मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिका प्रवेशको सहज र सस्तो प्रकृया डिभी

अमेरिका प्रवेशको सहज र सस्तो प्रकृया डिभी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धेरै साथीहरू, आफन्तजन, सहपाठीहरूले अमेरिका आउने अपेक्षा राख्छन् । फोनमा कुराकानी हुँदा, भेटघाट हुँदा सोध्छन् अमेरिका जानुपर्यो । कसरी जाने ? सजिलो तरिका के हो ?
 
म यो आलेखमा अमेरिका प्रवेश गर्ने सबैभन्दा सस्तो तरिका बारे जानकारी दिन गइरहेको छु । सबैभन्दा सजिलो तरिका सिकाउन गइरहेको छु । अमेरिका प्रवेश गरेपछि ढुक्कले काम गर्न, घर किन्न, व्यवसाय​ गर्न पाइने विधि बारेमा बताउन गइरहेको छु ।
 
अमेरिका प्रवेशको सबैभन्दा सजिलो तरिका डिभी चिठ्ठानै हो । यो भन्दा सजिलो, सस्तो र भरपर्दो तरिका अरू कुनै छैन भन्दा पनि हुन्छ । विद्यार्थीका रूपमा अमेरिका आएर ग्राजुएट भएर कम्पनीहरूमा काम गरेपछि पनि ग्रीनकार्ड त पाउने संभावना रहन्छ । तर त्यसका लागि निकै गाह्रो छ । समय, प्रकृया निकै लगाउनुपर्छ । तर डिभी यस्तो बाटो हो जसबाट अमेरिका प्रवेशमात्र होइन, त्यसपछि अमेरिकी नागरिकले प्राप्त गर्ने प्रायः सबै प्रकारका सुविधाहरू लिन सकिन्छ ।
 
यतिखेर डिभी भर्ने सिजन सुरू भएको छ । आउँदो नोभेम्बर ८ सम्म अनलाइन मार्फत डिभी भर्न पाइन्छ । एक महिना भरेको डिभी आउँदो मे महिनामा खुल्छ । डिभी पर्नेले अन्य प्रकृया पुरा गरेमा अमेरिका प्रवेशको बाटो खुल्छ ।
 
मान्छेहरूले भनेको सुनिन्छ डिभी जति भरेपनि पर्ने होइन । आ कति भर्नु ? कुरा सत्य भएपनि डिभी पर्ने भनेको फर्म भर्नेहरूलाइ मात्र हो । फर्म भरेमा एक प्रतिशत भएपनि पर्ने संभावना हुन्छ । तर भर्दै नभर्ने हो भने संभावना शून्य हुन्छ ।
 
अहिले नेपालमा डिभी भर्ने र डिभी भर्न अड्डा जमाएर बस्ने कन्सल्टेन्सीहरुको ठूलै चहल पहल छ। अमेरिकी सरकारको स्टेट डिपार्टमेण्टले जारी गरेको सूचना अनुसार डिभी-२०२४ कार्क्रमका लागि अनलाइन आवेदन दिन पाउने समय सीमा बुधवार अक्टुबर ५ देखि मंगलवार नोभेम्वर ८, २०२२ सम्म तोकिएको छ। सो मिति भित्र आफैंले स्टेट डिपार्टमेण्टको वेव साइट dvprogram.state.gov मा गएर आवश्यक सूचनाहरु भरेर डिभी कार्यक्रमका लागि आवेदन दिन सकिने छ। इन्टरनेटको पहुँच भएकाहरुले आफैंले डिभी कार्यक्रममा अनलाइन फारम भर्न सक्ने भएकाले विभिन्न विज्ञापन मार्फत डिभी कार्यक्रममा सहभागी हुन आकर्षण गर्नेहरुको पछि लाग्नु पर्दैन। गलत सूचनाको पछि नलाग्न पनि नेपाल स्थित अमेरिकी दूतावासले विज्ञप्ति मार्फत सचेत गराइरहेको छ। अमेरिकी दूतावासको वेवसाइटमा पनि डिभी कार्क्रमका बारेमा आवश्यक जानकारी पाउन सकिन्छ।
 
डिभी चिठ्ठा कार्यक्रममा वर्षेनी करोडौं मान्छेहरुले सहभागिता जनाउँछन् । यो नितान्त निशुल्क रुपमा सहभागी हुन सकिने र अमेरिकी सपना पुरा गर्ने सहज उपाय पनि हो। तर यस्तो निःशुल्क सहभागिता हुन सकिने कार्यक्रममा समेत मान्छेहरु दलाल र कन्सल्टेन्सीहरुको फन्दामा परेर गलत सूचना सहित फारम भर्ने र लट्रीमा छानिन निश्चित स्थानबाट नै फारम भर्नु पर्ने भ्रममा परेको समेत सुनिन्छ। तसर्थ डिभीका लागि आवेदन भर्ने आम नेपालीहरुका लागि सहज होस् भनेर यो आलेख तयार पारिएको हो।
 
हिमालय खबर पढ्ने आदरणीय पाठकहरु र उहाँहरुका आफन्तजनहरुलाई समेत सहज होस् भन्ने हाम्रो अपेक्षा छ। डिभी भर्न चाहनु हुनेहरुले तलका बुँदामा विशेष ध्यान दिनु हुन ठगिन बाट बच्नु हुन हाम्रो विशेष अनुरोध छ।
 
 – इन्टरनेटको पहुँच छ र कम्प्यूटर चलाउन जान्नु हुन्छ भने तपाईं आफैंले वा परिवारका सदस्यको सहयोगमा डिभी कार्यक्रमको लागि अनलाइन रजिस्ट्रेशन गर्न सक्नु हुन्छ। 
 
– स्टेट डिपार्टमेण्टको वेवसाइट http://dvprogram.state.gov मा जानुहोस् । 
 
– त्यसपछि DV 2024 Instructions मा गएर आवश्यक सूचना र कागजातहरुको तयारी गर्नुहोस्। 
 
-फोटोको लागि Photo Examples मा क्लिक गर्नुहोस् र कस्तो फोटो चाहिने रहेछ भन्ने जानकारी लिनुहोस्। कुनै व्याकग्राउण्ड इमेज भएको, अनुहार पुरै नदेखिने, चश्मा लगाएको फोटो काम लाग्दैन। गुणस्तरीय छ भने मोबाइलबाट खिचेको फोटोले समेत काम गर्दछ । 
 
– यदि तपाईंसग सबै सूचनाहरु छन भने हरियो रंगमा भएको Begin Entry वटनमा क्लिक गरेर फारम भर्न शुरु गर्न सक्नु हुनेछ। तपाईं विवाहित हुनुहुन्छ भने श्रीमान वा श्रीमती र बच्चाहरु छन् भने उनीहरुको समेत सूचना आवश्यक हुन्छ। फारमको पहिलो भाग तपाईंको आफ्नो बारेमा सूचनाहरु भर्न पर्ने छ। पहिलो भाग सकिए पछि Continue वटन थिचेर दोश्रो भागमा मागिएका सूचनाहरु भर्नुहोस्। फोटो अपलोड गर्दा फोटो निर्देशन राम्रोसंग पालना गर्नुहोला। 
 
–  फारम भरिसके पछि Submit वटन थिच्नु अघि सबै सूचनाहरु दोहऱ्याएर हेर्नुहोला। एकपटक पठाइसके पछि तपाईंको सूचनाहरु सच्च्याउन नपाइने भएकाले सही सूचना टाइप भएको यकिन भएपछि मात्र Submit वटन थिच्नु होला। 
 
-Submit वटन थिचे पछि तपाईले पाउने कन्फर्मेसन नम्वर अति महत्वपूर्ण हुन्छ। तपाईंलाई डिभी लट्री परे/ नपरेको सूचना पाउन त्यही नम्वर चाहिने हुन्छ। त्यसका लागि DV Entrant Status Check अन्तर्गत निलो रङ्गमा भएको Check Status वटन थिचेर कन्फर्मेसन नम्वर, तपाईंको थर (Last Name) र जन्म वर्ष राखेर जानकारी पाउन सकिन्छ। 
 
–  ख्याल गर्नु पर्ने कुरा के हो भने तपाईंलाई स्टेट डिपार्टमेण्टको केन्टकी कन्सुलर सेन्टरले इमेल वा कुनै पत्राचार गर्दैन। तपाईंले आफैंले आधिकारिक वेवसाइटमा गएर तपाईंको डिभी स्ट्याटस चेक गर्नु पर्छ। 
 
–  तपाईं पहिलो चरणमा छानिनु भयो भने त्यसको जानकारी पाउन पनि http://dvprogram.state.gov मैं गएर स्ट्याटस चेक गर्नु पर्छ। पहिलो चरणमा छानिनु भएको सूचना प्राप्त भयो भने सोही छनौट भएको जानकारी पत्रका आधारमा थप सूचनाहरु भरेर पठाउनु पर्ने छ। दोश्रो पटक तपाईंले पठाउनु भएको सूचनाहरु परीक्षण भएपछि आवश्यक संख्याका आवेदकहरुलाई भिसा अन्तरवार्ताको मिति र स्थान सहितको अर्को सूचना पनि सोही वेवसाइटमा गएर चेक गर्न सकिन्छ। तपाईंले कुनै व्यवसायिक फ़र्म वा कन्सल्टेन्सीबाट फर्म भर्नु भएको हो भने उनीहरुले पनि तपाईंलाई जानकारी दिन सक्नेछन्। 
 
– तपाईंले भिसा अन्तरवार्ताको सूचना पाउनु भो भने अन्तरवार्ता हुनु भन्दा कम्तिमा एक हप्ता अघि नै अमेरिकी सरकारले तोकेको स्थापना गएर स्वास्थ्य परीक्षण गराउनु पर्ने छ। 
 
– भिसा अन्तरर्तामा जाँदा भिसा शुल्कका लागि आवश्यक पैसा, तपाईं र परिवार पनि छन् भने उनीहरुको समेत पासपोर्ट, तपाईंको शैक्षिक योग्यताको प्रमाण पत्रको सक्कल प्रति, सबै जनाको जन्म दर्ताको प्रमाण पत्र, विवाहित हो भने विवाह दर्ता प्रमाण पत्र, पुलिस रिपोर्ट (यदि ६ महिना भन्दा बढी नेपाल बाहिर बसेको हो भने सो देश/ स्थानको सुरक्षा निकायबाट लिएको क्लियरेन्स रिपोर्ट, अमेरिकामा बसोबास गरिरहेका आफन्त वा साथी भाइको तर्फबाट शुरुवाती समयमा उपलब्ध​ हुने सहयोगको ग्यारेण्टी सहित लेखिएको वेलकम लेटर समेत लिएर जानु पर्ने हुन्छ। 
 
– आप्रवासी भिसा प्राप्त भयो भने अमेरिकी दुतावासले तोकेको बैंकमा गएर ग्रीनकार्डको शुल्क बापतको रकम नेपाल मै तिरेर मात्र अमेरिका जानु राम्रो हुन्छ। अमेरिका पुगेर पनि ग्रीनकार्डको दस्तुर तिर्न सकिन्छ, तर त्यसो गर्दा तपाईंको ग्रीनकार्ड आउने समय अलि बढी लाग्ने हुन्छ। 
 
– मुख्य कुरा डिभी लट्रीमा सहभागी हुन र छनौट भएपछि आप्रवासी भिसा पाउनका लागि कम्तिमा १२ कक्षा उत्तिर्ण गरेको प्रमाण पेश गर्नु पर्ने हुन्छ। तसर्थ कसैको लहैलहैमा लागेर झुटा र नक्कली सूचना राखेर इडिभी भर्ने र छनौट भएपछि नक्कली शैक्षिक प्रमाणपत्र सहित भिसा अन्तरवार्तामा जाने नगर्नु होला। यसै वर्ष पनि दर्जनौं त्यस्ता नक्कली प्रमाणपत्रधारीहरु भिसा अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा गएका बेला पक्राउ परेका छन्। अमेरिकी दूतावासले हाल डिभी वा विद्यार्थी भिसामा अमेरिका जान खोज्नेहरुको शैक्षिक लगायतका प्रमाण पत्रहरुको आधिकारिकता परीक्षण गर्ने गरेको जानकारी नभएकाहरु नक्कली प्रमाण पत्रको चक्करमा परेर जेल समेत जान परेको घटनाबाट सचेत हुनु जायज हुन्छ। 
 
– यदि कन्सल्टेन्सी वा कुनै दलाल मार्फत फारम भर्नु भएको छ भने डिभी लट्रीमा छानिएपछि अमेरिका जान स्पोन्सर वा वेलकम लेटर पठाउने व्यक्तिको व्यवस्था गरिदिन्छौं भन्दै ठग्न खोज्नेहरुसँग सचेत हुनु होला। 
 
– वेवसाइट वा इमेलको अन्त्यमा ‘gov’ छैन भने त्यो अमेरिकी सरकारको आधिकारिक वेवसाइट वा इमेल हुन सक्दैन। तसर्थ कसैले तपाईंलाई भ्रममा पार्न वा झुक्क्याएर इमेल पठायो वा कुनै सूचना माग्यो भने नदिनु होला। त्यस्ताहरुले आर्थिक फाइदा लिन खोज्छन् भने सचेत हुनु होला।
 
अमेरिकी सपना बोक्ने र अमेरिकामा नै कानुनी रुपमा स्थायी बसोबास गर्ने सबभन्दा सजिलो र कम झन्झटिलो माध्यम भनेकै डाइभर्सिटी भिसा कार्यक्रम (डिभी लट्री)बाट छनौट भएर अमेरिका आउन/जान पाउनु हो। डिभी लट्री कार्यक्रम शुरु भएको ३१ वर्ष पुरा भइसकेको छ। कार्यक्रमको लक्ष्य अनुसार नै अमेरिकामा आउने आप्रवासीहरुको संख्यामा तुलनात्मक रुपमा कम संख्या भएका देशहरुबाट डिभी लट्री मार्फत आप्रवासीहरु अमेरिका आउन पाइरहेका छन्।
 
यस कार्यक्रमबाट डिभी लट्री जित्ने व्यक्ति र उनको श्रीमान/श्रीमती र छोरा छोरी मात्र नभएर कालान्तरमा आमा-बाबा र परिवारका अन्य सदस्यहरु समेत अमेरिकामा स्थायी बासिन्दाका हैसियतमा बस्न पाउने भइरहेका छन्।
 
अमेरीकी संसदले सन् १९९० मा पारित गरेको अध्यागमन कानूनले व्यवस्था गरे अनुसार हाल जारी रहेको डिभी लट्रीबाट वर्षेनी ५० हजार आप्रवासीहरुलाई अमेरिकामा स्थायी बसोबास अनुमति पाउँदै आएका छन् । १९८९ मा डेमोक्रेट सिनेटर टेड केनेडीको अगुवाइमा डेमोक्रेटिक र रिपव्लिकन दुबै दलका अधिकांस सांसद र सिनेटरहरुको समर्थनमा पारित विधेयकलाई राष्ट्रपति जर्ज एच डब्लु बुशले नोभेम्वर २९, १९९० मा हस्ताक्षर गरेपछि हालको अध्यागमन कानुन लागु भएको हो।
 
यसले अध्यागमन एवं राष्ट्रियता सम्बन्धी कानुन १९६५ लाई प्रतिस्थापित गरेको थियो। अमेरिकामा नै कानुनी रुपमा स्थायी बसोबासको अनुमति पाउनेहरुको वार्षिक सीमा करिब सात लाख बनाउन हालको अध्यागमन कानुनले निकै ठूलो भूमिका खेलेको छ।
 
वर्तमान अध्यागमन कानुन लागु भपछि १९९२ देखि १९९४ सम्म वर्षेनी ७ लाखले स्थायी बसोबास अनुमति पत्र (बोलीचालीको भाषामा ग्रीन कार्ड भनिने) पाएका थिए भने त्यसपछि वर्षेनी छ लाख ७५ हजारले ग्रिन कार्ड पाउँदै आएका छन्। यसमध्ये ५० हजार डिभी लट्रीबाट आउँछन् भने बाँकी अन्य माध्यमबाट अमेरिकी ग्रीनकार्ड पाउनेहरु छन्।
 
दक्ष जनशक्ति भित्र्याउने लक्ष्य सहित शुरु भएको एच-१ बी भिसा कार्यक्रम र प्राकृतिक विपत्ति र द्वन्द्वग्रस्त देशका नागरिकतलाई टिपीएस भनिने अस्थायी बसोबास अनुमति दिने व्यवस्था पनि यही कानुनले गर्दा भएको हो। हजारौं नेपालीहरुले २०१५ मा गएको महाभूकम्प पश्चात यसै सुविधा मार्फत अमेरिकामा अस्थायी बसोबास र काम गर्न पाइरहेका छन्।
 
शुरुमा हुलाक मार्फत निर्दिष्ट फारम भरेर सहभागी हुनु पर्ने डिभी लट्री कार्यक्रम २००३ देखि अनलाइन भर्न पाउने व्यवस्था भएको हो। अनलाइन भएकैले धेरैको पहुँच छ र वर्षेनी करोडौंले आवेदन दिन सक्छन्। १९९० को अध्यागमन कानुन लागु भए यता मात्र २ करोड भन्दा बढी आप्रवासीहरुले अमेरिकाको स्थायी बसोबास अनुमति पाइसकेका छन्।
 
वैधानिक माध्यमबाट अमेरिका आउन चाहने सबैले डिभी कार्यक्रममा सहभागी हुन हिच्किचाउन पर्दैन। अमेरिका जान वैध अवैध सबै उपाय अपनाउने तर भिसा अस्वीकार भयो भने अमेरिका जान खोज्ने र अमेरिका बस्नेहरु प्रति दूर्भावयुक्त प्रतिक्रियाहरु व्यक्त गर्नेहरुको पछि लागेर डिभी भर्नु भएन भने चाहिं तपाईंको अमेरिका जाने र स्थायी बसोबास गर्ने एउटा बाटो आफैं बन्द हुने छ।
 
(यो आलेख अमेरिका जान उपायको खोजीमा डिभी कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई गलत सूचना र जानकारीबाट बच्न सघाउने उद्देश्यले तयार पारिएको हो। यस आलेखले अमेरिका जान डिभी भर्नै पर्छ भन्ने सन्देश दिन खोजेको छैन।)