मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो ।

युएईले दिएको ३११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो ।

खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर २६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे ।

त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए । त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३१० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित एक सय एक रन बनाए ।

यस्तै, वृत्य अरविन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रन बनाए । त्यसैगरी रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा छ र आयन अफजल खान तीन रनमा आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।