काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् ।
आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्कोलाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताए ।
आगामी आवको स्रोतको अनुमान र बजेटको आकारमाथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । “त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ”, उनले भने ।
सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको र यो पर्याप्त नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । “हामी खर्च कटौतीमा लागिसकेका छौँ । धेरै ठाउँबाट काम नलाग्ने नीति र काम नलाग्ने संरचना हटाउन आवश्यक रहेको भनेर सुझाव आएको भए पनि के कस्ता नीति र संरचना हटाउने भनेर हामी स्पष्ट हुन जरुरी छ”, उनले भने ।
बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलन पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्ने बताए । “राजस्व सङ्कलनमा यो वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन गत वर्षको भन्दा न्यून राजस्व उठेको छ । यसमा हामी नीतिगतरुपमा वा कार्यसम्पादन क्षमतामा चुकेका छौँ । औसत किसिमको प्रयासबाट मात्र यो समस्याको समाधान हुन सक्दैन”, उनले भने । त्यस्तै आगामी आवको बजेटमा पूर्वतयारी सकिएका आयोजनालाई मात्रै प्राथमिकता दिने पनि पौडेलले बताए ।
प्रतिक्रिया