबैले जिम्मेवारी बोध गर्ने साझा चौतारीको रुपमा स्थापित गर्नु आवश्यक छ। हामी सबैले मिलेर स्थापना गर्यौ। हामी सबैले मिलेर प्राण प्रतिस्ठा र समुद्घाटन गरौं। र, हामी सबैले मिलेर संरक्षण, सम्बर्धन र प्रबर्धन गरौं।यही नै मेरो हृदयदेखि नै सम्पूर्ण नेपाली समुदायलाई आव्हान छ।

अन्तमा केही भन्नु छ कि ?
मलाइ समाजसेवामा दिनरात सहयोग गर्नुहुने मेरो श्रीमती सारदा गुरुङ र बाल्यकालमा म सहभागी भएका बैठकहरुमा संगसंगै गएर साथ दिने छोरी मिसा गुरुङलाई विशेष धन्यवाद दिन चाहन्छु। किनकी उनिहरुको साथ नभएको भए मैले सक्रिय सहभागिता जनाउन सक्दैन थिएँ।

यो व्यस्त समयमा पनि मलाइ सम्झेर यो अन्तर्वाता दिने अवसर जुटाइदिनु भएकोमा तपाईं लगायत हिमालयखबर परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र, भर्खरै सम्पन्न नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशनबाट क्षेत्रीय संयोजक जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा तपाईं लगाएत निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, यो अन्तर्वार्ता पढ्नुहुने सम्पूर्णमा नमन गर्दै धन्यवाद ज्ञापन गर्दछु।

मिलन गुरुङ
मिलन गुरुङ