मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

अमेरिकाको बोस्टनमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

अमेरिकाको बोस्टनमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो


यस वर्षका लागि तय गरिएको ‘Embrance Equity’ भन्ने मूल नारालाई कार्यक्रमको मुख्य केन्द्रबिन्दु बनाउदै अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो। हरेक वर्षको मार्च ८ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने चलन छ। सोही अवसर पारेर मार्च ५ तारिख आइतवारका दिन नेपाली मूलका नारीहरुको सक्रियतामा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो।

कार्यक्रम सन् २०१६ मा स्थापित नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इग्ल्याण्ड च्याप्टर, बोस्टन Nepali Women’s Global Network(NWGN),New England Chapter, Boston ले आयोजना गरेको थियो। संस्थाकी अध्यक्ष सुमन नेपालले अध्यक्षता गरेको कार्यक्रममा, डाक्टर शान्ता पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि डा.पाण्डेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै तुलनात्मक रुपमानारीहरुको अवस्थामा सुधार हुदै गइरहेको भएतापनि नारी सशक्तिकरणका लागि सबै मिलेर अझै धेरै काम गर्नु पर्ने जिकीर गरेकी थिइन्। त्यसका लागि निति निर्माण गर्ने तहदेखि नै काम गर्नु पर्ने उनको जोड थियो।

प्रमुख अतिथि डा. पाण्डेले पानसमा बत्ती बालेर उद्घाघन गरेको कार्यक्रमको सुभारम्भ, नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर /गाएर गरिएको थियो। कर्यक्रममा गैर आवासीय नेपाली संघ, अमेरिकाकी महिला उपाध्यक्ष दिक्षा बस्नेत, आइसिसि(ICC)की महिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए(NRNA) की सचिव सुनिता कंडेल, एनआरएनए(NRNA)की महिला संयोजक सुन्दरी गुरुङ, ग्रेटर बोस्टन नेपाली समुदाय(GBNC) की अध्यक्ष अन्जु थापा, मितेरी संस्थाका अध्यक्ष प्रभाकर काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्य गरी अन्तर्राष्ट्रिय नारी दिवस, नेपाली नारीहरुको अवस्था, भूमिका, दायित्व, अवर चुनौती लगायतका बारेमा चर्चा परिचर्चा गरेका थिए।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र नेपाली समुदायका नारी तथा पुरुषको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा, एनडब्लुजिएन(NWGN) की पूर्वअध्यक्ष तथा बोस्टन च्याप्टरकी सल्लाहकार रुकमिणी कार्कीले संस्थाको परिचय प्रस्तुत गर्दै संस्थाद्वारा हालसम्म गरिएका प्रमुख क्रियाकलापहरुका बारेमा जानकारी दिएकी थिइन भने, मासाच्युसेट्स च्याप्टरकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रममा सहभागी हुने प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै  स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रमको दौरानमा संस्थाकी उपाध्यक्ष रोशना घिमिरे न्यौपानेले आफ्नो कथा प्रस्तुत गरेकी थिइन्। आफ्नो जीवन भोगाइलाई समेटेर गरिएको उनको प्रस्तुतिलाई, सहभागीहरुले उर्जाशील प्रेरणाको श्रोत भनी तारिफ गरेका थिए।

यसै अवसरमा, प्राध्यापक डाक्टर कल्पना दुवाडीले आफ्नो नेपालदेखि अमेरिकासम्मको जीवनयात्रालाई सफलताको कथाका रुपमा प्रतुत गरेकी थिइन् भने, मानसिक समस्याहरुका मुद्दाको क्षेत्रमा कार्यरत प्राविधिक सामाजिक कार्यकर्ताहरु द्वय भुमि अर्याल र वेन्डी वेबरले आफ्नो अध्ययन, अनुसन्धान र कार्य अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै एनडब्लुजिएन(NWGN)की पूर्वकेन्द्रीय अध्यक्ष कार्कीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइन्। कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै उनले भनिन्,
‘ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सारै खुशी भएका छौं। साथ, सहयोग दिनुहुने र कार्यक्रममा सहभागिता जनाउनु हुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद छ। आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दछौं।’

कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै नारीहरुको अधिकार, नारी हिंसा, शोषण, भेदभाव, समानता, सशक्तिकरण, अवसर, चुनौती जस्ता महत्त्वपूर्ण सवालहरुमा केन्द्रीकृत भएर बहस गरेका थिए। कार्यक्रमको दौरानमा नेपालीपन र नेपाली संस्कृति झल्काउने विभिन्न भेषभुषाको समेत प्रदर्शन गरिएको थियो।

संस्थाको कार्यसमितिकी सदस्य सलोनी भण्डारीले सञ्चान गरेको कार्यक्रमको अन्तमा, संस्थाकी अध्यक्ष सुमन नेपालले प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी थिइन्।

यतिबेला संसारभर विविध क्रियाकलापहरु गरेर ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइदै छ। यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा होमिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो। यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ। उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस विश्वव्यापी हुन पुगेको हो।