दुई साता अघि पारिवारिक भ्याकेसनका लागि नजिकै ओक्लोहामा राज्यको दक्षिण पूर्बमा पर्ने एउटा ताललाई हामीले रोज्यौँ । ब्रोकन बो ताल थियो त्यो । टेक्ससको प्रचण्ड गर्मीलाई छल्दै तालमा डुंगा शयरका लागि हामी त्यहाँ पुगेका थियौ । हुनतः ड्यालसको सेरोफेरोमै दर्जनौ ताल नभएका होइनन् । तर ब्रोकन बो तालनै हामीले रोज्नुको तीनवटा कारण थिए ।
पहिलो, केही घण्टाको दूरी होस् भन्ने हाम्रो चाहना थियो । दोस्रो चाहि अघिपछि भन्दा फरक तरिकाले तीन दिनसम्म जंगलभित्रकै कुनै कटेजमा बसौ भन्ने इच्छा । अन्तिम अर्थात तेस्रो चाहि तालको पानी सफा होस् भन्ने पनि थियो ।
ड्यालसबाट झण्डै तीनघण्टाको यात्रामा ब्रोकन बो ताल पुगिन्छ । ब्रोकन बो को सेरोफेरोमा पुग्दा हामी आश्चर्यमा पर्यौं । किनभने सारा सिटीको अर्थतन्त्र एउटा तालले यति चलायमान अर्थात भाइब्रेट बनाएको रहेछ कि त्यसको ठूलै लेखाजोखा गर्नुपर्ने अवस्था आयो ।
ब्रोकन बो सिटीको प्रवेश गरेपछि झण्डै २० माइलसम्मै भीड थियो । होटल, मोटलहरु टनाटन थिए । जंगलभित्र अदृश्य रुपमा सयौं कटेजहरु थिए । पुरै सुविधासम्पन्न घरको रुपमा रहेका ती कटेजहरुमा तीनदेखि ४/५ बेडरुमहरु थिए । ती सबै पुरै खचाखच थिए । जंगलभित्र रहेका ती कटेजहरु आधुनिक जिपिएसको नेभिगेसन सिस्टमबाट विल्कुल पर थिए ।
बुकिङ्ग गरेको कटेज हामीले धुँइपत्ताल लगाएर बल्लतल्ल खोज्यौ । एप्पल र गुगलको नेभिगेसनमा भर पर्ने हामीलाई दिइएको बाटोको निर्देशन अनुसार कटेज खोज्न हम्मेहम्मे पर्यो ।
‘भेटियो भेटियो । अलि अघि आउनुस्’ हाम्रो ग्रुपका सहायक व्यबस्थापक विशाल शर्माले फोन गरे । फेरि मोबाइल पनि कहाँ गतिलोसम्म लाग्नु ? छिनछिनमा टी मोबाइलको नेटवर्क गायब भइदिने । अमेरिकामा पनि मोबाइलको नेटवर्क नटिप्ने ठाउँ छन् भन्दा बाँकी दुनियाले शायद विश्वास गर्न गाह्रो पर्छ । तर ब्रोकन बो ताल छेउछाउमा स्थानमा मोबाइलको नेटवर्कले काम नगर्ने पीडा भोग्ने हामी पनि थपियौँ ।
‘हामी भोली बिहान ११ बजेभित्र यो कटेजबाट बोटिङ्गका लागि निस्कनुपर्छ । डुंगा पाउन गाह्रो छ जस्तो छ’ बिशालले फेरि हामीलाई सचेत गराए । खान र पिउनमा मस्त हाम्रो टीमलाई बेलाबेलामा बिशालले सचेत गराइरहन्थे ।
कतिपय देशलाई प्रकृतिले दिएको छ । कतिपय देश जनताको मेहनतले बनेको छ । अमेरिकामा धेरै संरचनाहरु मानिसले खडा गरेका छन् । ब्रोकन बो ताल पनि त्यस्तै मानव निर्मित एउटा भयंकर संरचना हो । २२ माइल लम्बाइको यो ताल सन् १९६८ मा निर्माण सुरु भएर दुई वर्षमा पुरा भएको हो । एउटा बाँध बनाएपछि त्यसबाट थुनिएको खोलाले जे जति सतह ढाकेको छ, त्यो तालका रुपमा आज चिनिएको छ । यही बाँधबाट एकसय मेगावाट बिजुली निकालिएको छ ।
बाँध बाँधिएपछि बनेको तालका कारण हजारौंलाई रोजगारी सिर्जना भएको छ । होटल, कटेज खुलेका छन् । तालमा चल्ने डुङ्गाले सयौंलाई काम दिएको छ । शनिबार र आइतबार त डुंगा चढ्नका लागि पालो नआउने संभावना त्यत्तिकै छ । ताल किनारमा मिलिनियरका लागि गल्फकोर्स खुलेको छ ।
ब्रोकन बो तालमा डुङ्गामा यात्रा गर्दै गर्दा मैले एक दशकदेखि चर्चाको शिखरमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई सम्झिए । झण्डै १२ वर्ष अघि काठमाडौंबाट तामझामका साथ तत्कालिन ऊर्जा मन्त्री गोकर्ण विष्ट, मन्त्रालयका सचिव, सहसचिवहरु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहरु सहितको टोली बुढीगण्डकीको प्रस्तावित बाँधस्थलसम्म पुगेका थियो । संयोगवशः त्यतिखेर समाचार संकलनका लागि म पनि सँगै थिए । धादिङको बेनीघाट पारि ध्याल्चोकमा सानो कार्यक्रम पनि भएको थियो । आयोजना भोलीनै सुरु भैहाल्छ कि जस्तो भएको थियो । आयोजना निर्माणको क्रममा बेनीघाटदेखि सल्यानटारसम्म नदीको पानी भरिएर बन्ने तालले अर्थतन्त्रमा ठूलो योगदान पुग्ने हिसाब निकालिएको थियो ।
तर यसबीचमा आयोजनाको काम द्रुतगतिमा बढेको खबर छैन । मुआव्जा वितरणको काम समेत अहिलेसम्म पुरा भएको छैन । एकहजार दुईसय मेगावाटको यो आयोजना पुरा हुने हो भने त्यसले विद्युतमा आत्मनिर्भर मात्र नभएर सबैभन्दा बढी प्रभाव पर्यटनमा पर्ने निश्चित छ । किनकी त्यस क्षेत्रमा होटल, लज, मनोरञ्जनात्मक उद्योगहरु, कृषि लगायतका क्षेत्रहरु फस्टाउने छन् । ब्रोकन बो तालले जसरी आन्तरिक पर्यटक तानेको छ, विजुली उत्पादन गरेर आम्दानी गरेको छ त्यसैगरि बुढीगण्डकीले अझै ठूलो तहमा गर्नसक्ने संभावना छ ।
ब्रोकन बो तालको डुङ्गा शयरमा हाम्रो टीमका सबैभन्दा परिपक्व शैलेसराज आचार्य दाइदेखि लिएर सबैभन्दा सानो उमेरकी सुप्रिया दाहाल (सुपुत्री–बाबुराम दाहाल तथा गोपिनी दाहाल) समेत त्यत्तिकै रमाउने वातावरण बन्यो । झण्डै तीनघण्टासम्म बोटिङमा रहँदा मेरो दिमागमा भने उही बुढीगण्डकीकै याद आइरह्यो । मान्छेले चाह्यो भने गर्न नसक्ने धेरै क्षेत्रहरु छन् । यति समथर भागमा चारहजार फिटको बाँध बनाएको भरमा सारा मानिसलाई तान्न सकेको छ । एकसय मेगावाट बिजुली निस्किएको छ । बस्ती पुनस्र्थापनामा पनि कुनै समस्या आएन । पर्यावरणका कुरा पनि उठेनन् । बरु जंगल जोगिएको छ ।
ब्रोकन बो घुमिरहँदा मेरो स्मृतिमा भने जलाशययुक्त बुढीगण्डकी र पश्चिमसेतीका कुराहरु खेलि नै रहे । जो वर्षौदेखि नेपालीका लागि ललीपप मात्र बनिरहेको छ ।
प्रतिक्रिया