मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

विविध कार्यक्रमका साथ मनाइयो १७औँ लोकतन्त्र दिवस

विविध कार्यक्रमका साथ मनाइयो १७औँ लोकतन्त्र दिवस


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । विसं २०६३ वैशाख ११ गते नेपाली जनताले जनताबाट निर्वाचित संसद् प्राप्त गरेको १७ वर्ष पूरा भएको छ । यस अवसरमा सोमबार लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ ।

यस अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले जनताको अधिकार कहिल्यै कुण्ठित नहोस् भनी बौद्ध स्तुपमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा मानव अधिकारकर्मी, नागरिक समाजका सदस्य एवं विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

Advertisement
ADVERTISEMENT

यस अवसरमा स्कुल अफ डेमोक्रेसीले पनि राजधानीमा छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उल्लेख्यरूपमा युवावर्गको सहभागिता रहेको थियो । कार्यक्रममा युवाले पटकपटक परिवर्तनका लागि सङ्घर्ष सफल भए पनि त्यसको स्थायित्वमा चुक्ने गरेकामा खबरदारी गरेका छन् ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

सोअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । तर पछिल्लो समय यो दिनलाई बिर्सन लागिएको भन्दै चिन्तासमेत प्रकट हुन थालेको छ ।

शेयर गर्नुहोस:

108
Shares