नेपाली पात्रो अनुसारको अामा दिवस अर्थात अामाको मुख हेर्ने दिन बितेको केही हप्तामात्र भयो । अामालाइ ख्वाउने दिनका नामले चिनिने त्यो दिन मेरा लागि बडो कष्ट र पीडासाथ पहिलो पटक बित्यो । त्यो पीडा कम नहुँदै फेरि अमेरिकी क्यालेण्डर अनुसारको अामालाइ सम्झने, भेट्ने जे र जसरी भनेपनि ‘मदर्स-डे’ का नामले पुकारिने दिन अाजै परेको छ । यही पीडाका बीच पनि केही शव्द कोर्न जाँगर पलाएको छ ।
सन २०२२ मार्च महिनाको तेस्रो हप्ता थियो । कर्मथलो अमेरीकामा Ps हप्ताको स्प्रिङ ब्रेक सुरु भयो । छोरा संयमको कलेज छुट्टी भएको मौका पारेर हामी २/४ दिन घुम्न निस्कियौं । संसारभर फैलिएको कोरोनाले परदेशको बास बिथोलेको लगभग तीन बर्ष भैसकेको थियो । स्थिति अलि सहज हुँदै गएकोले हामी निर्धक्क घुम्न निस्कियौं ।
मानिसको जीवनमा सबैकुरा सोचे जस्तो त नहुने रहेछ । तै पनि एक्कासी मेरी आमाको स्वास्थमा आएको जटिलताले ठूलो धक्का दियो । जबजब ८० माइलको गतिमा हाइवेमा कार दैडिन थाल्यो, तब डबल गतिमा मेरो मुटुको धड्कन दौडी रहेको थियो । एक महिना अगाडी सम्म सकुशल रहनु भएकी मेरी आमा एक्कासी हरेक दिन कमजोर हुदै गएको खबर आउन थाल्यो ।
अझै पनि उमेर सँगै बढ्दै गएको सामान्य कमजोरी होला भन्ने तिर नै परिवारका सबैको सोचाइ गयो । तर मेरो मनमा भने हजारौं शंका उपशंकाहरुले जरो गाडेर बसेका थिए । त्यसलाइ हटाउन कै लागि बहिनीलाइ आमाको थप जाँच गराउन कर गरेँ । जब आमाको सिटीस्क्यानको रिपोर्ट आयो । त्यतिखेर मलाइ निकै ठूलो बिधुतीय झट्का लागे झैं भयो ।
बैनीले फोन गर्दा खासै बोल्न सकिन । नियतिले नराम्रोसँग झुक्यायो । चौथो स्टेजमा पुगेर सबै तिर फैली सकेको प्यानक्रियाटिक ( pancreatic) क्यान्सरले हामीलाइ छिटै टुहुरो बनाउने निश्चित भयो । मैले स्वास्थ क्षेत्रमा काम गरेको दुइ दशक बितिसक्दा क्यान्सरले थलिएका बिरामीहरुको पिडा धेरै देखेकी छु । यो क्यान्सर भन्ने रोग त कसैलाइ नलागोस् जस्तो लाग्थ्यो । तर मेरी यसले मेरी आमालाइ पनि छाडेन ।
घुम्न जाँदा रमणिय स्थलहरुले शरिर मात्र छोए मन छुन सकेनन् । मैंले सहर, सडक, होटल, रेष्टुरेन्ट सबै तिर आमा नैं आमा देखें । आमाको मायाँ लाग्नु, संझना आउन नौलो कुरा थिएन । तर यसरी हरेक श्वासमा आमा नैं आमा कहिल्यै देखेकी थिइन ।अब केही समयमा त मेरी आमा झझल्कोमा मात्र देखिने छिन । अबको बांकी जिबनमा त आमाको छायाँले पछ्याउने भयो । लाइ जिन्दगीमा पहिलो पटक परदेशी हुनुमा धिक्कार लागेर आयो ।
जिन्दगीको रंङ्ग मन्चमा “आमा“ मात्र एउटा खास पात्र हुन जसले जस्तोसुकै परिस्थितीमा पनि सन्तानलाइ चिन्ता दिन सक्दिनन् । मेरी आमा पनि खास थिइन् । सबै कुरा लुकाएर खिस्स हाँसी दिन्थिन् । तर मलाइ पर्दा पछाडीका दृष्यहरुको कल्पना गर्दागर्दै कहाली लाग्यो, रिंगटा लाग्यो । मनमनै भोलि देखि जान पर्ने काम र आमाको अनुहार एउटा साझा पानाको दुइ तिर राखेर हेरें । आमाको अनुहारले एकतिरको पाना पुरै भरियो । म धेरै नै हतारिएँ आमा भेट्न । आफुले आफैंलाइ संसार भरीकै अभागी सन्तान साबित गरें । फेरि अर्को मनले भन्यो भाग्य त आफ्नै कर्मले बनाउंछ । म ढिला नगरी घर पुगें भने त आमासँग केही समय बिताउन पाउने छु । लगभग इमर्जेन्सीमा नै घरदेश तिर लाग्ने बिचार आयो ।
यतिकैमा सासु आमाको झल्को आयो । फोन गरेर सबैकुराहरु सासु आमालाइ बताएँ । हरेक अप्ठेराहरुमा मेरी सासु आमा मेरो आदर्शको रुपमा रहनु हुन्छ ।
“आमा भन्दा बिषेश संसारमा कोही र केही पनि हुँदैन । आमालाइ निको नहुने रोग लागेको भए पनि तिमी नजिकै भयौ भने उहाँलाइ धेरै शीतल हुन्छ । एक त छोरी, अझै नर्स । आमाको सबै भन्दा ठूलो ओखती तिमी हौ, तिमी अलमल नगरी तुरुन्त आउ ।”सासु आमाको अन्तरआत्मा बोली रहेको थियो।
अब भने अलमल नगरि जति सक्दो छिटो टिकट काटेर आमा भेट्न जाने निर्णय गरें । मार्च २१, २०२२ बेलुकी साँढे सात बजेको कतार ऐरवेजको उडान भर्न डिएफडब्लु एयरपोर्ट तिर लागियो । यसै त दिन निकै लामो लागिरहेको थियो । झन एयर पोर्टमा पुग्नासाथ माैसमको गडबडीले अर्का झट्काले हान्यो ।
हे भगवान ! किन आज नै यस्तो हुन पर्ने ? उडान रद्द हुन सक्ने डरले होस उंडिसकेको थियो । यति बेला पनि मैले सबै तिर आमा नै आमा देखें । प्रकृति पनि त आमा न हुन । किन मेरी आमा जस्तै शान्त हुन सक्दिनन् ? केही बेरमा प्रकृतिमाता शान्त भइन र तोकिएको समय भन्दा आधा घन्टा पछाडी म जस्तै धेरै परदेशीहरु बोकेर जहाज उँड्यो ।
जहाजमा धेरै जसो अमेरिका घुमेर फर्कंदै गर्नु भएका बाआमाहरु हुनु हुन्थ्यो । प्राय सबै बाआमाहरुको बोली चालीमा आफुहरु लामो समय अमेरिका बस्न नसक्ने र छोराछोरीहरु आफ्नै देशमा बस्ने गरी फर्कन नसक्ने कुराले निकै चिन्ता परेको प्रष्ट बुझिन्थ्यो । यहाँ पनि मैले सबै बा आमाहरु भित्र आमा नै आमा देखें । जब दोहा स्थित ट्रान्जीटमा पुगियो, त्यहा धेरै पीडाहरु देखियो । डालासबाट उँड्ने बेलामा म जति दुखी कोही छैन जस्तो लागेको थियो । तर दोहाको करिब आठ घन्टाको ट्रान्जिटमा धेरै कारुणिक कथाहरु सुनियो ।
यहां म जस्तै हतार हतार आमा बा भेट्न दौडिनेहरुको भन्दा आमा या बा गुमाइ सकेपछी अन्तिम संस्कारका लागी दौडनेहरुको भिड देखियो । कठै ! कोही अमेरीका, कोही अस्ट्रेलिया, कोही बेलायत लगाएत बिभिन्न देशहरुबाट सानासाना काखे नानीहरु च्यापेर आफ्ना बा आमाहरुलाइ नदेखेको स्वर्गमा पुर्याउन आउनेहरु ।
यतिकैमा तीन जना साना नानीहरु लिएर तहसनहस अबस्थामा बसेको नेपाली परिवारमा आँखा ठोकियो । उहाँहरु अस्ट्रेलियाबाट आउनु भएको रहेछ । लामो उँडानको असहजताले होला केटा केटीहरु रोइकराइ गर्दै आमालाइ पिरी रहेका थिए । बिचरा आमाहरु थाकेर हैरान परेका । निकै गारो भएको हेर्न नै सकिन।
फेरि मेरो स्वभाब पनि अनौठो छ साना नानीहरु रोएको हेर्न नसक्ने । जस्को बच्चा पनि टिपेर बोक्न मन लाग्ने । साना नानीहरुसँग खेल्न मन पर्ने । बिदेशीहरुको भए त नचिनेको बच्चालाइ बोक्नु त परको कुरा सिधा हेर्न सम्म पनि मिल्दैन । तर नेपाली भएर आफ्नै कोही भेटे जस्तो लाग्यो । नजिकै गएर नानीहरुलाइ हाइ, हेल्लो गरेर बोल्न थालें । उनीहरु केही हद समम् साम्य पनि भए । करिब ८ महिनाको कान्छो बच्चो दोहा एयरपोर्ट नै थर्कने झैं गरि रोइ रहेको थियो ।
मैले अनुमति मागें “बैनी म एक छिन नानी बोकि दिउँ ? तपाइँ धेरै थाक्नु भए जस्तो छ ।“ उनले हुन्छ भने पछी बच्चा बोकि दिएँ । १० मिनेट जती बोकेर यता उता हिंडेपछी बच्चा लुपुक्क मेरो काखमा निदायो । बल्ल हाम्रो भलाकुसारी सुरु भयो । मलाइ किन हो किन यस्ता चिचिलाहरु बोकेर हिंड्नुको उध्धेश्य जान्न मन लाग्यो । फेरी अर्को मनले भन्यो “आफ्नो देश, आफ्नो घर र आफ्ना बा आमाको काखमा जान पनि कारण चाहिन्छ र ?“ मैंले त्यस्तो केही सोधिन ।
यतिकैमा ति बैनीको फोन आयो मैले यता तिरको एकोहोरो कुरा सुनेर अड्कल काटें । उनीहरु बुबा बित्नु भएकोले काज क्रिया गर्न आएका रहेछन् ।
“हैन । म बासँग दुइ महिना बसेर फर्केको एक महिना मात्र भयो । बालाइ क्यान्सर भएको थियो । केही महिना बांच्नु होला भनेको छिटै जानु भो । अँ आउंदिन भनेको त हो नि यस्ता साना नानीहरु बोकेर । तर परिवार तथा आफन्नहरुले सपरिवार सगै बसेर काजक्रिया गर्न पर्छ भनेर धरै दिएनन् । हाम्रै कारणले बुबालाइ नरक पठाउन मिलेन । बैनी बेलायतमा छ । उ आइन, सबैजना उ सँग रिसाएका छन् ।“ मलाइ बैनीका हरेक शब्दहरुले सोच्न बाध्य बनाए ।
अझै हाम्रो समाज र समाजको सोच देखेर धिक्कार लागेर आयो । हाम्रो समाजले मजैले मरण पछाडी गरिने संस्कारहरुलाइ पाप र धर्मको कसिमा राखेर रेटेको छ । तर बाबु आमा बिरामी पर्दा या सहारा चाहिदा सन्तानहरुले बेवास्था गरे भने उल्टै बाबु आमाको कर्मलाइ दोष दिएको पाइन्छ । यसको मतलब मरण पछाडीका संस्कारहरु गर्न पर्छ या पर्दैन भन्ने होइन । तर मानब जिबनलाइ सास फेरुन्जेल मतलब नगरे पनि लास बनेपछी बिषेश महत्वको साथ हेरिनुको कुनै तुक छैन ।
यतिकैमा मेरो जहाज काठमाणेडौमा अबतरणको लागि तैयार हुन्छ । मैले जहाज भरी पनि आमा नै आमा देखें । एयर पेर्टबाट सिधै कर्म घर पुगेर सासु आमाको आशिर्बाद लिएर म आमा भेट्न हिँडे ।
आमा धेरै शिथिल भै सक्नु भएको थियो । अब आमाको उचित व्यबस्थापन तिर लागियो । आमाको मेडिकल टिमसँग हाम्रो पारिवारिक सल्लाह भयो । आमाको अबस्था मुल्याङ्कन गरेर कुनै पनि केमो या रेडियो थेरापी नगर्ने निर्णय गरियो । यो अबस्थामा पुरा स्यहार, सुसार गरि नदुख्ने अोखती मात्र चलाएर राख्दा आमालाइ धेरै आराम भयो ।
हेर्दा कठोर जस्तो लाग्ने हाम्रो निर्णयले आमालाइ निकै सहज हुँदै गयो । तर कतिपय आफन्तहरुले नै आमाको उपचारमा कन्जुस गरेको आरोप लगाए । परिवार कै निकट ब्यक्तिहरूबाट समेत “आमालाइ हाइ डोजको पेन किलर खुवाएर छिटै मर्ने बनाएको “ भन्ने कठोर आरोप म माथि खनियो । तर मलाइ क्यान्सरले आमालाइ दिएको पीडा कम गर्नु थियो । आमा दिनदिनै गल्दै जाँदा पनि कहिल्यै दुखेर छटपटाउनु भएन । कतिपय क्यान्सरलाइ नजिक बाट नियालेका, झेलेका आफन्तहरुले कतै आमाको गलत डाइग्नोसीस भयो कि ? भन्ने प्रश्न पनि उठाउनु भयो । मैले सके सम्म “यो अबस्थामा बिरामीलाइ दुखाइ मुक्त्त गराएर आराम गराउनु महत्वपूर्ण हुन्छ“ भन्ने सन्देश समेत दिने प्रयास गरें ।
तर बुझ्न पर्ने हरुले कसरी बुझे आफैं जानुन् ।
सक्ने जति समय आमासंग बिताएर म कर्म थलो फर्किएं ।आमाको लगभग अन्तिम अबस्था भै सकेको थियो । यस्तो अबस्थाकी आमा छोडेर आउंदा मलाइ सिंगो आकासले थिचे जस्तो भयो । मन भुलाउन सामाजिक संजालको साहरा लिएँ ।
“भरतपुर बिमानस्थलबाट जब जहाज हलुको हुँदै आकासतिर उँड्न थाल्यो, मन झन झन गरुङ्गो हुँदै गयो । ‘आज पाइलाहरुले धर्ती लाइ निकै बलियो गरी च्यापी रहे ।थाहा छैन मेरी आमा फेरी भेटिन्छिन् या यसै मेटिन्छिन् 😢।बा ! हजुर त सिंगो आकास हुनु हुन्छ । सारा पिडाहरु छोपेर खुलि रहनु ।’ फेस बुकमा यस्तो स्टाटस राखेर हिडियो परदेशतिर ।
मेरो स्टाटसमा पनि धेरै प्रश्न चिन्हहरु तेर्सlए । मैले आमालाइ “यसै मेटिन्छीन्“ भन्दा निकै कठोर देखियो । तर यथार्थ यही थियो । छुटेको एक हप्तामा नै आमाले महाप्रस्थान गर्नुभयो ।
फेरि पनि समाज र आफन्तहरुबाट ठूलो आलोचना खेप्नुपर्यो । “आभागी रहिछे छोरी, मर्ने बेलामा आमाको मुख देख्न पाइन । पापीनी रहिछे, नत्र आफ्नै काखमा हुँदा आमाले छोड्न पर्ने । अब आमाको अन्तिम संस्कार गर्न फर्कन्छे कि फर्कन्न ।”
म अभागी, पापीनी नै रहेछु भने पनि केही फरक परेन । मलाइ कसैले नदेखेको स्वर्ग र नर्कमा विश्वास पनि छैन । मेरा लागि मेरी आमाले बिना छटपटी निकै सहज रुपमा आफ्नो भौतिक शरिर त्याग्नु भयो, त्यो नै महत्वपूर्ण र अबिस्मरणीय रह्यो ।
तर अझै पनि हाम्रो समाजले पाइला पाइलामा जीबनलाइ भन्दा मरणलाइ महत्व दिंदै गएको छ । मरण पश्चात बढो तामझामका साथ दान दक्षिणा गरेर काज क्रिया र श्राद्द गर्न उक्साउने समाजले बुढा भएका बाबु आमाहरुलाइ उचित ब्यबस्थापन गर्न पर्छ भनेर कहिले उक्साउला ? बाबु आमाको काज क्रिया नगर्नेलाइ जस्तै बाबु आमा जिउँदो हुँदा वास्ता नगर्नेलाइ आलोचना गर्न मिल्दैन र ?
नजिकिँदै गएको मेरी आमाको पहिलो पुण्य तिथिको अबसरमा सबै छोरा छोरीहरुले आफ्ना बाबुआमा ज्यूदो हुँदानै समय दिन सकुन् भन्ने कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली मेरी आमा 🙏।
प्रतिक्रिया