मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ : प्रधानमन्त्री

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआइटी) को संयुक्तरुपमा आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए ।

प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए ।

उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पारे । मुलुकभित्र पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीन सरकारले त्यसमा सहयोग गर्नेमा विश्वास व्यक्त गरे ।

उनले विदेशी लगानीकर्तालाई सहज हुनेगरी थप वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल र चीनबीच जनस्तरमा बलियो सम्बन्धको विकास हुँदै जानु सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ छ ।

दुई मुलुकबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्रीको भनाइ छ । नेपालबाट निर्यात हुने तरकारी, चिया, मासु, आयुर्वेदिक औषधि जस्ता उत्पादनलाई सहजै चीनको बजारमा प्रवेशको सुविधा दिन प्रधानमन्त्री दाहालले आग्रह गरे । व्यापार घाटा कम गर्न पनि त्यस्तो व्यवस्था भएको खण्डमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

नेपाल एक चीन नीतिप्रति स्पष्ट रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता उनले दोहो । चीनले कोरोना महामारीपछि आफ्ना नागरिकलाई पर्यटकका रुपमा देशबाहिर जाने अनुमति दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भने “नेपाल पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर छ ।” चिनियाँ पर्यटकका लागि नेपाललाई चीनले प्राथमिकतामा राखेकाले हाम्रो पर्यटन उद्योगमा राम्रो प्रभावपर्ने उनको भनाइ छ ।

“हाम्रो कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिएको छ । नेपालमा दर्ता भएका विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्नेछन् । स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेद्भाव गरिँदैन”, प्रधानमन्त्रीले भने, “निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति छैन । नेपालमा व्यवसायलाई प्रतिस्पर्धी बनाउने अर्को महत्वपूर्ण कारण भनेकै कम खर्चिलो प्रणाली हो ।”

उनले सरकारी प्रक्रियालाई थप सरल बनाउन गम्भीररूपमा काम गरिरहेको बताए । प्रत्यक्ष वैदेशिक लगानीका लागि स्वचालित स्वीकृतिको लागि आवश्यक नियम पनि विकास भइरहेको उनले जानकारी दिए ।

नेपाल र चीनबीच आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्षौँदेखि पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित बलियो सम्बन्ध रहेको तथ्य स्मरण गरे। पछिल्ला दिनमा भइरहेको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट आपसी सम्बन्ध थप विस्तार भएको उनको भनाइ छ ।

नेपाल–चीन व्यापारसम्बन्ध लामो समयदेखि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमालयको दुबै छेउका व्यापारीको संलग्नताबाट सुरु भएको व्यापार र आदानप्रदान थप विस्तारित रूपमा अगाडि बढिरहेको स्पष्ट पारे ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत तथा दोस्रो व्यापार साझेदारका रुपमा चीन रहेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले भने, “हाम्रा छिमेकीले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीकोस्तरवृद्धि गरी विकास र समृद्धिको अवसरका फराकिलो मार्ग खोल्नेछ भन्ने हाम्रो विश्वास छ ।”