गत साता भएको नेपालको संसदीय चुनावको नतिजा लगभग आइसकेको छ । एकाध क्षेत्र बाहेक सबै क्षेत्रका नतिजा सार्वजनिक भएर विजेताहरु माला पहिरिएर हिँड्ने क्रम सुरु भएको छ । पराजितहरु भने नियमित सामाजीक, घरायशी धन्दामा संलग्न भएको तस्बिरहरु सामाजीक सञ्जालहरुमा देखिन थालेको छ ।
यसपटकको चुनावले अनपेक्षित नतिजा सार्वजनिक गरेको छ । अघिल्लो पटक एमाले र माओवादीको गठवन्धनले भारी बहुमत पाएको थियो । झण्डैझण्डै दुई तिहाइको नजिक बहुमत पाएको थियो वाम गठवन्धनले । तर बीचमै स्वार्थ नमिल्दा त्यो गठवन्धन क्षत विक्षत हुनपुगेको थियो । झण्डैझण्डै मध्यावधि चुनाव भएको थियो । सिंगो नेपाल कम्युनिष्ट पार्टी तीन चीरा भयो । एमाले, माओवादी र समाजवादी नामका कम्युनिष्ट चीराहरु आए ।
त्यतिखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अतिनै अलोकप्रिय थिए । बहुमतलाई देश र जनताको हितमा लगाउन नसकेको, सत्ता उन्मादले मैमत्त भएको, मन्त्री र प्रमंका सल्लाहकारहरु छाडा भएको, कोरोनाको प्रकोपलाई भ्रष्टाचारको साधन बनाएको आरोप थियो ओलीमाथि । आरोपमात्र नभएर कतिपय तथ्यहरु सत्यताको नजिक पनि थिए ।
केपी ओली नेतृत्वको सरकार ढलेसँगै माओवादी र समाजवादीको टेकोमा शेरबहादुर देउवाको सरकार गठन भएको थियो । देउवा सरकारबाट वितेको एक वर्षमा अलोकप्रिय हुने काम त खासै भएन । तर लोकप्रिय हुने काम पनि यो सरकारबाट हुन सकेन ।
यसपटकको चुनाव प्रवासमा रहेका हामी जस्तालाई भने अनपेक्षित रह्यो । सरकार खासै अलोकप्रिय पनि नभएको र अघिल्लो सरकार निकै अलोकप्रिय हुनुका साथै तीन चीरा भएको र एमाले बाहेकका बाँकी दुई चीरा सत्ता गठवन्धनमा सामेल भएको हुँदा यो गठवन्धनले सुविधाजनक बहुमत हाँसिल गर्ने अनुमान प्रवासमा रहेकाहरुको समेत थियो ।
तर यो आलेख तयार पार्ने बेला (आइतबार राति) सम्मको निर्वाचन आयोगको तथ्यांकका आधारमा गठवन्धनले निकै कठिनाई पुर्वक बहुमत शिद्ध गर्ने संकेत देखिएको छ । प्रतिनिधि सभाका एकसय ६५ सिटमध्य एकसय ६२ सिटको नतिजा बाहिर आइसकेको छ । यस आधारमा सत्ता गठवन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले ५० सिटमा जीत हाँसिल गरेको छ । एमालेले ४१ सिट जितेको छ भने नेकपा माओवादीले १६, एकीकृत समाजवादीले ९ सिट जितेका छन् । जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीहरुले ७रु७ सिट जितेका छन् ।
निर्वाचन नतिजाले के स्पष्ट देखाउँछ भने तल्लो सदन यसपटक ‘हंग पार्लियामेन्ट’ का रुपमा स्थापित हुनेछ । स्थिती हेर्दा सरकार सञ्चालनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने देखिएको छ । तर सत्ता गठवन्धनमा सामेल दलहरुको सहयोग र विश्वास बिना संभव छैन । कथंकदाचित माओवादी र नेकपा एकीकृत समाजवादी दल टेडिएको खण्डमा सरकार जुनसुकै बेला ढल्ने खतरा रहेको छ ।
यो चुनावले चारवटा तथ्यलाई प्रमाणित भने गरिदिएको छ ।
पहिलो, जुन हिसाबले सतहमा नेकपा एमाले कमजोर देखिएको थियो । त्यो ग्रासरुटमा देखिएन । अघिल्लो चुनावमा एमाले र माओवादी मिल्दा जुन हालत नेपाली कांग्रेसको भएको थियो त्यो अवस्थामा अहिले नेकपा एमाले देखिएन । त्यतिखेर नेपाली कांग्रेसले २३ सिटमात्र जितेको थियो । जबकी एमालेले अहिलेनै ४१ सिट जितिसकेको छ । त्यतिखेर भन्दा एमाले अझै कमजोर हुनुपर्ने सबैको अनुमान थियो । किनकी पूर्ब प्रधानमन्त्रीहरु माधबकुमार नेपाल र झलनाथ खनालले समेत एमाले छाडेर एकीकृत समाजवादी खोलेका छन् ।
समानुपातिक तर्फको मत हिसाब गर्दा पनि एमालेको अवस्था कुनै कोणबाट पनि कमजोर प्रमाणित गर्ने तथ्यहरु छैनन् । यो आलेख तयार पार्दा प्रत्यक्ष तर्फ बढी सिट जितेको कांग्रेस भन्दा एमाले डेढलाख भन्दा बढी मतले अगाढी छ । एमालेको मत २५ लाख २८ हजार छ भने नेकाले २३ लाख ९४ हजार मत पाएको छ ।
दोस्रो, यो चुनावले अर्को पुष्टी गरेको तथ्य के हो भने आफूलाई २०६२/६३ को परिवर्तनका संवाहक, मुलुकको परिवर्तनकारी शक्ति हौ भनेर दावी गर्ने नेकपा माओवादी र मधेशका केही दलहरु नराम्रोसँग पछारिएका छन् । यदी गठवन्धन नहुँदो हो त माओवादीले १० सिट जित्ने आधार देखिएन । कांग्रेससँग ओत लागेको फाइदा यसपटक माओवादीले राम्रैसँग उठाएको छ । तर अघिल्लो पटक एमालेसँग गठवन्धन गर्दा ३६ सिट जितेको माओवादी अहिले त्यसको आधा पनि पुग्न सकेको छैन । सरकारमा सहभागी मन्त्री हारेका छन् । पार्टीका सुप्रिमो सुरक्षित क्षेत्र खोज्दै गोर्खा पुगेका छन् ।
आफूलाई मधेशको परिवर्तनको वाहक भन्ने र सधैंभरि सत्ताको चास्नीमा डुबिरहने उपेन्द्र यादव, राजेन्द्र महतो समेत यसपटक धोबी हराईमा परेका छन् ।
२०६२/६३ बारे जानकारी नभएको, अर्थात त्यतिखेर भरखरै जन्मिएको युवाले यसपटक पहिलो पटक भोट हाल्ने अवसर पायो । ‘२०६२/६३ को परिवर्तन ल्यायौं, गणतन्त्र ल्यायौं’ भनेका भरमा राजतन्त्र नदेखेको युवालाई तान्न सकिदैन । २०४६ सालको सेरोफेरोमा जन्मिएको व्यक्ति यतिखेर ३३ वर्ष पुग्यो । पञ्चायतको कालरात्री, निरंकुश पञ्चायत भनेर अनि बितिसकेका तत्कालिन राजा महेन्द्र, बीरेन्द्रको सत्तोश्राप गरेका भरमा २०४६ सालपछि जन्मिएको व्यक्तिले भोट दिने कुरा अब नसोचे हुन्छ । राप्रपाले २०५१ सालपछि पहिलो पटक यति ठूलो रुपमा सफलता पाउनु र ठूला नेताहरु जित्नुको कारण पनि यहि हो ।
तेस्रो, नेपाली जनताको मृगतृष्णा २०४६ देखि निरन्तर छ । मरुभूमिको तापमा अघिल्तिर पानी देखिएझै हरेक चुनावमा आउने नयाँ पात्रप्रति नेपाली मतदाता आकर्षित भैरहेकै छन् । २०४८ मा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस, २०६४ मा माओवादी, त्यसपछि कांग्रेस, एमाले हुँदै बेलाबखतमा पलाउने नयाँ दलप्रति नेपाली जनताको मृगतृष्णा कायमै छ । अघिल्लो चुनावहरुमा कहिले बाबुराम भट्टराईको नयाँशक्ति, कहिले रबिन्द्र मिश्रको साझा विवेकशील हुँदै अघि बढेको मृगमृष्णालाई यसपटक रबि लामिछानेको स्वतन्त्र पार्टीले आफूप्रति तानेको छ ।
तर एउटा ध्रुबसत्य के हो भने रबि लामिछानेको पार्टी पनि यही नेपाली समाजको उपज हो । नेपाली धर्तीमै टुसाएको दल हो । नेपाली हावापानीमा बीजारोपण भएको परिस्थितीको उपजमात्र हो । यसबाट ‘छु-मन्तर’ शैलीमा परिवर्तन हुनेवाला छैन । हिन्दी चलचित्र नायकको शैली स्वतन्त्र पार्टी र तिनका नेताहरुले पछ्याएका त छन् । तर कार्यान्वयन तहमा जब यिनीहरु पुग्छन् त्यतिखेर यिनीहरु पनि शीतांग हुनेछन् । यसभन्दा बढी टिप्पणी नगरौं । कुनै बेला वृस्तृतमै गरौंला ।
यसपटकको चुनावले धेरै सकारात्मक संकेत गरेको छ । बर्षौदेखि नेपाली राजनीतिको मठाधीशमा रुपमा विराजमानलाई बिदा गरेको छ । स्वतन्त्र पार्टी र स्वतन्त्र व्यक्तिहरु निर्वाचित हुनुले परम्परावादी दलका नेताका मुटुमा ढ्यांग्रो बजाएको पक्कै छ । भाषणले होइन, देश बनाउन भिजन चाहिन्छ भन्ने संकेत गरेको छ ।
यद्यपी नेपाली कांग्रेस, एमाले, माओवादी भित्रका केही विकृत पात्रहरुको प्रवेश यसपटक पनि निरन्तर रह्यो । जसले स्थिरतामा समस्या ल्याउने मात्र नभएर व्यबस्थालाई दुर्गन्धित तुल्याउन मात्र सहयोग गर्नेछन् । बर्षौदेखि अवसरै अवसर पाएकाहरु यसपटक गठवन्धनको हुलमुलमा छिरेर जित्न सफल भए । यिनकै कारण प्रजातान्त्रिक व्यबस्थाप्रतिनै घृणा जगाउन मद्धत पुग्नेछ ।
सारमा, फेरि पनि राजनीतिक प्रणालीमा अस्थिरता सुरु हुने संकेत देखिएको छ । किनबेच, अपहरणको नाटक, सत्ताको छिनाझप्टी केही महिनामै देखापर्नेछन् । अहिले प्रधानमन्त्रीका लागि सतहमा आएको विवाद यसको प्रारम्भिक रुपमात्र हो ।
निर्वाचनले देखाएको अर्को स्पष्ट संकेत हो चोइटिए पनि एमाले साराको अनुमान अनुसारको कमजोर देखिएन । बरु आफूलाई गणतन्त्रको हकदार ठान्ने माओवादी हरेक चुनावै पिच्छे दिनानुदिन खिइदै गएको छ । समानुपातिक तर्फ माओवादीले पाएको मतसंख्या रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा पनि थोरै हुनुले यो दलको सुखद भविष्य देखाउँदैन ।
प्रतिक्रिया