मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

लागूऔषध दुव्यर्सनी अपराध होइन : सरोकारवाला

लागूऔषध दुव्यर्सनी अपराध होइन : सरोकारवाला


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

भरतपुर । लागूऔषधको प्रयोग अपराध नभएको सरोकारवालाले दाबी गरेका छन् । लागूऔषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्ने वक्ताले लागूऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा हेर्न नहुने बताएका हुन् ।

नेपालको कानुनले लागूऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरूको भनाइ थियो । लागूऔषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरूले यसलाई सुधार गर्नका लागि राज्य र समाज एक भएर लाग्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागूऔषध प्रयोगकर्ता बढ्दै जाँदा रोगको रूपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताए । लागूऔषध प्रयोगकर्ता कम गर्न विद्यालयस्तरबाट सचेतना जगाउन जरुरी रहेको उनको भनाइ थियो । लागूऔषध प्रयोगकर्ता पुनःजीवन पाएपछि समाजमा फर्कंदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लागुऔषधसम्बन्धी मुद्दा जटिल भए पनि प्रयोगकर्ता कम हुन नसक्नु समस्याका रूपमा रहेको बताए । प्रयोगकर्तालाई अपराधीका रूपमा नहेरी रोगको रूपमा हेरेर समाजबाटै सुधार गर्न सकिने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागूऔषधको हिस्सा रहेको बताए । यसलाई रोगका रूपमा लिएर परिवारबाट समाधान खोज्न सके प्रभावकारी हुने उनले बताए ।

सेभ द चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी शेर्पाले लागूऔषधसम्बन्धी कानुन परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याका रूपमा लागूऔषध प्रयोगकर्ता रहेको बताए । कानुनीरूपमा जाँदा अपराधीका रूपमा हेरिँदा उनीहरूको मनोबल गिर्दै गएको उनले बताए । उनले भने, “समाज परिवर्तनका लागि पनि लागूऔषध प्रयोगकर्तालाई अपराधी नभई रोगीका रूपमा हेरिनु जरुरी छ ।”

बोल्दै द रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुँयाल शर्माले नेपालमा अहिले एक लाख ३२ हजार लागूऔषध प्रयोगकर्ता रहेको जानकारी दिए । लागूऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत विवाहित रहेको उनले जानकारी दिए । पछिल्लो समय लागुऔषधको प्रयोग गर्नेहरूमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेको उनले बताए ।

उनले भने, “लागूऔषध प्रयोगकर्तामध्ये सुईको प्रयोग गर्ने अधिकांशलाई हेपाटाइटिस बीको सङ्क्रमण देखिएको छ ।” यसलाई रोक्नका लागि राज्यले पुनःस्थापना केन्द्रलाई क्षमता अभिवृद्धि तालिम, व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उनले बताए । लागूऔषध प्रयोगकर्तालाई सुधार गर्ने खालका कानुन आउन नसक्नु दुःखद् रहेको उनको भनाइ थियो ।

भेलामा तीनवर्षे अभियानको समेत सुरु गरिएको छ । ‘स्वास्थ्य रोजौँ लागूऔषध होइन’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिलीप गुरुङ र प्रदेश अध्यक्ष दिवाकरराज श्रेष्ठले लागूऔषध प्रयोग घटाउन समुदायस्तरबाट एक भएर लाग्न जरुरी रहेको बताए ।

उनीहरूले लागुऔषध प्रयोगकर्ता अपराधी नभएको बताए । भेलाले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । शुक्रबारसम्म जारी भेलामा देशभरका एक सय ५० पुनःस्थापना केन्द्रका प्रतिनिधि सहभागी भएका छन् । रासस

शेयर गर्नुहोस:

27
Shares