पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटनलाई सम्बोधन गर्दै उनले पक्षपातरहित ढङ्गले विकास निर्माण गर्नुपर्नेमा जोड दिए । “विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ”, उनले भने, “बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।”
अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्नुपर्ने बताए । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उनले आग्रह गरे ।
पर्वत जिल्लाका सबै वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु कालोपत्र हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनोट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गरे । उनले आफू राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका विषयमा पनि लागिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निवर्तमान वडाअध्यक्ष वसन्त गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त वडा कार्यालय भवन रु ६८ लाखको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र नीलकुमारी तिमिल्सिनाले दुई रोपनी ६ आना जग्गा निःशुल्क दिएका थिए भने स्थानीय लोकनाथ रिजालले बाटोका लागि जग्गा प्रदान गरेको वडा कार्यालयले जानकारी दिएको छ । रासस
प्रतिक्रिया