मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन

वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । आज साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र होलीमय हुन्छ ।

ती एक प्रेमिल जोडी पनि आज बिहान मैतीदेवीस्थित आफ्नै कोठाबाट एकापसमा रङ्ग दलेर होलीको सुरुआत गरी न्युरोड आइपुगेका हुन् । साथीहरुबीच खुसी साट्दै र रङ्ग दल्दै निस्किए । न्युरोड आइपुग्दा पाँच प्रेमिल जोडीको एक समूह बन्यो ।

होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरुको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन ।

सबैका हातहातमा रङ्गका पोका थिए । वसन्तपुरमा पुगेर फागु खेल्न धोको बाँकी नै थियो । भेटेका अन्य समूहले रङ्ग दल्दा उनीहरु पनि उक्त समूहलाई रङ्ग दलेर ‘ह्याप्पी होली’ भन्दै मच्चीमच्ची उमङ्ग साटासाट गर्थे । त्यो समूहकी एक कृपा शर्माले भनिन्, “यो प्रेमिल अनि रङ्गीन पर्व हो, होलीमा लगाइएको रङ्ग आफैँमा विशेष र स्मरणयोग्य हुने भएकाले यो बेला जोडिने सम्बन्ध अटुट बन्छ ।” त्यही कारण होली पर्व मनाउन कहिल्यै नछुटाउने गरेको उनले बताइन् ।

उनको जस्तै अन्य युवा समूह आ–आफ्नै रङ्गीन संसारमा होली खेल्दै सडकभरि हिँडिरहेका काठमाडौँ चोकचोकमा यत्रतत्र थिए । अन्यत्रको भन्दा बढी मानिसको भीडभाड भने वसन्तपुरमै थियो । मध्य दिउँसो नै न्युरोडदेखि वसन्तपुरसम्मको सडकमा सवारी नै प्रभावित हुने गरी होली पारखीहरु भेला भइसकेका थिए ।

होली मनाउनेहरुको भीडले प्रहरीले त्यहाँको भित्री सडकमा यातायात आवागमन रोकेको थियो । प्रहरीले ठाउँठाउँमा सवारी साधन जाँच अभियानलाई पनि तीव्रता दिइरहेको थियो । तर सवारी साधन न्यून मात्रामा सञ्चालन भएकाले आज पैदल हिँड्नेको जमात बढी थियो । प्रहरी प्रवक्ता पोषराज पोखरेलले होलीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न बाक्लो प्रहरी परिचालन गरिएको बताए ।

काठमाडौँको वसन्तपुर मात्रै होइन, कलङ्की, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साललगायत उपत्यकाका हरेक क्षेत्रमा युवाहरु समूह बनाएरै होलीमा रमाइरहेका भेटिए । कतै गीत सङ्गीतमा झुमेका पाइए ।

होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्व विशेष रहेको कुरा स्पष्ट हुन्छ ।

‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी शुभकामना सन्देश र ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वस छ’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जारी शुभकामना सन्देशले पनि होली एउटा साझा संस्कृति हो र भाइचारा प्रवर्द्धनको महत्त्वपूर्ण कडी हो भन्न सकिन्छ ।

यस्ता पर्वहरुले आम नेपाली बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास गर्न सकिन्छ ।

बोटबिरुवाले पनि रङ्ग बदलेर उमङ्ग थपिदिने समयको सुरुआत होलीबाटै हुन्छ । होलीले वसन्त ऋतुकै प्रतिविम्बित गरिदिन्छ । होली प्रेम र आकर्षणको उत्सव मात्रै होइन सत्य र निष्ठासँग पनि जोडिन्छ ।

होलीमा दलिने सप्तरङ्गी रङ्गले मानव जीवन सधैँ सप्तरङ्गी हुनुपर्छ भन्ने सन्देश पनि दिने न्युरोडमा भेटिएको एक बटुवा कृष्णहरि नेपालले बताए । उनले पछिल्ला समयमा होलीलाई हिलो छ्यापाछ्याप गर्ने, मदिरामा लट्ठिने र जथाभावी रुपमा सवारी चलाएर दुर्घटनाको कारक बन्ने गर्नु उपयुक्त नहुने तर होलीलाई उमङ्गकै रुपमा रङ्ग दलेर खुसी साटासाट गरेर मनाउनुपर्ने बताए ।

होली पर्वमा रङ्ग मात्रै दलिँदैन गीत÷सङ्गीत र नृत्य एक साथ पस्किने हुँदा उल्लास थपिदिन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त नेपालमा मनाइने होलीलगायतका पर्वहरुले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैको एउटा द्योतक हो होली पर्व ।

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति हो । फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा समेत लिइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ विजयी गरेपछि होलीको परम्परा सुरु भनेर पनि मान्ने गरिन्छ । त्यही सम्झनामा नेवार समुदायले वसन्तपुरमा रङ्गीन चीर गाडेपछि होली सुरु भएको भनी मान्दै पनि आएका छन् ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी र भक्त प्रह्लाद नजलेको कथासँग होली पर्व जोडिएको छ ।

अर्को कथा पनि होलीसँग जोडिएको छ । द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशले पठाएकी पुतनाले स्तनमा विष दलेर चुसाउन लाग्दा उनको प्रयास सफल हुन नसकि मारिइन् । त्यो बेला उनलाई जलाएर होली उत्सव गरिएकाले पर्वको सुरुआत भएको पनि मानिन्छ ।

होलीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको प्रतीकका रुपमा स्मरण गरिन्छ र त्यही अनुसार मनाइन्छ । त्यसैको रिस र द्वेष त्यागेर प्रेम र भाइचाराका साथ एकापसमा रङ्ग दलेर होली मनाउनु नै खास होली अर्थात् फागु हो । आज पहाड तथा हिमाली क्षेत्रमा र भोलि तराईमा होली पर्व मनाइन्छ ।