सञ्जय घिमिरेलाई म एउटा शालीन , स्निग्ध र शान्त स्वभावको मान्छे ठान्छु । तर उनको लेखकीय र पत्रकार चरित्र भने त्यो स्वभाव संगसंगै कठोर, भेग र क्लिष्ट समेत देखिन्छ । उनले अध्यात्म, दर्शन र राजनीतिदेखि अनेक विषयलाई पर्घेल्ने गर्छन् । त्यसमा उनको शिल्प शैली आफ्नै खाले हुन्छ । कतै सञ्जय बढी भावुक भएर बहकिन्छन् कतै निष्काम कर्मयोगी झैं दार्शनिकतामा हराउँछन् । बोल्दा होस् वा लेख्दा , दुबैतिर उनको स्वभाव यस्तै लाग्छ ।
गएको सेप्टेम्बर महिनामा सञ्जयले उनको नयाँ पुस्तक ‘पात्रहरु” मलाई दिए । त्यहीबेला मेरो नेपाल जाने कार्यक्रम थियो । हवाइ यात्रामा खुराक हुने लोभले पात्रहरु संगै लिएर हिंडे । तर विरामी थिएँ यात्राभर छिचोल्न सकिन । नेपाल बसुन्जेल थप यात्रा , भेटघाट र दशैं तिहार पर्वको चटारोमा पात्रहरुको अध्ययन अधुरै थियो । झण्डै तीन महिना पश्चात अमेरिका फर्केपछि बाँकी पढेर सिध्याएँ ।
सञ्जयका पात्रहरु कोही परिचित छन् कोही नितान्त नयाँ, परदेशका पात्रहरु । उनका घरआँगनका , स्कुलका र पेशागत पात्रहरु सरल र स्वभाविक लाग्छन् । अर्कोतिर उनले अमेरिकामा संगत गरेका पात्रहरु हाम्रो सामाजिक परिवेश , परम्परा र बुझाइ भन्दा अलग छन् । गणित शिक्षक , सुमित्रा , हजुरआमा मैले नचिनेर पनि परिचित लाग्छन् । चिनिरहेका डा दुर्गा भण्डारी र थानेश्वर सपकोटा भेट्दा अरु नजिक लाग्छन् । पात्रहरुमा लेखकले अमेरिका भित्रको अर्को अमेरिका खोजेका छन् । बाहिरी आवरणमा भेटिने संभ्रान्त अमेरिका र भित्री रुपमा गुम्सिएको अमेरिकालाई पात्रहरुले प्रतिनिधित्व गरेका छन् । मेरो आफ्नै अनुभवले पनि देखेको अमेरिकी समाजको भित्री पाटो सञ्जयले भेटेका पात्रहरुसंग धेरै तालमेल राख्ने रहेछ ।
टेक्सासमा एपार्ट्मेन्ट म्यानेजर भएर मैले दशवर्ष बिताउँदा गरिबी
, अपराध र कुकर्मका थुप्रै सत्यसंग जम्काभेट भयो । ड्रग, सेक्स र लुटपाटको जालो कति जब्बर भएर फैलिएको रहेछ , मैले अनुभव गरेँ । यहाँका सि क्लासका एपार्टमेन्टहरुमा हुने डरलाग्दा कर्तुत ,त्यस्ता घटना लिएर पुलिस र अदालत धाउँदाका सन्दर्भ सञ्जयले क्यालिफोर्नियामा भेटेका पात्र र तिनिहरुका कथाहरुसंग धेरै मेल खाने रैछन् । पिशाव किनेर श्रीमानलाई बचाउन चाहने एलिशको कथा एकातिर, अर्कोतिर लुलु र अल्बर्टो प्रशंग , सबै अर्को अमेरिकी समाजका यथार्थ हुन् । कति ठुलो खाडल छ यो समाज भित्र , लेखकले पात्रहरु मार्फत उजागर गरेका छन् । रक्सी , ड्रग्स र सेक्स । विपन्नता , होमलेस -लेखकले पात्रहरु मार्फत अमेरिकी समाजको यि डरलाग्दा अवयव माथि प्रहार गरेका छन् ।पुस्तकमा कोराना कहर पनि जोडिएको छ । तर यहाँनेर लेखक पात्रहरुबाट विमुख भएको जस्तो लाग्छ । त्यो कहरको भावावेश र त्यस्ले उत्पन्न गरेको अनुभुतिमा लेखकका पात्रहरु हराएका हुन् कि !
धर्म्, संस्कार र परम्परा , ति भित्र पनि पात्रहरु खोज्ने प्रयत्न गर्छन् सञ्जय । विविध धर्मका विविध पात्रहरु ! धर्म , संस्कार , भगवान र राजनीति भित्रका पात्रहरुको खोजिमा लेखक कतै अल्मलिएको देखिन्छ । सायद त्यसैले विषयको प्रस्तुति कतै कतै क्लिष्ट भएको हुनसक्छ । सबैतिरका पात्रहरुलाई एकै ठाउँमा समेट्ताको परिणाम होला ! देउराली , काठमाण्डौ , अमेरिका फेरि नेपाल । त्यहाँ माता , उनको प्रवचन, सन्देष र गन्थन । पात्रहरुको खोजिमा भौंतारिदै थाकेका लेखक अन्त्यमा भन्छन् -कुरा मान्छेको होइन चेतनाको रहेछ । वस्तुत: कतै भावुकतामा कतै दार्शनिकतामा सञ्जयको चेतनाको स्तर र लेखन शिल्पी यो पुस्तकमा झाल्किएको छ ।
(तारा बराल अमेरिकाको टेक्सासस्थित
ह्युस्टनमा बस्दै आउनुभएका पत्रकार हुनुहुन्छ।) Email : [email protected]
प्रतिक्रिया