मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको अर्थमन्त्रीको दाबी

अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको अर्थमन्त्रीको दाबी

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको दाबी गरेका छन् । अर्थमन्त्री महतले भने, “हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा निराशा देखिएको छ । तर निराशाको जुन भाग्य बनाइँदैछ त्यति खराब अवस्था पनि होइन ।”

नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारण सभामा बोल्दै अर्थतन्त्रबारे नकारात्मक धारणा बनाइएको भन्दै उनले भने, “खाली बिग्रियो–बिग्रियो मात्रै भन्ने बनाइएको छ । अब सप्रिन्छ र सकारात्मक बाटोमा देशको अर्थतन्त्र अघि बढ्छ भन्ने धारणाका साथ अघि बढ्नुपर्नेछ ।’’

बजारमा देखिएको यस्तो नकारात्मक भावना चिन्ताको विषय रहेको उनको भनाइ छ । अहिले बाह्य क्षेत्र सुधारोन्मुख अवस्थामा रहेको र मूल्यवृद्धि पनि नियन्त्रणमै रहेको भए पनि अरु केही क्षेत्रमा ठूलो प्रभाव देखिएको अर्थमन्त्री महतले बताए ।

“तरलता अभाव, चर्को ब्याजदर र उत्पादनको लागत बढ्दा लगानीको तुलनामा प्रतिफल कम भएको छ । जसकारण साना तथा ठूला लगानीकर्तासमेत लगानी गर्न सकिरहेका छैनन् । सरकारी राजस्व सङ्कलनको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ”, अर्थमन्त्री महतले भने ।

यसवर्ष समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएकोमा भन्सार राजस्व मात्रै गतवर्षको भन्दा २८ प्रतिशतले कम उठेको उनको भनाइ छ । सार्वजनिक खर्च घटाउने र पुँजीगत खर्च बढाउने विषय पनि चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतले धारणा राखे ।

त्यस्तै न्यून राजस्व सङ्कलन भइरहेका बेला सामाजिक सुरक्षा, तलबभत्तालगायतका अनिवार्य दायित्व बढ्दै गएकोबारे पनि उनले चिन्ता व्यक्त गरे । पुँजीगत खर्च बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको भए पनि त्यसको नतिजा भने प्रभावकारी देखिन नसकेको अर्थमन्त्री महतको भनाइ छ ।

“आयोजनाका लागि वनको समस्या, जग्गा प्राप्तिको समस्या, मुआब्जादेखि ठेकेदारसम्मका समस्या छन् । तर पुँजीगत खर्च बढाउन जे जति उपाय अवलम्बन गर्न सकिन्छ, त्यसमा सरकार गम्भीर छ”, अर्थमन्त्री महतले भने ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने बताए ।

“मुलुकको आर्थिक गतिविधि त्यति साह्रो गतिलो अवस्थामा छैन । यसलाई गतिलो पारिदिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसका लागि सरकारले नीति नियममा सहजीकरण गर्छ”, रिजालले भने ।

उनले ‘कुन क्षेत्रमा कसरी काम गर्दा व्यापार घाटा कम हुन्छ, त्यसबारे सरकारले निजी क्षेत्रको पनि साथ चाहेको बताए । निजी क्षेत्रका समस्या बुझ्ने र त्यसलाई समाधान गर्ने बाटोमा म लाग्नेमा आफू प्रतिबद्ध रहेको उनले धारणा राखे ।