विचार / ब्लग

हजुरआमासँगै ढल्यो गाउँको इतिहास

-अबिच्यूरी

प्रकाशित |
अगष्ट २९ तारिकको बिहानी चढेसँगै परिवारको धरोहर ढलेको खबर आयो । २/३ पटक मा पनि फोन नउठेपछि भाइले मेसेज मेसेज छाडेको रहेछ । लेखिएको थियो–‘दाई, हजुरआमा जानुभयो है ।’
 
९७ वर्ष पुग्नुभएको थियो हजुरआमा । गाउँकै सबैभन्दा जेष्ठ नागरिक । कम्तिमा तीन महिना छुट्टी मिलाएर नेपाल जाने र गाउँको इतिहास लेख्ने धोको थियो । भट्टहरुको नालीबेली खोतल्ने योजना थियो । हजुरआमासँग भेट्ने धोको अब यो लोकमा पुरा नहुने भयो । हाम्रा लागि हजुरअामाको घर दशैंको टीकाको निम्ति मुलघर थियो । मैले बुझ्न थालेदेखि उहाँको हातबाट टीका थापेपछि मात्र बाँकी आफन्तसँग थाप्ने चलन हाम्रो परिवारमा थियो ।  
 
हजुरआमा जानुभयो । हजुरआमासँगै इतिहास गयो । अब गाउँमा ९० सालको भुईचालो भोगेको पुस्ता लगभग सकिए । ९० सालको भुइचालोलाइ सुनेका पुस्तामात्र बाँकी छन् । त्यतिखेरको भुईचालो इतिहासको एउटा कोशेढुंगो हो । त्यसभन्दा पछि जन्मिएकाहरुको मात्र छन् । १९९० देखि २००० सम्म जन्मिएकाहरु समेत औंलामा गन्न सकिने संख्यामा मात्र बाँकी छन् ।
 
अस्ति भरखरै मात्र ९० होइन, बिक्रम सम्वत् २००० पछि जन्मिएका नवराज गजुरेल नआउने बाटो गए । हजुरमा बित्नुभएको अघिल्लो दिनमात्र पारी नलगाउँका नारायण गजुरेल बित्नुभयो । उहाँलाइ हामी लछिमे साहुका छोरा भनेर सानैदेखि चिन्थ्याैँ। थपमा उहाँसँग एक हिसाबले पारिवारिक नाता थियो । 
 
गाउँका समाजसेवी, सबैको सुखदुःखमा साथ दिने बलराम गजुरेलले महाप्रस्थान गर्नुभएको एक वर्ष पनि पुरा भएको छैन । अझै २/३ जना अन्तिम अवस्थामा रहेको खबर आएको छ । हजुरआमा समेत गरि भट्ट परिवारमै यो वर्ष तीनवटा शोक परे । 
 
मानव जीवनमा मृत्यु अकाट्य सत्य हो । कसैको ढिला हुन्छ, कसैको चाँडै मात्र हो । मृत्युलाई जित्न सक्ने अर्थात अजम्बरीको बुटी खाने कोही निस्किएको छैन । अर्को शास्वत सत्य यो पनि हो–अबको एकसय वर्षमा यो पृथ्वीमा अहिले भएका कोही मानिस बाँकी रहनेछैनन् । 
 
९७ वर्षको लामो आयु बाँचेर हजुरआमाले बिदा लिनुभयो । अबको पुस्ताले यति लामो आयु पाउन मुस्किल छ । पहिले भन्दा मानिसको औसत आयु त बढेको छ । तर खानपिनमा समस्या, शारिरीक अभ्यासमा हुने अल्छीपन, मानसिक समस्याले ९० वर्षभन्दा बढी बाँच्नेहरु अब निकै थोरै मात्र भेटिन्छन् । 
 
१० वर्षको बीचमा गाउँका अधिकांश घरबाट कोही न कोही नआउने बाटो गरि गएका छन् । मैले १० वर्षको हदबन्दी किन राखेको भने नेपाल छाडेको ठ्याक्कै १० वर्ष पुगेछ । चार वर्ष अघि मायाँ गर्ने आफ्नी हजुरआमा जानुभयो, गत वर्ष यसै समयमा उमेर नै नपुगी सासुमाले बिदा लिनुभयो । सोमबार फेरि ठूली हजुरआमा जानुभयो । सँगै पढेका केही दौतरीहरु पनि नआउने बाटो गइसके । आफूभन्दा सानो उमेरका केही भाई–बहिनीहरु पनि उमेर नपुगी भेट नहुने यात्रामा निस्किए । मृत्युले सानो उमेर, निरोगी, लालाबालाको बिचल्ली होला भनेर नसोच्ने रहेछ । 
 
मानिसको जीवनमा जन्मसँगै मृत्यु पनि आएको हुन्छ । संसारमा चल–अचल, सजीव–निर्जीव सबैको निश्चित आयु हुन्छ । गएको वर्ष यहि समयमा गाउँको उतार चढावलाई केही शताव्दी देखि देखेको घर सँगैको लोहेरे आँपको बोट प्राकृतिक रुपमै ढल्यो । लोहोरे आँप मेरा लागि केही दशक अघि बिहानको प्रिय फल थियो । 
 
एक दिन सबैले परिवार, आफन्त, समाज, देश मात्र होइन यो लोक नै छाड्नुपर्छ भन्ने ज्ञान नहुने कोही छैनन् । तर जब आफ्नो सबैभन्दा निकट व्यक्तिहरु नआउने यात्रामा निस्कन्छन्, तब मन सम्हालिन गाह्रो पर्ने रहेछ । थाहा छ–सबैको बाटो त्यही हो । तर अब कहिल्यै भौतिक भेट हुनेछैन भन्ने जब याद आउँछ मन बाँध्न कठिन पर्ने रहेछ । 
 
बगैँचाको हजुर बा हुनुहुन्थ्यो । वंशावली, गाउँ, समाजका बारेमा धेरै जानकारी राख्ने । केही वर्ष अघि उहाँ बित्नुभयो । गाउँका लागि एक हिसाबले ‘इनसाइक्लोपेडिया’ नै हुनुहुन्थ्यो हजुर बा । 
 
न्यौपाने थरका अर्का हजुर बा हुनुहुन्थ्यो । ‘हेर नाती यो तादी खोलामा हिँड्दा हिँड्दै हँसियाले ठुँगेर माछा मारिन्थ्यो’ उहाँ आफ्नो बाल्यकालका घटना सुनाउनुहुन्थ्यो । उहाँ निधन हुनु अघिनै विशाल तादी नदी सुकेर हिँउदमा सजिलै पार गर्नसक्ने अवस्थामा पुग्यो । 
 
पिपलचौरे जेठो हजुर बा हुनुहुन्थ्यो । उहाँ पारि नलगाउँबाट पिपल्टार झर्नुभएको । त्यतिखेर मलाई लेख्नेतिर खासै रुची बढीसकेको थिएन । उहाँ बित्नुभयो । उहाँमात्र होइन उहाँका एकजना नाती समेत बितिसके । उहाँसँगै गाउँको इतिहास पनि बित्यो । 
 
हरेक महिना जस्तो गाउँमा कोही न कोही अर्को लोकको यात्रामा निस्किरहेकै हुन्छन् । उहाँहरुसँगै गाउँका कथा, गाउँका व्यथा, गाउँले भोगेका उतार चढाव सबै लिपिवद्ध हुन नपाई सकिन्छ । 
 
केही हप्ता अघि भाई सन्तोष जो शिक्षक पनि छ । हजुरआमाको अवस्था देखेपछि उसलाई भनेँ–‘भाई गाउँका पुराना हजुर बा–हजुर आमाहरुसँग कुराकानी गरेर पुराना कुराहरुलाई लिपिवद्ध गर्नुपर्यो ।’ 
 
उसले तुरुन्तै ‘हुन्छ नि दाई’ त भन्यो । तर शिक्षकको जागीर, व्यबसायले गर्दा उसले समय निकाल्न सक्ला र मेरो चाहनामा सहयोग गर्ला भन्नेमा पुरा विश्वस्त हुन सकेको छैन ।
 
यसो सोच्छु–पहिले पहिले गाउँ डुल्न निस्कँदा, चोकको चिया पसलको जमघटमा नाती भनेर संबोधन गर्ने असंख्य थिए । अहिले यतैबाट विचार गर्छु नाती भन्ने संख्या जसरी पहिले ठूलो थियो, अहिले ठूलो बा भनेर मलाई संबोधन गर्नेहरु धेरै छन् । मैले काका–काकी, ठूलोबा, ठूलीआमा भनेर साइनो गाँस्नेमात्र बाँकी छन् । हजुर बा पुस्ता लगभग सकिएको अवस्था छ । चोकको चियापसलमा भेट हुँदा अब कहिले आउँछस् त भनेर सोध्ने हजुर बा, हजुरआमाहरू सकिसक्नुभएछ । यहीँबाट यसो टिपोट गर्दा त बितेका १० वर्षमा रगतसँग नाता गाँसिएका, भावनासँग जोडिएका धेरै जना कहिल्यै नआउने बाटो गैसक्नुभएछ । कतिसँग भेट नभै उहाँहरु अनन्त यात्रामा निस्किसक्नु भएछ ।
 
तर यो टाढाबाट दिमागमा अनेक कुराहरु खेल्छन् । अनेक भावनाहरु उछिन पाछिन भएर आउँछन् । कति कुराहरु लिपिवद्ध गर्न मन छ । तर समय र परिस्थितीको रफ्तारले कहाँ सोचे अनुसार अनुकुलता दिदा रहेछन् र ?

तर पनि जन्मेको परिवेश, गाउँका मान्यजनहरुको याद कहाँ स्मृतिबाट जान सक्छ र ? दिनभरि जतिसुकै अंग्रेजी भाषामा कुराकानी गरेपनि, हाँसे पनि, मजाक गरेपनि आखिर निद्रामा उने सपनाको भाषा त नेपालीनै छ । 

हजुर आमा बित्नुभएको आज ठीक १३ दिन पुग्यो । फेरि पनि हार्दिक हजुरआमा प्रति श्रद्धाञ्जली ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया