चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।”
रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले यसैमा उनी अडिन्छन् भन्ने आफूलाई नलागेको बताए । सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए ।
रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँचै वर्ष चल्ने बताए । उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ कि भन्ने भ्रममा नपरौँ ।” आफ्नो निवास शिवनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए ।
सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उनले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भने । हाँसीहाँसी ।” बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले थप्नुभयो, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।” पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए ।
पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए ।
आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । उनले भने, “तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।”
अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताए । सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए । रासस
प्रतिक्रिया