मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

१३ बुँदे बोस्टन घोषणापत्र जारी गर्दै ‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन’ सम्पन्न

१३ बुँदे बोस्टन घोषणापत्र जारी गर्दै ‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन’ सम्पन्न


अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा १३ बुँदे बोस्टन घोषणापत्र जारी गर्दै ‘पाँचौं अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलन’ भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) द्वारा गत मार्च १०, ११ र १२ मा आयोजित तीन दिने साहित्यको कुम्भ मेला रहेको उक्त सम्मेलन सम्पन्न भएको हो। अनेसास बोस्टन च्याप्टरको संयोजनमा बोस्टनस्थित पशुपतिनाथ तथा बुद्ध फाउडेशनको सभाकक्षमा आयोजित सम्मेलन भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने र नेपाली भाषा तथा साहित्यलाई विश्वभर चिनाउने मुख्य उद्देश्य राखी स्थापित मूनाफारहित संस्था अनेसासले, सम्मेलन निकै उपलब्धिमूलक भएको र भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएको छ।

सम्मेलन अन्तर्गत भएका विविध क्रियाकलापहरुका बारेमा जानकारी दिदै अनेसासका केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले निकै खुशी हुदै भने, ‘सम्मेलन भव्यताका साथ सफलतापूर्वक सम्पन्न भयो । सम्मेलनको सफलताले थप उत्साहित र उत्प्रेरित भएका छौं।’ सम्मेलन नेपाली भाषा तथा साहित्यको भएतापनि, यसले नेपालीहरुका बिचमा भाइचाराको सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको केन्द्रीय अध्यक्ष पूजाले जिकीर गरे। उनले भने, ‘ नेपाली साहित्यकारहरुको मात्र नभएर, समग्र नेपाली भाषीहरुकै सम्मेलन भयो। जसले भाषिक र साँस्कृतिक रुपमा सबैलाई जोड्दै एक आपसमा भाइचाराको सम्बन्ध स्थापना गर्नमा महत्वपूर्ण योगदान पुर्याएको छ।’

सम्पन्न सम्मेलनका बारेमा प्रतिक्रिया दिदै बोस्टन च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक महेश्वर पन्तले कार्यक्रम ऐतिहासिक भएको प्रतिक्रिया दिए। सम्मेलनका संयोजक पन्तले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्य रुपमा महत्वपूर्ण योगदान पुर्याउने सबैलाई धन्यवाद दिए। उनले भने,’ सम्मेलन ऐतिहासिक भएको अनुभूति भएको छ। निकै उपलब्धिमूलक पनि। सहयोगी सबैलाई विशेष धन्यवाद।’ सम्मेलनमा धेरै विषयहरु समेटिएकाले समयको व्यवस्थापनमा केही कठिनाई भएको महसुस गरिएको प्रतिक्रिया दिदै कार्यक्रम संयोजक पन्तले भने, ‘ पर्याप्त समयको अभाव भएको महसुस भएको छ। भावी दिनमा ध्यान दिनेछौं।’ तीन दिने छोटो सम्मेलनले महत्वपूर्ण दिशानिर्देश गर्नुका साथै थप उर्जा, उत्साह र उत्प्रेरणा प्रदान गरेको उनको निश्कर्ष छ।

तीन दिने सम्मेलनको कार्यक्रम तालिका अनुसार, अनेसास केद्रीय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षता रहेको सम्मेलनको उद्घाटन सत्रमा, सम्मेलनका प्रमुख अतिथि अमेरिकाको मेरिल्याण्ड राज्यका माननीय डेलिगेट्स डा. एच बि भण्डारीले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए।

साहित्यिक अन्तरक्रिया र विचार विमर्श गर्ने मूल उद्देश्यका साथ आयोजित सम्मेलनको शुभारम्भमा, शंख फुकेर भक्ति भावको माहोल शृजना गरिदा, सम्मेलनमा एकाएक रौनकता छाएको थियो भने, विश्व शान्तिको कामनासहित गरिएको सोस्तिक वाचनले, नेपालीको पहिचान र नेपालीको मनमा रहेको मानवताको गुण प्रतिबिम्बित भएको थियो। कार्यक्रम तालिका अनुसार सम्मेलनको दोश्रो दिन मार्च ११ तारिख शनिवार, नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर उद्घाटन सत्रलाई अगाडि बढाइएको थियो। सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि माननीय डेलिगेट्स डा. भण्डारीले सम्मेलनको पूर्ण सफलताको कामना गरेका थिए। शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा, उनले विविध कारणले नेपाल बाहिर रहेकाहरुले नेपाली मूलबासी हुनुमा गर्व गर्नु पर्ने र नेपाल र नेपालीको भलोका लागि सक्दो भूमिका निभाउनु पर्नेमा जोड दिए।

नेपालीहरु बिचको भावनात्मक एकता विश्वकै लागि प्रेरणादायी रहेको जिकीर गर्दै भण्डारीले भावनात्मक एकताको बलमा अघि बड्न उनले सुझाएका थिए। नेपाली भाषा तथा साहित्य नेपाल र नेपालीको पहिचान भएकोले, त्यसको संरक्षण तथा संवर्धनमा सबैले सक्दो योगदान पुर्याउनु पर्ने उनको तर्क थियो। विश्वमा शान्तिको कामना गर्ने नेपालीहरुको भावना र चाहनालाई स्मरण गर्दै उनले आफ्नो शुभकामना मन्तव्यको अन्तमा सोस्तीक वाचन समेत गरेका थिए। अनेसास केन्द्रीय महासचिव बिमला निरौला र बोस्टन च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक महेश्वर पन्तद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको उद्घाटन-सत्रमा, विशेष अतिथि सामाजिक अभियान्ता प्रल्हाद केसी, अनेसास बोर्ड अफ ट्रसी (BoD)का सभापति पदम विश्वकर्मा, अतिथिहरु ग्रेटर बोस्टन नेपाली समूदाय(GBNC)की अध्यक्ष अन्जु थापा, एएनए(ANA)का अध्यक्ष विजयराज भट्टराई, पशुपतिनाथ तथा बुद्ध फाउन्डेशनको बोर्ड अफ ट्रसी (BoD)का अध्यक्ष शुशिल पोखरेल लगायतले सम्मेलनको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनको कार्यक्रम तालिका अनुसार उद्घाटन-सत्र पश्चात् अनेसास अन्तर्गका च्याप्टरहरुको वतर्मान अवस्था, गतिविधि र भावी योजनामाथि छलफल गरिएको थियो। छलफलका क्रममा १७ वटा च्याप्टरहरुले आ-आफ्नो कार्यप्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए। यसैक्रममा केही सहभागीहरुले साहित्यिक सामग्रीहरु प्रस्तुत गरेर सम्मेलनलाई साहित्यिक माहोलमा परिणत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यति मात्र नभएर साँझपख अनेसास साँस्कृतिक समितिद्वारा प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रमले, सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो। अनेसास केन्द्रीय साँस्कृतिक समितिका उपसंयोजक सागर खतिवडाको नेतृत्वमा रहेको सम्मेलन साँस्कृतिक समितिले प्रस्तुत गरेको ‘साँस्कृतिक साँझ’मा कलाकारहरुका बिच ‘झिमझिम सानु …नझिम्क्याउ परेली’ भाकामा जोडकातोड दोहोरी जम्दा, सहभागीहरुले कलाकारहरुलाई खुलेर गाउदै/नाच्दै साथ दिएर भरपूर मनोरञ्जन लिन/दिन चुकेनन्।

नेपाली रंग, नेपाली पन, नेपाली तन र नेपाली मनको यथोचित समिश्रण भएको साँगीतिक माहोलमा, सहभागीहरुले भरपुर अर्ग्यानिक नेपाली साँगीतिक आनन्द लिएको अनुभूति गरेको प्रष्टिन्थ्यो। साँगीतिक साँझमा कलाकारहरुले गीतहरु गाउनुका साथै आकर्षक नृत्यहरु पनि प्रस्तुत गरेका थिए भने, नारी सशक्तिकरणको अमूल्य सन्देश बोकेको साहित्यिक रचनालाई, नाटक मार्फत सहभागी सामु पस्किएका थिए।

कार्यक्रम तालिका अनुसार सम्मेलनको तेश्रो दिन अर्थात् मार्च १२ आइतवार, महिला सम्मेलन अन्तर्गत विविध क्रियाकलापहरु गरिएको थियो।कार्यक्रम तालिका अनुसार नेपाली महिलाहरुको वर्तमान लेखन अवस्था, सम्भावना र चुनौतीका बिषयमा विशेष छलफल गरिएको थियो। यसक्रममा २४ वटा देशका २१ जना महिला कथाकारहरुले लेखेका कथाहरुको संग्रह ‘शृजनामा नारी’ (अंक तीन) सार्वजनिक गरिएको थियो। ‘शृजनामा नारी’ कथासंग्रह हरेक सम्मेलनमा सार्वजनिक गरिदै आइएको छ।

सम्मेलनको दौरानमा विश्य काव्य उत्सवको पनि आयोजना गरिएको थियो। जस अन्तर्गत ८६ भन्दा बढी साहित्यकारहरुले मर्मस्पर्शी कविताहरु वाचन गरेका थिए। कार्यक्रममा अनेसास हिजो, आज र भोली तथा प्रवासमा नेपाली साहित्यको अवस्थाका बारेमा गाम्भीर्य चिन्तन मननसहितको छलफल गरिएको थियो।

यसैबिच, सम्मेलनको अवसर पारेर अनेसासले सहित्यकार तथा समाजसेवी रोहिणी शर्मालाई अभिनन्दन गर्यो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी(BoD)का निवर्तमान सल्लाहकार समेत रहेका शर्माले, नेपाली भाषा र साहित्यको उथ्थान, संरक्षण, सम्बर्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभिनन्दन गरिएको थियो।

यसैगरी, संस्थाले अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्य रत्न-२०२३’ र बोर्ड अफ ट्रस्टीका निवर्तमान सभापति गीता खत्रीलाई ‘अनेसास डायसपोरा नारी रत्न -२०२३’ पुरस्कार प्रदान गरेको थियो। पुरस्कृत द्वयलाई जनही ५०१ डलर नगदसहित सम्मान-पत्र प्रदान गरिएको थियो भने, अमेरिकामा रहेर नेपाली भाषा पाठशाला सञ्चालन गरी नेपाली भाषा तथा कला प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अमेरिकाको न्यूयोर्क स्थित सरल नेपाली पाठशालाकी प्रशिक्षक लिङखा मगर र भर्जिनिया स्थित शिक्षा सदन पाठशालाकी प्रशिक्षक जानु ओझालाई, ‘अनेसास आदर्श गुरूआमा सम्मान-२०२३’ द्वारा सम्मान प्रदान गरियो। सम्मानित व्यक्तित्व मगरलाई नगद ४ सय डलरसहित सम्मान-पत्र र ओझालाई नगद २ सय डलरसहित सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो।

सम्मेलनमा दुइसय ५० भन्दा बढीले सहभागिता जनाएका थिए। सन् १९९१ मा स्थापित यस संस्थाको हाल केन्द्रीय कार्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ। ५० भन्दा बढी देशमा ८० वटा च्याप्टरहरु रहेको यस संस्थामा हाल २४ सय बढी आजीवन सदस्यहरु रहेको संस्थानले जनाएको छ।