‘जगत् एउटा रङ्गमञ्च हो हामी सबै कलाकार ।’
विलियम सेक्सपियरका अनुसार जीवन एक नाटक हो । पूर्वेली दर्शनले पनि जीवनलाई लीला भनेको छ । नाटक भने पनि लीला भने पनि हामीले बुझ्ने खेल हो ।
७५ वर्षअघि बस्तीपुर, सिराहाको एक सम्भ्रान्त परिवारमा एउटा जीवनको पर्दा उघारियो । २०७९ साल भदौ ४ गते पटाक्षेप पनि भयो । खेल सकियो । खेल सकिँदैमा खेलको प्रभाव सकिँदैन । प्रभाव क्षणिक हुन सक्छ, कालजयी पनि बन्न सक्छ । सेरोफेरोमै सीमित रहन सक्छ, दिगन्त पनि फैलन सक्छ ।
प्रदीप गिरि अर्थात् एउटा परिष्कृत चेतना ।
चेतना शाश्वत हुँदैन । जन्मसँगै जन्मिएको चेतनालाई समाज-संस्कार, परिवार-परिवेशले हुर्काउँदै जान्छ । समय, परिस्थिति, भोगाइले परिमार्जन गर्दै लान्छ । सबैको चेतना यसैगरी विकसित हुने हो । तर, कोही कोही भने बेग्लै हुन्छन् । त्यस्तै अलग्गै हुनुहुन्थ्यो, प्रदीप गिरि । अन्य कुनै लोकमाथि विश्वास भएको भए म ‘अलौकिक’ शब्द प्रयोग गर्थें ।
उदेकलाग्दो व्यक्तिचाहिँ उहाँ हो । अद्भुत ! जहिले पनि उहाँसँग बसियो, उहाँको कुरा सुनियो, झनझन विराट लाग्दथ्यो, उहाँको व्यक्तित्व । कस्तो असाधारण प्रतिभा, कस्तो असाधारण ज्ञान !
प्रदीप गिरिलाई म उपनिषदको ऋषि जस्तै ठान्दछु । उहाँ जातले मात्र होइन, स्वभावले नै जोगी हुनुहुन्थ्यो । फक्कड़ फकीर । जहाँ पुग्नुहुन्थ्यो, जहाँ बस्नुहुन्थ्यो, त्यहाँको वातावरण आश्रम जस्तै हुन्थ्यो । एउटा चलायमान आश्रम, जहाँ शिष्य, जिज्ञासु, यात्रु, सबै जम्मा हुन्थे ।कार्यक्रम बनाएर आएकाहरू हुन्थे, त्यसै आइपुगेकाहरू पनि अड्किन्थे । उहाँको कुरा सुन्न थालेपछि सबै मन्त्रमुग्ध । समय बितेको पत्तै हुँदैन थियो । जुनसुकै विषयमा पनि गहिरो ज्ञान थियो, उहाँसँग । एउटा बृहत् जीवन्त पुस्तकालय, जताबाट पनि झिक्न मिल्ने, पढ्न सकिने ।
यसबेला म सोचिरहेछु- प्रदीप गिरिसँग मेरो सम्बन्ध के हो ? नेता-कार्यकर्ता, गुरु-शिष्य, दाजु-भाइ ? यी सबै हुन् पनि, होइनन् पनि । मैत्री थियो, स्नेह थियो । विशेष सम्बन्धको दाबी म गर्दिनँ । जो पनि उहाँको निकट आए, ती सबै उहाँको स्नेहपात्र भए । सबैलाई लाग्दथ्यो- उहाँसँग विशेष सम्बन्ध छ । उहाँ मानिसलाई, सबै मानिसलाई माया गर्नुहुन्थ्यो । असाध्यै माया गर्नुहुन्थ्यो । उहाँको नजरमा कोही पराइ थिएनन्, सबै आफन्त थिए ।
उहाँको १३ दिनको काज सकियो । परिवार जनको जुठो सकियो । यसपछि मासिक, बरखी अनि श्राद्ध । बिस्तारै प्रदीप गिरि स्मृतिको पात्र बन्नु हुनेछ । यदकदा प्रसङ्ग जुर्दा उहाँको पनि चर्चा हुनेछ ।
एउटा महान् विचारपुरुषको नियति यति मात्र हो ?
अनात्मवादीहरू भन्छन्- “भष्मीभूतष्य देहस्य पुनरागमनं कुत: ।” त्यसो हो भने देहावसानसँगै चेतनाको पनि अन्त्य हुन्छ ? के चितासँगै चिन्तन पनि डढ्छ ? होइन जस्तो लाग्छ ।
उहाँका विचारहरू मर्दैनन्, मर्नु हुँदैन, मर्न दिन हुन्न । ती छरपस्ट छन् तर अत्यन्त मूल्यवान् छन् । हाम्रा लागि मात्र होइन, सम्पूर्ण मानव सभ्यताका लागि तिनको महत्त्व छ ।
उहाँले लेखेका, बोलेका कुराहरू सङ्कलित, सङ्गृहीत गरियो भने त्यो भावी पुस्ताका लागि मार्गदर्शन बन्नेछ । तर, यो गर्छ कसले ? संस्थागत रूपमा नगरी यो महती कार्य सम्भव छैन । र, संस्थाको कुरा गर्दा सबैको दृष्टि नेपाली कांग्रेसतर्फ जान्छ । प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपाली कांग्रेसका संस्थापक, महामानव, जननायक भनेर नामजप गरिने विपीप्रति त उदासीन कांग्रेसी नेताहरूले प्रदीप गिरिका विचारको कति सम्मान गर्लान्, खोई !
प्रदीप गिरिका अनगिन्ति श्रावकमध्ये एक म पनि हुँ । मैले जे-जति उहाँलाई जानेको-बुझेको छु, त्यसका आधारमा आफ्नो दायित्व निर्वाह गर्ने प्रयास गर्नेछु । मभन्दा धेरै उहाँलाई चिनेका, जानेका, बुझेकाहरू हुनुहुन्छ, प्रायः सबै समर्थ हुनुहुन्छ । उहाँहरूले प्रदीप गिरिको छवि र विचारलाई धूमिल हुन दिनुहुने छैन भन्ने विश्वास छ । अस्तु ।
प्रतिक्रिया