विचार / ब्लग

बन्दुक हिंसा, अमेरिकी नियति कि रोजाई

प्रकाशित |
अमेरिकाको दक्षिणी राज्य टेक्ससमा रहेको युभाल्डेमा रहेको रब इलिमेण्ट्री स्कूलको बालबालिकाहरुको चित्कार अझै अमेरिका भर गुन्जिरहेको छ। त्यो दर्दनाक र ह्रदय विदारक नरसंहार पीडाजनक मात्र भएको छैन, त्यसले मानव सभ्यतालाई नै गिज्याइरहेको छ। एक सन्काह हत्याराको बन्दुकबाट निस्केका गोलीहरुले १९ जना कलिला बालबालिकाहरु र दुईजना शिक्षकको ज्यान लिए पछि अहिले अमेरिका भर बन्दुक हिंसा र त्यसले सामाजिक सुरक्षामा ल्याएको चुनौतीका बारेमा थप बहसहरु भइरहेका छन्। 
 
अमेरिकी संविधान जारी भएको तीन वर्ष पछि १७९१ मा ‘विल अफ राइट्स’ भनेर चिनिने दश वटा आर्टिकलहरु संशोधन वा थप भएका थिए। अमेरिकी संविधानमा भएको पहिलो दश संशोधन मध्येको दोश्रो संशोधन र बोलीचालीको भाषामा ‘सेकेण्ड एमेण्डमेण्ट’ भनिने संशोधनले दिएको जनताले हतियार राख्न पाउने अधिकारको दुरुपयोगले अमेरिकामा बन्दुक हिंसा बढिरहेको सहज अनुमान गर्न सकिन्छ।
 
युभाल्डेको नरसंहारको दोश्रो दिन नै टेक्ससको ह्युस्टन सहरमा बन्दुक अधिकारका लागि प्राय शक्तिशाली रिपव्लिकनहरुको चुनाव क्याम्पेनमा समेत लाखौं डलर सहयोग गरिरहेको संस्था नेशनल राइफल एशोसियसन (एनआरए) ले तिन दिने बार्षिक बैठक शुरु गऱ्यो। बन्दुक हिंसा जति बढेपनि बन्दुक अधिकारको पक्षपाती पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र टेक्ससका सिनेटर टेड क्रुजले एनआरए बैठकलाई संवोधन गरे। खराब मानिसहरुको हातमा भएको बन्दुकले निम्त्याउने हिंसाबाट बचाउन असल मानिसहरुको हातमा बन्दुक हुनुपर्छ भन्दै अझ बढी हतियार राख्न मान्छेहरुलाई उकासेका ट्रम्प र क्रुजले घातक किसिमका बन्दुक सहज किन्न पाएकाले बन्दुक हिंसा बढेको तथ्य स्वीकारेनन्।
 
डेमोक्रेटिक पार्टीबाट टेक्ससको गभर्नर उम्मेदवार बेटो लगायतका हजारौं बन्दुक हिंसाका बिरोधीहरुले एनआरएको बैठकस्थल जर्ज ब्राउन कन्भेन्सन सेन्टर बाहिर शसक्त प्रदर्शन गरेपनि हतियारका व्यापारीहरुको दबदबा भएको राइफल एशोसियसनले भर्खरैको ताजा नरसंहारलाई समेत राक्षसी प्रवृत्तिको कारण भएको हिंसा भनेर टार्ने प्रयास गरेको छ।
 
तथ्याङ्कमा बन्दुक हिंसा
३३ करोड जनसंख्या भएको मुलुकमा ४० करोड बन्दुक छ र त्यसमध्ये ९८ प्रतिशत अर्थात करिब ३९ करोड ३० लाख बन्दुक व्यक्तिहरुसंग छ। यसरी हेर्दा प्रति १०० जना अमेरिकीहरुसंग १२० वटा बन्दुक भएको तथ्याङ्क छ। विभिन्न विषयमा अध्ययन अनुसन्धान गरेर सरकार र नेताहरुलाई निर्णय कार्यमा सघाउ पुऱ्याउँदै आएको संस्था गेलपका अनुसार करिब ४४ प्रतिशत अमेरिकी घरमा बन्दुक छ। एफबिआईका अनुसार अमेरिकामा सन् २००० मा मात्र करिब ४ करोड बन्दुक कानूनी तबरबाट किनिएको तथ्याङ्क छ। यो संख्या २०१९ को भन्दा करिब एक करोड २० लाख बढी हो।
 
२०२२ को अहिले पाँचौं महिना सकिन लाग्दा नै अमेरिकामा २१४ वटा बन्दुक हिंसाका घटना भइसकेका छन्। एक १८ बर्षीय बनदुकधारीले मे १४ मा न्युयोर्कको बफेलोमा १० जना मारेको ठ्याक्कै १० दिन पछि अर्को १८ वर्षीय बन्दुकधारीले इलिमेण्ट्री स्कूलमा २१ जनालाई मारेको थियो क्यालिफोर्नियाको स्याक्रमेण्टोमा ६ जनाको ज्यान जाने घटना पनि यसै वर्षको अप्रिल ३ मा भएको थियो।
 
अमेरिकामा बन्दुक हिंसाको श्रृंखला


आधुनिक अमेरिकी इतिहासमा बन्दुक प्रयोगबाट धेरै नरसंहारका घटना भएको छ। युभाल्डे नरसंहार पछि अमेरिकामा मात्र होइन संसार भर नै बन्दुको हिंसाको बारेमा बहसहरु भइरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडन आफै नरसंहारमा मारिएका बालाबालिका र शिक्षक प्रति श्रद्धाञ्जली व्यक्त गर्न र घटनाबाट प्रभावित परिवारका सदस्य र स्कूल प्रशासनसंग भेटघाट गर्न युभाल्डे पुगे।
 
सन् २०१२ मा कनेक्टिकटको स्याण्डी हुड इलिमेण्ट्री स्कूलमा २० जना बालबालिका सहित २६ जनाको ज्यान लिने एडम लेन्जा हुन् कि युभाल्डेको स्कूलमा नरसंहार गर्ने साल्भाडोर रामोस हुन् ति सबैले घातक र सेमी अटोमेटिक गन सहज ढङ्गले पाएकाले त्यति ठूलो हिंसा मच्चाउन सकेका हुन्।
 
पछिल्लो पटक युभाल्डेमा भएको सहित टेक्ससमा सन् १९९१ यता मात्र दर्जनौं आम हत्याका घटना भएका छन् । जस मध्ये २०१९ मा एलपासोको वालमार्टमा २३ जना, २०१८ मा स्यान्टा फे हाईस्कूलमा १० जना र २०१७ मा सुदरल्याण्ड स्प्रिंगस्थित टेक्सस फर्स्ट व्याप्टिष्ट चर्चमा २६ जनाको ज्यान गएको घटना प्रमुख छन्।
 
अमेरिकी इतिहासमा स्कूल र कलेजमा भएका थुप्रै घटनाहरु छन्। छ दशक पहिले युनिभर्सिटी अफ टेक्सस,अस्टिनमा १६ जना मारिएको घटना संगै २००७ मा भर्जिनिया टेक युनिभर्सिटीमा ३२ जनाको नरसंहार र २०१८ मा पार्कल्याण्ड फ्लोरिडाको हाईस्कूलमा १७ जना मारिएको घटनाले बन्दुक हिंसाको भयानक अवस्था देखाउँछ।
 
गएको १५ वर्षमा भएका २६ प्रमुख नरसंहारका घटनामा ४४० जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्। २०१६ मा अर्ल्याण्डो फ्लोरिडाको नाइट क्लबमा ४९ जना र लस भेगासमा २०१७ मा एक साङ्गीतिक कार्यक्रममा भएको घटनामा ५८ जना मारिए भने ८१७ जना घाइते भएका थिए। अर्ल्याण्डो र लस भेगस नरसंहार आधुनिक अमेरिकी इतिहास कै सबभन्दा ठूलो र दर्दनाक बन्दुक हिंसाको घटना हो।
 
आत्म रक्षाका नाममा एकजनालाई कति बन्दुक चाहिन्छ भन्ने बहसअचेल धेरै हुन थालेको छ। बन्दुक भएका अमेरिकनहरु मध्ये अधिकांशसंग ५ वटा बन्दुक भएको नेशनल फायरआर्म्स सर्भेको नतिजाले भन्छ। सो सर्भेका अनुसार बन्दुक भएका अमेरिकीहरु मध्ये २२ प्रतिशतसंग मात्र एउटा बन्दुक भएको तथ्य पत्ता लागेको छ। सोही सर्वेक्षणलबा एक तिहाइ अमेरिकनसंग बन्दुक भएको र करिब ३६ प्रतिशतले भविष्यमा बन्दुक किन्ने चाहना राखेको पाइएको थियो। अहिले नै अति धेरै बन्दुक राखेका एक तिहाइ अमेरिकीहरुसंग भएको बन्दुक संसार भर नागरिकको हातमा भएको बन्दुकको एक तिहाई हिस्सा हो। यसरी हेर्दा गएको २० वर्षमा तीन गुणाले आफ्नो उत्पादन बढाएको अमेरिकी बन्दुक निर्माताहरुको प्रभाव बन्दुकको पहुँच बिस्तारमा कति छ सहजै अनुमान गर्न सकिन्छ।
 
के बन्दुक हिंसा अमेरिकाको मात्र समस्या हो?
बन्दुक हिंसा अमेरिकाको मात्र समस्या होइन। आर्थिक र सामरिक रुपमा संसारलाई नै अगुवाई गर्ने अमेरिकामा बन्दुकजन्य हिंसाको निरन्तर बढोत्तरी भइरहेकोले मात्र सबैको चासो बढेको हो।
 
इन्ष्टिच्यूट अफ हेल्थ मेट्रिक्स इभ्यालुएसनका अनुसार विकसित देशहरुमा हुने बन्दुक हिंसाको मुख्य अंश अमेरिकाको भागमा परेको देखिन्छ। प्रति एक लाख जनसंख्यामा बन्दुक हिंसाका कारण मर्नेहरु अमेरिकामा ४ जना छ भने संगैको क्यानडामा त्यो संख्या अमेरिकामा भन्दा निकै कम अर्थात प्रति दुई लाखमा एक जना मात्र छ। अमेरिकामा बन्दुक हिंसाबाट मारिने संख्या फ्रान्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, जापान लगायतका विकसित मुलुकमा भन्दा १२ देखि २०० गुणा सम्म बढी छ।
 
कम विकसित देशमा चाहिं के छ त बन्दुक हिंसाको स्थिति?
विकसित देशहररुको तुलना गर्दा अमेरिका धेरै बन्दुक हिंसा हुने देश हो। तर कम विकसित देशहरु र खास गरी दक्षिण अमेरिकी देशहरुको अवस्था अमेरिकाको भन्दा धेरै खराब रहेको छ। एल साल्भाडर संसार मै सबभन्दा बढी बन्दुक हिंसा हुने देशमा गनिएको छ। त्यहाँ प्रति एक लाखमा ३७ जना बन्दुकको गोलीले मारिने गरेको तथ्याङ्क छ। यो संख्या अमेरिकाको भन्दा आठ गुणा बढी हो। यसैगरी ग्वाटेमाला, कोलम्बिया, ब्राजिल र होण्डुरसमा हुने बन्दुक हिंसाको दर अमेरिकामा भन्दा कैयन गुणा बढी छ। दक्षिणी छिमेकी मेक्सिकोमा अमेरिकामा भन्दा चार गुणा बढी बन्दुक हिंसाका घटना हुने गरेको तथ्याङ्क छ।
 
 
अमेरिकामा बर्सेनी हुने बन्दुक हिंसाले मर्नेहरुको संख्या ४० हजार भन्दा धेरै हुने गरेको छ। सन् २००० मा मात्र ४५ हजार २२२ जनाको बन्दुक प्रयोगबाट ज्यान गएको तथ्याङ्क सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले सार्वजनिक गरेको छ। जसमध्ये आधा भन्दा धेरै (२४, २९२) जनाले आत्महत्याका लागि बन्दुक प्रयोग गरेका थिए भने ४३ प्रतिशत (१९,३८४) मृ्त्यु बन्दुकधारीहरुले हानेको गोलीबाट भएको थियो। सुरक्षाकर्मीको गोली (६११) र असावधानीवस चलाइने गोलीबाट (९३५) मर्नेहरुको संख्या पनि अमेरिकामा बर्षेनी बढ्दो नै छ। अभिभाकको लापर्बाहीले साना बालबालिकाहरुलाई बन्दुक सहज पहुँच भएर पनि कैयन घटना भएका छन्।
 
संविधानले दिएको अधिकार भनेर अमेरिकीहरुले बन्दुक प्रतिको मोह जसरी बढाइरहेकाछन्, त्यसले आमरुपमा बन्दुक हिंसालाई प्रोत्साहित गरेको छ भने विश्वस्तरमा संसारकै पुरानो र शक्तिशाली लोकतन्त्र भएको देश अमेरिकालाई अधिकारको नाममा आमहत्या र नरसंहार हुने अग्रणी मुलुकका रुपमा समेत चिनाइरहेको छ।

 
बाराक ओबामा राष्ट्रपति हुँदा देखि नै घातक किसिमका बन्दुक नियन्त्रण गर्ने प्रयास डेमोक्रेटहरुले गर्दै आइरहेका भएपनि कानूनी व्यवस्थाबाट बन्दुक नियन्त्रण गर्ने उनीहरुको प्रयासलाई रिपव्लिकनहरुले संधै अवरोध पुऱ्याइरहेका छन्। युभाल्डे नरसंहार लगत्तै पनि राष्ट्रपति बाइडन र डेमोक्रेटहरुले बन्दुक नियन्त्रणको लागि गरेको प्रयास सिनेटमा रिपव्लिकनहरुले सफल हुन दिएका छैनन्।
 
करिब ५० लाख सदस्य भएको एनआरएले असल मान्छेको हातमा बन्दुक हुनु नागरिक र देशको सुरक्षाका लागि जरुरी छ भनिरहे पनि बन्दुक अधिकार हतियार व्यापारीको पक्षमा उठाइएको एजेण्डा हो र यसमा अमेरिकी राजनीति समेत नराम्ररी गाँजिएको छ।
 
रिपव्लिकनहरुको निरन्तरको बन्दुक मोहले तत्कालै अमेरिकामा बन्दुक हिंसाको दर घटिहाल्ने अनुमान गर्न सकिन्न। जुन देशमा चुरोट र रक्सी किन्न भन्दा बन्दुक कम उमेरमा किन्न पाइन्छ र जहाँका राष्ट्रपति भइसकेका व्यक्ति स्कूलमा हुने बन्दुक हिंसा रोक्न शिक्षकहरुलाई बन्दुक राख्न दिनुपर्ने तर्क गर्छन् त्यो देशमा बन्दुक हिंसा कम हुने होइन बढ्ने मात्र हो। नियतिले ह्रदय विदारक घटनाहरुको साक्षी बन्नु परेपनि यथार्थमा अमेरिकी सर्वसाधरण जनताले बन्दुक हिंसा चाहेका छैनन् र यो उनीहरुको रोजाई हुन सक्दैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया