मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

जगतमा प्रेमको अर्थ, महत्व र भूमिका

जगतमा प्रेमको अर्थ, महत्व र भूमिका

सन्दर्भ: भ्यालेन्टाइन डे-फेब्रुरी १४


भनिन्छ संसार प्रेममय छ। सृष्टिले नै एक अर्कालाई प्रेमले जोडेको छ।अर्थात सृष्टिको मुलभूत वरदान नै ‘प्रेम’ हो। जो हर कोहीलाई निशुल्क उपलब्ध छ। तर, यथार्तमा भने त्यस्तो देखिदैन, बुझिदैन र अनुभूति गरिएको भेटिन सारै मुस्किल छ। यो मायावी संसारमा मानिस प्रेमबाट अछुतो रहन सक्दैन भन्दा अतिशयुक्ति नहोला।

प्रेमलाई बुझेर होस् या लहिलहिमा, जानेर होस् या अन्जानमा, रहरमा होस् या कहरमा प्रेम प्राप्तिका लागि मानिस मृगतृष्णा झै जीवनभर भौतारिरहन्छ।र, त्यस दौरानमा आफ्नो भोगाइको अनुभूति अनुसार उसले प्रेमलाई बुझ्ने र बुझाउने गर्दछ।

मुलभूत रुपमा प्रेमको साब्दिक अर्थ र गुदी कुरा एउटै भएतापनि प्रेमलाई प्रभावित गर्ने अनेक कारक तत्वहरु हुने भएकाले, यसको परिभाषा र व्याख्यामा एकरुपता देखिदैन। आ-आफ्नो सुनाइ ,हेराइ, सोचाइ, बुझाइ र भोगाइ अनुसार कसैले ‘प्रेम’ प्राप्ति हो भन्छन् भने कसैले त्याग। कसैले करुणा हो भन्छन् त, कसैले समर्पण। कसैले बन्धन हो भन्छन् त, कसैले स्वतन्त्रता। कसैले आनन्द अनुभूतिको सार तत्व हो भन्छन् त कसैले प्रकृतिको उपहार। कसैले ‘समास’ को सुत्रधार हो भन्छन् त कसैले बिग्रह’को आधार। कसैले ‘मानवता’ भन्छन् त कसैले ‘सभ्यता’। कसैले ‘सत्य’ हो भन्छन् त कसैले ‘भ्रम’। कसैले ‘पिडा’ हो भन्छन् त कसैले ‘सुख’। कसैले जीवनको ‘धर्म’ हो भन्छन् त कसैले ‘कर्म’। कसैले ‘न्याय’ हो भन्छन् त कसैले ‘संझौता’। कसैले सृष्टि हो भन्छन् त कसैले बिनास । कसैले सृष्टिको अमृत हो भन्छन् त कसैले विष।कसैले भगवानको ‘वरदान’ हो भन्छन् त कसैले ‘श्राराप’।कसैले आकर्षण हो भन्छन् त कसैले कला । कसैले जीवन जीउने ‘साधन’ हो भन्छन् त कसैले जीवनको ‘साध्य’। यस्तै यस्तै अनेक खाले अर्थहरु लगाउने, परिभाषाहरु दिने र व्याख्याहरु गर्ने गरिएको पाइन्छ ‘प्रेम’का बारेमा। धर्म, विज्ञान, मनोविज्ञानले पनि प्रेमका बारेमा आ-आफ्नो क्षेत्र अनुसार भिन्न भिन्न धारणा राखेका छन्। जस अनुसार

क) धार्मिक ग्रन्थहरुले यस ब्रह्माण्डको सृष्टि भगवानले गरेको हो। र, प्रेम त्यही सृष्टिको एक हिस्सा हो भनेर अर्थ्याएको पाइन्छ। जस अुसार ‘ प्रेम’अन्तर हृदयबाट उत्पन्न सकारात्मक भाव हो। जसले प्राणी जगतप्रति सुभावना लिएर माया तथा करुणा दर्शाउदछ।
ख) विज्ञानले प्रेमलाई एक केमेस्ट्रीका रुपमा चित्रण गरेको छ। जैविक रुपमा जिवात्मामा हुने भोक या प्यासको गुण जस्तै प्रेम पनि एक न्युरोलोजिकल स्थिति हो। जसको दिर्घायु हुन्छ।जसलाई हामीले लामो समयसम्म अनुभव गर्न सक्छौं। धेरैजसोले भन्ने गर्छन, प्रेम अन्धो हुन्छ। किनभने यसमा हाम्रो कन्ट्रोल हुँदैन् ।प्रेम अस्थायी यौनइच्छा हो, जसमा केहि रसायन टेस्टोस्टेरोन र ओस्ट्रोजन हुन्छ। सच्चा प्रेममा मस्तिष्कबाट अन्य रसायनको मिश्रण फेरोमोस, डोपामाइन, नोरएपिनफ्राइन, सेरोटोरिन, अक्सीटोसिन, वेसोप्रेसिन निस्कन्छ भनेर अर्थ्याएको छ ।
ग) यसैगरी, मनोविज्ञानले प्रेमलाई प्राकृतिक शक्ति मानेको छ। उसका अनुसार प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । जस्तो मौसम, चन्द्रमा या सौर्यमण्डल । जसमा हाम्रो कन्ट्रोल हुँदैन् ।

त्यसैगरी, विभिन्न कालखण्डमा संसारका विभिन्न चर्चित व्यक्तित्वहरुले पनि प्रेमलाई सार्थक जीवनका लागि एक अपरियार्य तत्वका रुपमा अर्थ्याएको पाइन्छ।प्राणी जगतका लागि प्रेमको भूमिका, महत्व र गरिमालाई थप दर्शाउन, केही विश्व चर्चित आदर्श व्यक्तित्वहरुको प्रेम सम्बन्धि दृष्टिकोण यस प्रसंगमा संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु:

१) गौतम बुद्धलाई शान्तिका दूत मानिन्छ। उनको ज्ञानको सार तत्व ‘शान्ति’ हो। उनले जीवनमा ‘शान्ति’ प्राप्तिका लागि ‘प्रेम’अपरिहार्य हुन्छ भनि जिकीर गरेका छन्। उनले प्रेमलाई मानवको सर्वोच्च गुण मानेका छन्। उनका अनुसार प्रेम र मानवता एक अर्काका पर्याय हुन्। जीवन खुशीमय बनाउन जीवन प्रेममय हुनु पर्दछ। र, जीवन प्रेममय भए शान्ति प्राप्त हन्छ। त्यसका लागि सबैभन्दा पहिले आफै भित्र रहेको दीपलाई आफैले जलाएर जीवनको अन्तिम तथा सर्वोच्च लक्ष्य ‘शान्ति’ प्राप्तिका लागि यात्रा प्रारम्भ गर्नु पर्छ।

२) महात्मा गान्धीलाई विश्वमा सन्त नेताका रुपमा चिनिन्छ। उनका अनुसार प्रेमले बलिदान गर्न सिकाउँछ।नाफा घाटाको हिसाब गर्न सिकाउँदैन। जसले मानिसको मस्तिष्कलाई नभइ, हृदयलाई स्पर्श गर्दछ भनेका छन्।

३) आम रुपमा प्रेमलाई यौन र यौनिकतासंग जोडेर हेर्ने गरिन्छ। यस सवालमा प्राथमिकताका साथ खुल्ला बहस गर्ने एक चर्चित दार्शनिक हुन् ओशो। उनले प्रेमका बारेमा व्याप्त रहेको भ्रमलाई चिर्न खुला बहसको अपरिहार्यतालाई दर्शाएका छन्। उनले ‘प्रेम’ लाई अहङ्कारसंग तुलना गर्दै भनेका छन् कि ‘प्रेम’ झुक्ने गुणले भरिपूर्ण हुन्छ।तर, अहंकार कदाचित् झुक्न चाहँदैन। अहंकारसँग मित्रता बढाउन उसको हात समाउन खोज्यो भने, उसले आफ्नो हात अझ माथि उठाइदिन्छ। समाउन दिदैन। किनकी अहंकारले आफू नै सर्वेसर्वा भएको र हुनु पर्ने ठान्दछ। आफू बराबर कसैलाई हुनै दिँदैन।तर, प्रेमले अरुलाई पनि आफू सरह उच्च बनाउन चाहन्छ। वा आफू पनि अरु सरह समान उचाइमा रहन तयार हुन्छ।ओशोले जीवनको अन्तिम क्षणसम्म प्रेम गर्नुलाई पागलपनको संज्ञा दिएका छन्।

४) कबीरदास एक अर्का दार्शनिक हुन्। जसले प्रेमलाई पृथक दृष्टिकोणबाट अर्थ्याएका छन्। उनले ‘प्रेम’ स्वतन्त्र अवस्था हो भनेका छन्। उनका अनुसार ‘जहाँ जीवन बन्धनबाट मुक्त हुन्छ, त्यही नै प्रेम हो।’ भनेका छन्।

५) पाउलो कोएलोले भनेका छन् कि प्रेम एउटा दान हो, भिक्षा होइन । प्रेम माग होइन, भेट हो । प्रेम भिखारी होइन,सम्राट हो । जो माग्छ र जसले बाँड्छ त्यसलाई प्रेम मिल्छ।

७) हेलन केलरका अनुसार प्रेमले कहिल्यै दावा गर्दैन, प्रेमले मात्र दिइरहन्छ, प्रेम हमेसा कष्ट मात्रै सहन्छ,न त कहिल्यै अल्झिन्छ नत कहिल्यै बदलिन्छ।

यसरी विविध कारणले मानिसले गरेको सुनाइ, पढाइ र भोगाइ अनुसारको बुझाइले सोचाइको निर्क्योल गर्ने भएकाले, प्रेमको परिभाषामा पनि मतैक्यता छैन। यहाँ मैले प्रेमका बारेमा व्यक्त गरेको बिचार पनि त्यसैको परिणाम हो। जो कसैसंग मेल खान पनि सक्छ । नखान पनि। यद्यपि, हर मानिसले प्रेम जीवनको केन्द्रमा रहेको कुरा भने नकार्न सक्दैन।त्यसैले उसले प्रेमलाई केन्द्रमा राखेर आफ्नो जीवनयात्रालाई अघि बढाइरहेको हुन्छ। प्रेमका विविध आयामहरु हुन्छन्। जसले प्रेमप्रतिको दृष्टिकोणमा फरक पार्दछ। प्रेमलाई प्रेमी र प्रेमिकाको भौतिक तन र अभौतिक मनहरुले आपसी सम्बन्धलाई पुजनीय बनाउन खेल्ने भूमिकाका आधारमा बुझ्दा, बुझाउदा र व्याख्या गर्दा शिव पार्वती, सिता राम, मुना मदन, रोमियो जुलियट, भ्यालाइनटाइन आदि जोडीहरुलाई उच्च प्राथमिकताका साथ उदाहरणका रुपमा पस्किने गरेको पाइन्छ। मुलत: वियोगान्तमा आधारित यि जोडिहरु बिचको प्रेममा त्याग, प्राप्ति, ममता, करुणा, आदर, सम्मान, जोखिम, जिम्मेवारी, खुसी, आनन्द, रोधन, अनुशासन, चरित्र, निष्ठा, प्रतिष्ठा, अडान, सत्य, पूजा,प्रार्थना, धर्म,कर्म, कामना आदि समेटिएको पाइन्छ।जसले गर्दा व्यवहारिक जीवनमा प्रेमलाई बुझ्न/बुझाउन खोज्दा, यि जोडीहरुको संझना र चर्चा परिचर्चा गर्नु अपरिहार्य जस्तै भएको छ।

विशेष गरी प्रेमको चर्चा परिचर्चा फेब्रुरी १४ तारिख वरपर व्यापक रुपमा हुने गर्दछ। जुन दिन भ्यालेन्टाइन डे पर्दछ। जसलाई प्रेम दिवस अर्थात प्रणय दिवस पनि भन्ने गरिन्छ।र, सोही अनुरुप विश्वभर व्यापक रुपमा मनाउने पनि गरिन्छ। यस वर्षको भ्यालेन्टाईन डे पनि नजिकिदै गर्दा यसको चहल पहल र चर्चा परिचर्चा पनि बढ्दै गइसकेको छ। मानिसहरु यस दिनलाई यादगार र उपलब्धिमुलक बनाउन योजना बनाई आवश्यक तयारीमा समेत जुटिसकेका छन्। केही बर्ष अघिसम्म पश्चिमेली संस्कृति र चाडका रुपमा मात्र पहिचान बनाएको यो दिवस केही बर्ष यता विश्वब्यापीकरण हुन सफल भएको छ। हिजोआज यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेर थोर परेकै छ । यसबाट पुर्वेली समाज पनि अछुतो रहन सकेको छैन।

पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ। यो दिवसलाई अबिबाहितहरुले आफूले मन पराएकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम संबन्धलाई अझ कसिलो, विश्वसनीय र परिपक्क बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दामपत्य जीवनमा परिणत गर्ने, दामपत्य जीवन बिताइ रहेकाले दामपत्य जीवनयात्रालाई अझ सुखमय, सुरक्षित, आनन्दमय र दिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको पाइन्छ ।

प्रेम प्रस्ताव गर्न, प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन, दामपत्य जीवनलाई सुखमय, आनन्दमय र दिर्घायु बनाउन र प्रेमलाई अमर बनाउन समर्पित भएर आवश्यक सक्दो भूमिका निर्वाह गरिरहेको र प्रार्थना गरिरहेको प्रमाण स्वरुप मनोभावना ब्यक्त गर्नका लागि मुख्य गरी प्रेम पत्र, उपहार, कार्ड र गुलाफको फूलको सहायता लिने गरिन्छ। हिलो आज यस्ता प्रेमको प्रतिक मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग गरिएको पाइन्छ। हिजोआज यो दिवस सबै उमेर समूहले धेर थोर मनाउने गरेका भएतापनि, मुख्य गरी युवापुस्तामा बढी प्रथमिकता पाउदै गइरहेको छ । त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर सोही अनुरुप मनाउने गर्दछन् त कोहीले रहरमा, लहडमा र कहरमा। दिवसको मर्म विपरित रमाईलोका लागि मात्र मनाउनेको जमात पनि कम छैन। यसले समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई पनि नकार्न सकिदैन। विभिन्न धर्म, शास्त्र, विद्वान, दार्शनिक र सक्कली प्रेमी प्रेमिकाहरुले प्रेमका बारेमा व्यक्त गरेका अमुल्य धारणाहरु, समाजमा देखिएका प्रभावहरु र परिणामहरुलाई चिन्तन मनन गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ कि…

– ‘प्रेम’-चिन्न सके सृखण्ड, नसके खुर्पाको बिंड।
-‘प्रेम’ -निभाउन सके साथ, नसके घात।
-‘प्रेम’-उपभोग गर्न जाने अमृत, नजाने विष।
-‘प्रेम’-लिनदिन सके आनन्द, नसके पिडा।
-‘प्रेम’-गहिराइमा डुब्न सके स्वर्ग, नसके नरक।
-‘प्रेम’-पूजनीय भए बरदान, नभए श्राप।

तसर्थ, सार्थक जीवन जिउन प्रेमको अति नै महत्वपूर्ण भूमिका रहने भएकाले प्रेमयात्रा गर्दा यसको मर्मलाई आत्मसात गरेर होसियारीपूर्वक अघि बढ्नु जरुरी छ। नत्र जीवन निरर्थक हुन्छ।भन्ने बिचार राख्दै भ्यालेन्टाइन/ प्रेम/ प्रणय दिवसको यो प्रेममय घडिमा सबैको जीवनयात्रा प्रेममय र सार्थक बन्न सकोस् ! यहीँ नै कामना !